सोमबार, असार २९, २०८३

विप्लव गयल, बाबुरामहरूले गरे प्रचण्डलाई गाली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अर्धभूमिगत माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’लाई बोलाइएको तर उनी गयल रहेको कार्यक्रममा आइतबार डा. बाबुराम भट्टराईलगायत नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भरमार गाली गरे । 

प्रचण्डलाई दलाल मात्र होइन, अवसरवादी, भ्रष्टाचारी, विसर्जनवादी, यथास्थितिवादी र प्रतिगामी भएको आरोप पनि लगाउन भ्याए । 

सशस्त्र विद्रोहका क्रममा आफ्ना सर्वोच्च कमान्डर रहेका प्रचण्डलाई नै स्यालुट मार्थे, यी नेता । आइतबारको कार्यक्रममा भने उनीहरूले प्रचण्डलाई नक्कली कम्युनिस्ट नेताको उपमा भिराए । आठ वटा विद्यार्थी संगठनले आयोजना गरेको उक्त कार्यक्रममा उनीहरू प्रचण्डमाथि खनिएका हुन् । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनसरकार प्रमुख सन्तोष बुढा मगरले वर्तमान सरकारको नेतृत्व नक्कली कम्युनिस्टले गरेको आरोप लगाए । नवगठित नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार दलाल र पुँजीपति वर्गबाट सञ्चालित रहेको उनको दाबी थियो । 
 

प्रचण्डमाथि आरोप, ‘दलाल, अवसरवादी, भ्रष्टाचारी, विसर्जनवादी, यथास्थितिवादी र प्रतिगामी ।’


मगरले भने, ‘दलालहरूको संसदीय व्यवस्थाले बनाएको वर्तमान सरकार नक्कली कम्युनिस्टहरूको हो । यो नक्कली कम्युनिस्टको राज्यसत्तालाई हामी क्रान्तिबाटै ढाल्छौं ।’

वर्तमान सरकार यथास्थितिवादी, पश्चगामी र सुधारवादी चरित्रको भएको आरोप लगाउँदै वैज्ञानिक समाजवादको बाटो अँगालेर क्रान्तिकारी परिवर्तन गर्न आन्दोलनको विकल्प नभएको बताए । वर्तमान सरकार प्रतिक्रियावादी भएको बताउँदै मगरले आफूहरूलाई फुटाउन उनीहरू सक्रिय रहेको दाबी गरे । 

‘भ्रष्टाचारी, दलाल र पुँजीपति वर्गको नियन्त्रणमा मुलुकको ८० प्रतिशतभन्दा बढी स्वास्थ्य र शिक्षा क्षेत्र छ,’ मगरले भने, ‘राज्यसत्ताको नेतृत्वमै दलालहरू भएकाले गुणस्तरीय शिक्षा र स्वास्थ्य सम्भव छैन ।’

कार्यक्रममा निम्त्याइएका विप्लव सुरक्षाका कारण आउन नसकेको जानकारी दिइएको थियो । 

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले क्रान्तिको बाटोमा लाग्दा अध्यक्ष बनाएको व्यक्ति प्रचण्डले क्रान्ति विसर्जन गरेर जनगणतन्त्रको बाटो भुलेको आरोप लगाए । ‘प्रचण्डलाई गद्दार भन्दै हामीसँगै रहेका बादलजी लम्पसारवादको साथमा पुगिसके,’ गजुरेलले भने, ‘हाम्रा साथीहरूलाई बोराभरि पैसा र मन्त्री चाहियो कि राज्यमन्त्री भन्दै दबाब दिने अवस्थामा हाम्रै पुराना साथी पुगेका कारण संगठन गर्नै गाह्रो भएको छ ।’

पुराना एमाले र माओवादी केन्द्रका धेरैजसो नेताले नै निजी स्वास्थ्य र शैक्षिक संस्था चलाएर शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियाकरण, व्यापारीकरण र निजीकरण गर्दै लगेको आरोप लगाए । उनले भने, ‘महाकाली बेच्न भूमिका खेल्ने केपी ओलीले देशलाई सिक्किमीकरण गर्दैछन् ।’

चुनावको समयमा ओलीले बनाएको राष्ट्रवादी छवि प्रधानमन्त्री भएपछि भारतीय समकक्षी नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्दा राजस्थानी टोपी र कुर्ता लगाएबाटै समाप्त भएको दाबी गरे । ‘मोदीसँगै आएका ८६ जना भारतीय सैनिकले मुलुकको महत्वपूर्ण स्थलको रेकी गरेर गए,’ गजुरेलले भने, ‘राष्ट्रबैंकका कर्मचारीलाई अर्थमन्त्री बनाएर २३ प्रतिशत मात्र विकास बजेटले मुलुकलाई समृद्ध बनाउन सक्दैन ।’

प्रचण्डसँग असन्तुष्ट बनेर नेकपा माओवादी केन्द्रलाई पुनर्गठन गरेका गोपाल किराँतीले देशको शिक्षा क्षेत्रमा हाल सरकारमा रहेको पार्टीका नेताहरूले नै माफियाकरण गरिरहेको आरोप लगाए । प्रचण्ड र ओलीको एकीकरण चार वर्षसम्म पनि नटिक्ने उनको दाबी थियो ।

‘प्रधानमन्त्री ओलीले मूल्यवृद्धि गरी माफिया पोस्ने र प्रचण्डले भ्रष्टाचार गरेर मुलुकलाई खोक्रो पारेका छन्,’ किराँतीको आरोप थियो, ‘ओली र प्रचण्डलाई देश र जनताभन्दा बढी प्रेम शक्ति र सम्पत्तिमा छ । प्रचण्डबाट मुक्ति सम्भव छैन ।’ 

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले स्वास्थ्य र शैक्षिक कर नलिने आर्थिक नीति लिएर शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्ने अभियानमा लागेको आरोप लगाए ।

भट्टराईले भने, ‘शिक्षा र स्वास्थ्यमा केही कर लगाएर निजी क्षेत्रले स्वास्थ्य र शिक्षालाई व्यवसाय नबनाउने मेरो नेतृत्वको सरकारले गरेको निर्णयलाई उल्टाएर माफियालाई पोस्ने कम भएको छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।