काठमाडौं– सुनसान बानेश्वर चोकमा आइतबार बिहानै एम्बुलेन्सको साइरन सुनिन्छ। कोभिड संक्रमणमा परेका बिरामीका लागि महानगरको सहयोगमा सञ्चालित ‘नेपाल एम्बुलेन्स सेवा १०२’ अन्तर्गतको २५६० नम्बरको एम्बुलेन्स शंखमुलतिर मोडिन्छ। सडक पेटीबाट कोरोना संक्रमित बिरामीका आफन्तले हात दिइरहेको देखिन्छ। एम्बुलेन्स रोकेर ३१ वर्षीय डबल तामाङ निस्किन्छन्। एम्बुलेन्सको ढोका खोल्छन्। एम्बुलेन्सको पछाडिको ढोका खोलेर बिरामीलाई अक्सिजन मास्क जोड्छन्।
केही छिनअघिसम्म सास फुस्केलाझैं ब्याकुल कोरोना संक्रमितले ठूलो राहत महसुस गर्छन्। अक्सिजन पाउँदा उनलाई लागेको हुँदो हो मेरो सास फर्कियो। बिरामीको अवस्था गम्भीर थियो। बिरामी बोकेर तामाङ एक सुरमा एम्बुलेन्स हुइँक्याउँछन्।
पीपीई, मास्क, बुट, हेड कभर, फेसिल, ग्लब्स लगाएर तामाङले कोरोना संक्रमित बोक्न थालेको एक वर्ष भयो। अघिल्लो लकडाउन अर्थात् २०७६ चैतबाट उनले कोरोना संक्रमितलाई बोक्न थालेका हुन्। नेपालमा दोस्रो लहर फैलिएसँगै तामाङले दिनहुँ १५–२० जना संक्रमित अस्पताल पुर्याइरहेका हुन्छन्।
उनले एक वर्षमा करिब तीन हजार बिरामी बोकिसकेको बताए। तीन हजार संक्रमितलाई अस्पताल पुर्याउनु पक्कै सजिलो काम होइन। ज्यान जोखिममा राखेर तामाङ संक्रमितलाई बोकिरहेका हुन्छन्। उनलाई ज्यानको माया नभएको होइन। तर, बिरामीको छटपटीसामु उनी बलियो आत्मविश्वासका साथ सेवा गरिरहेका छन्।
बिरामी बोक्दा उनले एक वर्षमा १५ पटक पीसीआर परीक्षण गरे। सबै रिपोर्ट नेगेटिभ आए। आफूले अपनाएको उच्च स्वास्थ्य सावधानीले संक्रमण हुनबाट जोगिएको उनको ठम्याइ छ।
पहिलो संक्रमणमा उनलाई निकै डर लागेको थियो। बिरामी बोक्दा–बोक्दा उनलाई बानी परिसक्यो। सुरक्षा मापदण्डबारे समेत उनी जानकार भइसके। उच्च सावधानी अपनाए कोरोना जोखिमबाट बच्न सकिन्छ भन्ने उनलाई थाहा छ। त्यसैले उनी उच्च सुरक्षा सावधानी अपनाएर बिरामी बोकिरहेका हुन्छन्।
बिरामी बोक्दा उनले एक वर्षमा १५ पटक पीसीआर परीक्षण गरे। सबै रिपोर्ट नेगेटिभ आए। आफूले अपनाएको उच्च स्वास्थ्य सावधानीले संक्रमण हुनबाट जोगिएको उनको ठम्याइ छ।
‘भगवान्को कृपाले अहिलेसम्म रिपोर्ट नेगेटिभ आएको छ। त्यसैले काममा सक्रिय छु,’ उनी भन्छन्। देशमा दैनिक संक्रमणदर उकालो लाग्दो छ। यस्तो जटिल परिस्थितिमा संक्रमितलाई अस्पताल पुर्याउन १०२ का एम्बुलेन्स चालक तिरन्तर सक्रिय छन्। साँच्चै बिरामीका लागि एम्बुलेन्स चालक यतिखेर भगवान् भइदिएका छन्। एम्बुलेन्समा बिरामीको अवस्था हेरेर अक्सिजन लगाउनुका साथै आश्वासन दिने काम पनि गरिरहेका हुन्छन्।
पीपीईभित्रको एउटा आवाजले अस्पताल पुग्दासम्म संक्रमित जीवन्त राख्न कोसिस गरिरहेको हुन्छ। तर, अस्पताल पुगेपछि दृश्य झनै कारुणिक बन्छ। अस्पताल अस्पताल जस्ता लाग्दैनन्। बाहिरबाटै बिरामीको चाङ हुन्छ। बेड अभाव हुन्छ। कतिपय ठाउँमा त बेड अभावले अस्पताल चहार्दै भौंतारिनुपर्ने हुन्छ।
कोरोना संक्रमितलाई बोकेर अस्पताल–अस्पताल चहार्दा उनले धेरै दुःख पाएका छन्। उनीसँग दुई घण्टासम्म एम्बुलेन्समै बिरामी राखेर अस्पताल बाहिर बस्नुपरेको तितो अनुभव पनि छ। तामाङ भन्छन्, ‘बेड खाली हुन कि डिस्चार्ज पर्खिनुपर्छ, कि कसैको मृत्यु नै। काठमाडौंमा संक्रमणको डर लाग्दो रूप छ।’
अस्पताल पुगेर एम्बुलेन्सबाट बिरामी झार्न नपाउँदै उनलाई अफिसबाट अर्को बिरामी लिन फोन आइहाल्छ। बेड नपाएर एम्बुलेन्समा छटपटाइरहेका बिरामी र मोबाइलमा म्यासेज आएको बिरामी उनलाई दुवैको चिन्ता लाग्छ।
उनी भन्छन्, ‘बोकिरहेको बिरामीले चाँडो बेड पाएर अर्को बिरामीलाई छिटो अस्पताल पुर्याउन र बचाउन सकियोस् लाग्छ।’
पीपीईभित्रको एउटा आवाजले अस्पताल पुग्दासम्म संक्रमित जीवन्त राख्न कोसिस गरिरहेको हुन्छ। तर, अस्पताल पुगेपछि दृश्य झनै कारुणिक बन्छ। अस्पताल अस्पताल जस्ता लाग्दैनन्।
उनी बिरामीलाई एम्बुलेन्समा राखेर आफन्तसँग कुन अस्पताल लाने भनेर साध्छन्। बिरामीले भनेअनुसार एम्बुलेन्सको साइरन बजाउँदै कहिले टिचिङ, कहिले पाटन, कहिले टेकु त कहिले अन्यत्र पनि कुदिरहेका हुन्छन्।
जता लगे पनि अस्पतालको अवस्था उस्तै। कहिलेकाहीं त उनी यो अस्पतालमा चाँडो बेड पाउन सकिन्छ भन्दै बिरामीलाई आग्रह गरे सहज ठानिएको ठाउँमा पनि लगिदिन्छन्। बिरामीले आफूमाथि विश्वास गर्दा भने उनलाई खुसी लाग्छ। त्यसले तामाङलाई ऊर्जासमेत मिल्छ। ‘बिरामीले छिटो उपचार पाओस्, छिटो बेड मिलोस् भन्ने लाग्छ। म पनि जानेसम्मको सहयोग गर्छु,’ उनी भन्छन्।
दैनिक १५ जना बिरामी अस्पताल पुर्याउने तामाङलाई कसैले चिन्दैन्। चिनून् पनि कसरी? उनी पीपीईभित्रै हुन्छन्। शरीर पसिनाले निथु्रक्क हुँदा पनि उनी मास्क खोल्न सक्दैनन्। पीपीई, माक्स, बुट, हेड कभर, ग्लब्स, खोल्न मन हुँदाहुँदै पनि उनी दिनभर लगाउन विवश बनिदिन्छन्। पीपीईभित्र बाफिएको उनको शरीर चिसो हावा प्राप्तिका लागि दिनभर तड्पिरहेको हुन्छ।
तामाङको परिचय नै एम्बुलेन्स बनेको छ। बिरामीलाई बोक्दै गर्दा उनी बाँचिदिऊन् भनेर भगवान् पुकारिरहेका हुन्छन्। शुक्रबार तामाङ र उनका मित्र आत्माराम फुयाँलले भेन्टिलेटरमा राखेर भक्तपुरका एक कोरोना संक्रमित बिरामी अस्पताल पुर्याए। दोस्रो दिन ती बिरामी बितेछन्।
अस्पतालका चिनेका मानिसले अस्ति तिमीले बोकेर ल्याएका गम्भीर बिरामीको त मृत्यु भयो भन्दा उनको मन साह्रै्र दुखेको थियो। पछिल्ला केही दिनयता भने अस्पतालमा बेडका लागि बिरामीले कुर्नु नपरेको उनी बताउँछन्। संक्रमित बिरामीको मृत्युदर बढ्दा बेड पाउन सहज भएको हुन सक्ने उनको बुझाइ छ।
...
उदयपुर गाईघाटमा रहेको परिवारको चिन्ता पनि निकै लाग्छ उनलाई। यहाँ एम्बुलेन्स नपाएर छट्पटिएका बिरामी देखेर गाउँमा एम्बुलेन्स वा अक्सिजन नपाएर आफन्तमाथि बज्रपात पर्ने हो कि भन्ने पिरलो छ उनलाई। ‘घर जान मन लागेको छ। परिवारको चिन्ता लागेको छ। तर, जिम्मेवारीले घर जान दिँदैन। फोनबाटै परिवारका सदस्यलाई सावधान गराइरहेको हुन्छ’, तामाङले भने।
उनकै सहकर्मी हुन् ४५ वर्षीय राम फुयाँल। चाँगुनारायण नगरपालिका–७ बस्ने फुयाँल पनि महानगरपालिकाको १०२ अन्तरगतकै एम्बुलेन्समा संक्रमित बिरामी बोक्दै आएका छन्। दैनिक ३० हाराहारीमा संक्रमितलाई अस्पताल पुर्याउँदापर्याउँदै फुयाँल पनि संक्रमित भए। ‘सुरुमा आँखा पोलेर रातो भएको थियो। पछि शरीर गल्दै गयो,’ उनले भने।
वैशाख २८ गते आमाको मुख हेर्ने दिन घर जाने योजना बनाएर फुयाँलले २६ गते पीसीआर परीक्षण गरेका थिए। तर, २७ गते रिपोर्ट पोजेटिभ आयो। घर जाने उनको सपना भतांभुंग भयो। घरमा संक्रमण पुष्टि भयो भन्न उनलाई निकै सकस भयो। बलियो मन पार्दै उनले पत्नीलाई कोरोना पुष्टि भएको बताए। पत्नी आत्तिएर काठमाडौं आउन खोजिन्। बल्लतल्ल फुयाँलले सम्झाए।
औंसीको दिन आमासँग आशीर्वाद लिन झोला कसेका फुयाँल कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसनमा उपचारका लागि पुगे। अहिले उनी त्यहीं उपचाररत छन्। पहिलेको तुलनामा स्वास्थ्यमा धेरै सुधार भएको उनले बताए। उनलाई अहिले पनि बिरामीका दिनहुँ दर्जनौं फोन आइरहेका हुन्छन्। उनले आफू संक्रमित भएको भन्दै १०२ मा कल गर्न सुझाउने गरेका छन्।
‘५ गते पीसीआर परीक्षण गर्नेछु। नेगेटिभ देखिए पहिला घर जानेछु। सबैले मेरै चिन्ता गरिरहेका छन्,’ उनले भने।