बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराट अस्पताल प्रकरण : आक्रमण नभएको भए डाक्टर चौधरी बच्थे!

विराट अस्पताल प्रकरण : आक्रमण नभएको भए डाक्टर चौधरी बच्थे!

त्यही बेला अकस्मात् डाक्टरमाथि आक्रमण भयो। स्वास्थ्यकर्मीको भागाभाग चल्यो। डा. मुकेशलाई हेर्ने कोही भएनन्। घटना भएको १० मिनेटपछि डा. मुकेशको मृत्यु भयो। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– सोमबार साँझ साढे ८ बजेको थियो। विराटनगरस्थित विराट मेडिकल कलेजका केही डाक्टर दुर्घटनामा परेर घाइते भएका दुई जनाको उपचारमा खटिएका थिए। अन्य अधिकांश स्वास्थ्यकर्मी कोभिडका बिरामीको उपचारमा तल्लीन थिए। सिकिस्त रहेका लहान अस्पतालका डा. मुकेश चौधरीको पनि उपचार भइरहेको थियो। त्यही बखत दुई युवा वृद्धालाई लिएर अस्पताल प्रवेश गरे। सुगरबाट पीडित ७३ वर्षीया बिरामीलाई रिंगाटा चल्न र टाउको दुख्न थालेपछि आफन्तले अस्पताल ल्याएका रहेछन्। 

वृद्धालाई लिएर आएका आफन्तले तुरुन्त बिरामी हेरिदिन आग्रह गरे। दुर्घटनामा परी गम्भीर घाइते भएका र सिकिस्त अवस्थाका डाक्टरको उपचार गरिरहेका स्वास्थ्यकर्मीले केही बेर पर्खन आग्रह गरे। लगत्तै वृद्धा लिएर आएका २ युवाले आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि एक्कासि आक्रमण गरे। 

आक्रमणमा परी चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेत घाइते भएका छन्। आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालका फोकल पर्सन डा. सुनिल देवले जानकारी दिए। उनका अनुसार २ सफाइकर्मी पनि घाइते भएका छन्। घटनाका विषयमा जानकारी दिँदै उनले भने, ‘हामी लोकल हौं, हामीलाई कुराउने भन्दै युवाले अकस्मात् आक्रमण गरेका थिए।’ घाइतेको अवस्था  सामान्य छ। 

‘आक्रमण नभएको भए र उपचारमा कुनै समस्या नपरेको भए डा. मुकेशलाई बचाउन सकिन्थ्यो जस्तो लाग्छ। अकस्मात् भएको आक्रमणले भागाभाग मच्चियो। उहाँलाई हेर्ने कोही भएनन्। त्यसैले जोगाउन सकिएन।’

फोकल पर्सन डा. देवका अनुसार यही आक्रमणका कारण अस्पतालमा उपचाररत एक चिकित्सकको मृत्यु भएको छ। कोभिडसँग मिल्दोजुल्दो लक्षणका कारण गम्भीर बिरामी भएका डा. मुकेश चौधरीको इमरजेन्सीमा उपचार चलिरहेको थियो। अक्सिजन राख्ने र परीक्षण गर्ने काम हुँदै थियो। त्यही बेला अकस्मात् डाक्टरमाथि आक्रमण भयो। स्वास्थ्यकर्मीको भागाभाग चल्यो। डा. मुकेशलाई हेर्ने कोही भएनन्। गम्भीर बिरामी यो घटना भएको १० मिनेटपछि डा. मुकेशको मृत्यु भयो। 

विराट मेडिकल कलेजका फोकल पर्सन डा. सुनिल देव।

‘आक्रमण नभएको भए र उपचारमा कुनै समस्या नपरेको भए डा. मुकेशलाई बचाउन सकिन्थ्यो जस्तो लाग्छ। अकस्मात् भएको आक्रमणले भागाभाग मच्चियो। उहाँलाई हेर्ने कोही भएनन्। त्यसैले जोगाउन सकिएन’,  सुनिलले भने। डा. मुकेश चौधरी लहान अस्पतालका अर्थोपेडिक सर्जन हुन्। ३८ वर्षीय उनी कोभिडसँग मिल्दोजुल्दो लक्षणले गाँजेपछि सोमबार मात्रै विराट मेडिकल कलेजको इमरजेन्सीमा भर्ना भएका थिए।

विराट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट

अनाहकमा भएको आक्रमणकै कारण डा. मुकेशको मृत्यु भएको विराट मेडिकल कलेजका फोकल पर्सन देवको ठहर छ। उनले भने, ‘यस्ता अराजक गतिविधिका कारण कयौं बिरामीले अनाहकमा ज्यान गुमाउनुपर्ने हो थाहा छैन। तर सोमबार राति जे भयो त्यसले हामीलाई अत्यन्त दुःखी बनाएको छ।’ 

दिनरात निद्राभोक केही नभनी ज्यानको बाजी लगाएर उपचारमा खटिरहेका छाैं। तर, हामीमाथि नै आक्रमण हुन्छ। अब तपाईं नै भन्नुस्, यस्तो भएपछि हामी कसरी काम गर्न सक्छौं? उनले दुःखेसो पोखे। 'घटनापछि ऊर्जा मात्रै मरेको छैन, त्राससमेत बढेको छ', डा. देवले सुनाए। 

उपचारका क्रममा निधन भएका लहान अस्पतालका डा. मुकेश चौधरी।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार बूढीगंगा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको हो। उनले आरोपितलाई पक्राउ गरिएको बताए। उपचारका लागि भर्ना भएकी वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै सो समूहले आक्रमण गरेको उनले बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको खड्काले जनाएका छन्।

आक्रमण यसरी भएकाे थियाे (भिडियाे)

प्रकाशित: May 18, 2021| 13:55 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।