बुटवल– राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुई जनाको उम्मेदवारी परेको छ। कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन्।
चारदलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेशसभा सदस्य थिए। एमालेका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित उनी केही दिनअघि सांसद पदबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए। यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रियसभा सदस्य उम्मेदवार हुन्। माओवादीबाट निर्वाचित अर्घाखाँचीका उनी एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो।
माओवादीको कारबाहीपछि रिक्त राष्ट्रियसभा सदस्य पदका लागि एमालेले खड्कालाई नै पुनः उम्मेदवार चयन गरेको हो। राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आगामी १७ गते हुँदै छ। राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभा सदस्य, तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।