सोमबार, असार २९, २०८३

२७ वर्षअघिको संरचनामा फर्कियो प्रहरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रशासनतर्फ तीन मात्र अतिरिक्त महानिरीक्षक (एआईजी) राख्ने आइतबारको सरकारी निर्णयबाट नेपाल प्रहरी २७ वर्षअघिको संरचनामा फर्किएको छ । 

जेठ ०४३ मा हेमबहादुर सिंहलाई आईजीपी बनाउनुपर्ने भएपछि तत्कालीन सरकारले उनीभन्दा वरिष्ठ रत्नसमशेर राणालाई एआईजी बनायो । राणालाई पनि सिंहपछि आईजीपी बनाउने योजना थियो त्यो । भयो पनि त्यस्तै । 

त्यस अघिसम्म प्रधान कार्यालयमा एक जना मात्र डीआईजी रहन्थे । र, पाँच वटा विकास क्षेत्रमा पाँच डीआईजी हुन्थे ।

राणापछि मोतीलाल बोहरा आईजीपी बने । त्यतिबेला दुई प्रभावशाली डीआईजीहरू अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधान दुवैलाई एआईजी बनाउनुपर्ने दबाबमा सरकार पर्यो । 

त्यतिबेलासम्म प्रधान कार्यालयमा कार्य र अपराध अनुसन्धान विभाग मात्र थिए, जुन एआईजीले कमान्ड गर्थे । खरेल र प्रधानबीच एकअर्कालाई हटाउने र आफू आईजीपी बन्ने दौड शुरु गराए, तत्कालीन गृहमन्त्री वामदेव गौतमले । 

तत्कालीन एआईजी प्रधानले ३६ दिनमा खरेललाई पल्टाइदिए । त्यसको नौ महिनापछि खरेलले प्रधानलाई हटाइदिए र पुनर्वहाली भए । त्यसबीचमा चलेको भागबण्डाको भूमरीमा परेको नेपाल प्रहरीमा एआईजीको दरबन्दी र विभाग थपिने दौड पनि शुरु भयो । 

यसपटक प्रधान कार्यालयले चार जना एआईजीको प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । प्रशासन र मानवस्रोतलाई गाभेर एउटा विभाग तथा कार्य र अपराध अनुसन्धान विभागको नेतृत्व एआईजीले गर्ने प्रस्ताव प्रधान कार्यालयको थियो । र, अर्का एआईजीले राष्ट्रिय प्रहरी प्रतिष्ठानको कमान्ड गर्ने प्रस्ताव थियो । 

सरकारले भने एक एआईजीको दरबन्दी काटेर तीन मात्र कायम गर्‍यो । स्रोतका अनुसार प्रधान कार्यालयमा अपराध अनुसन्धान र कार्य विभाग मात्र राख्ने तथा प्रतिष्ठानको कमान्ड एआईजीले गर्ने गरी तीन वटा दरबन्दी स्वीकृति भएको हो । 

नेपाल प्रहरी अस्पतालका एआईजीको दरबन्दीबारे सरकारले केही बोलेको छैन । त्यसको अर्थ हो, नेपाल प्रहरीमा एक प्राविधिकसहित चार एआईजी रहने भएका छन् । 

२०४९ सालसम्म प्रहरी प्रधान कार्यालयमा अपराध अनुसन्धान र कार्य विभाग मात्र थिए । ‘नेपाल प्रहरी त्यही चक्रमा फर्किएको छ,’ प्रधान कार्यालयका एक उच्च अधिकारीले भने । 

प्रदेश प्रहरीको कमान्ड डीआईजीले गर्ने भएपछि रानीपोखरीस्थित महानगरीय प्रहरी आयुक्तमा एआईजी रहँदा ‘चेन अफ कमान्ड’को विवाद उत्पन्न हुने थियो । सोही कारण प्रधान कार्यालयले नै महानगरीय प्रहरीका आयुक्त पनि डीआईजी नै रहने प्रस्ताव पठाएको थियो । 

रानीपोखरीले उपत्यकाका तीन वटा जिल्ला मात्र कमान्ड गर्छ । जबकि, प्रदेश प्रहरीको डीआईजीको कमान्डमा ५÷७ वटा जिल्ला पर्छन् । रानीपोखरी प्रदेश–३ मातहतको एकाइ हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।