काठमाडौं– आइतबार साँझ करिब ८ बजे। १५ दिनदेखि भरिएको टेकु अस्पताल पुग्दा अस्पतालको प्रांगणमा राखिएका बेड खाली थिए।
अस्पताल केही शान्त थियो। चिकित्सक अनुप बास्तोला आँगनमा भएका बेडलाई पिँढीमा राख्न कर्मचारीलाई आग्रह गर्दैै थिए। आइसियू, भेन्टलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीलाई आँगनमा राख्नुपर्दाको पीडाबाट केही मुक्त भएका चिकित्सकलाई पनि अन्य दिनभन्दा केही राहत मिलेको थियो।
प्रांगणमा कोरोना संक्रमितका आफन्तमात्रै थिए। उनीहरु एकअर्कासँग आ–आफ्ना बिरामीका दुःख साटासाट गरिरहेका थिए। प्रांगणकै एकछेउबाट सबै दृष्यलाई नियालिरहेकी थिइन् उर्मिला। उनी संक्रमितकी आफन्त हुन्।
अस्पतालको आँगनमा भएका संक्रमितका आफन्तको कुरा सुन्दै एकोहोरो बनेकी उर्मिलाले नजिकै मलाई देखेपछि सामान्य बनिन्। उनैले सोधिन्, तपाईंको को बिरामी हुनुहुन्छ? कति दिन भयो यहाँ ल्याउनुभएको? मैले उत्तर दिन नपाउँदै उनी आफैं बोलिन, ‘मैले त ४–५ वटा अस्पतालमा चाहार्दा चाहार्दै यहाँ आइपुगेको।’
टेकु अस्पतालका चिकित्कसका अनुसार रामप्रसादलाई अस्पताल ल्याउँदा प्रतिमिनेट १५ लिटर अक्सिजन चढाउनुपर्ने अवस्था थियो।
मैले सोधें, ‘४–५ वटा अस्पताल कहिले चाहार्नुभयो? आजै कि?’ आज होइन, एक महिना हुन लाग्यो अब त। यो अस्पताल आएको चैं आज ५ दिन भयो,’ उनले भनिन्। टेकु अस्पताल आएपछि बिरामीलाई निको हुँदै गएकोमा उनी खुसी देखिन्थिन्।
उर्मिलाका आफन्त (भिनाजु) इमर्जेन्सीको बेड नं. ८ मा कोरोना संक्रमण भाइरससँग जुधिरहेका थिए। उर्मिलाले भिनाजुको उपचारका लागि २० दिनदेखि विभिन्न अस्पताल चाहरिरहेकी थिइन्। २० दिनको अवधिमा ४ वटा अस्तपाल। टेकु अस्पताल पाँचौं थियो। जहाँ अहिले संक्रमित तथा आफन्त दुवैले राहतको सास फेर्न पाएका छन्।
बोल्दाबोल्दै उर्मिलाको फोन आयो, अरु कुरा गर्न नपाउँदै उनी मबाट टाढिइन्। उनीसँग अर्को कुनै सम्पर्कको माध्यम थिएन। धेरैबेर उनलाई कुरें, धेरैबेर खोजें पनि तर भेटिइनन्।
उर्मिलालाई भेटिन्छ कि भन्ने आशमा भोलिपल्ट फेरि टेकु अस्पताल पुगें। अस्पताल पुग्दा प्रांगण संक्रमितले भरिइसकेको थियो। अघिल्लो दिन केही राहतको सास फेरेका चिकित्सकलाई भोलिपल्ट उस्तै दौडधुप थियो। अस्पतालका एक चिकित्सकको सहयोगमा उर्मिलालाई भेटाउन सफल भएँ। उनी भिनाजुको स्याहार गर्दै थिइन्। मलाई देखेर उनले चिनिनन्, मैले चिनाएँ।
भिनाजुलाई देखाउँदै उनले भनिन्, ‘उहाँ नै हुनुहुन्छ मेरो भिनाजु। अहिले त ठिक छ। चिकित्सकसँगै उनलाई भेट्न गएकाले भिनाजुले मुस्कुराउँदै भने, मैले त चिनिन नि! मैले आफूलाई चिनाएँ। भिनाजु रामप्रसाद (नाम परिवर्तन)ले मिडियामा आफ्नो नाम प्रकाशन नगरिदिन आग्रह गर्दै भने, ‘४ वटा अस्पतालपछि यहाँ आइपुगेको छु। अब त बाँच्ने आशा जागेको छ।’
६ दिन अगाडि सिकिस्त अवस्थामा आएका रामप्रसादको अनुहार यतिबेला उज्यालिएको छ। चिकित्सकको माया, व्यवहार र उपचारबाट उनी सन्तुष्ट छन्।
ती अस्पतालका व्यक्तिसँग उनको केही व्यक्तिगत सम्बन्ध थियो सायद। उनले आफूलाई खुलाउन चाहेनन्। तर निजी अस्पतालसँग उनको गुनासो थियो। रामप्रसादले भने, ‘निजी अस्पतालमा तलब नदिएको गुनासो बिरामीसँग गर्छन्। कतिपय चिकित्सकले गर्ने व्यवहारले बिरामीलाई झनै शिथिल बनाउँदो रहेछ। ठूला र सुविधासम्पन्न भनिएका अस्पतालमा बिरामीको लागि माया होइन, आफ्नो लागि पैसा मात्रै हुँदो रहेछ।’
टेकु अस्पतालका चिकित्कसका अनुसार रामप्रसादलाई अस्पताल ल्याउँदा प्रतिमिनेट १५ लिटर अक्सिजन चढाउनुपर्ने अवस्था थियो। तर ६ दिनको बसाइमा अहिले जम्मा २ लिटर अक्सिजनको सपोर्टमा छन्। निजी अस्पतालले भेन्टिलेटरको आवश्यकता छ भनेका रामप्रसाद एक हप्ता नहुँदै वार्डबाटै सामान्य बन्दै गएका छन्।
उर्मिलाले सुनाइन्, ‘२० दिन अगाडि भिनाजुलाई सास फेर्न गाह्रो भयो। भिनाजुको साथीले मध्यपुर अस्पताल भक्तपुरमा लैजानुभयो। दुई दिन त्यहाँ बसेपछि अक्सिजनको अभाव भयो, बिरामीलाई अस्पतालले अक्सिजन छैन भनेपछि भक्तपुर अस्पताल लग्यौं। बिरामीलाई झनै गाह्रो हुँदै थियो। त्यहाँ बेड पनि पाउन सकिएन। एकदिन भँइँमा नै राख्यौं। शरीरमा अक्सिजनको लेवल ६५ मा पुगिसकेको थियो। त्यसपछि भक्तपुर इन्टरनेशनल अस्पतालमा बेड, अक्सिजन छ भन्ने जानकारी पाएपछि त्यहाँ लग्यौं। त्यहाँ अस्पतालमा हुनुपर्ने सुविधा कम होटलको सुविधा बढी थियो। त्यहाँ आइसियुमा राखियो। तर त्यहाँ पनि अक्सिजन सकियो भन्ने जानकारी आएपछि समिट अस्पताल लोकन्थली लग्यौं। समिट अस्पतालमा ५ दिनको बसाइपछि त्यहाँ पनि अक्सिजन सकिएको भन्दै बिरामीलाई लैजान भनियो।’ यसरी करिब १५ दिनमा ४ वटा अस्पताल घुमाएपछि बल्ल टेकु अस्पताल ल्याइएको रहेछ।
निजी अस्पतालले बिरामीलाई झनै हतोत्साहित बनाएको उनी बताउँछिन्। भन्छिन्, ‘निजी अस्पतालले बिरामीलाई कहिल्यै पनि पोजेटिभ कुरा भनेनन्, बिरामीलाई नै तपाईं मर्दै हुनुहुन्छ भन्दा कसरी मनोबल बढ्छ र? प्राइभेट अस्पताल त डेन्जर हुँदो रहेछ है। ओ माइ गड!
६ दिन अगाडि सिकिस्त अवस्थामा आएका रामप्रसादको अनुहार यतिबेला उज्यालिएको छ। चिकित्सकको माया, व्यवहार र उपचारबाट उनी सन्तुष्ट छन्। अब उनी केही दिनमा नै घर फर्कन सक्ने चिकित्सकले बताएका छन्। अन्य अस्पतालको बसाइ र व्यवहारले बिरामीको आत्मबल कमजोर बनिसकेको थियो, तर टेकु अस्पताल आएपछि चिकित्सकले गर्ने व्यवहार, उपचार र परामर्शका कारण उनको मनोबल पनि बढायो, जसले गर्दा संक्रमणमुक्त हुन सकेको उनी स्वीकार गर्छन्।
रामप्रसादको बेड नजिकै बसेका अर्का संक्रमितका आफन्तले पनि अस्पतालका चिकित्सकले गर्ने व्यवहार सम्मान गर्न लायक रहेको बताए। उनले भने, ‘आफ्नै परिवारले गर्ने माया चिकित्सकबाट पाएका छौं। निस्कने बेलामा उनले भने, ‘टेकुको बारेमा राम्रो समाचार लेखिदिनु है, हाम्रो त अन्तिम भरोसा हो टेकु अस्पताल।’