बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अक्सिजन अभावमा बेलझुन्डी अस्पतालले कोरोनाका बिरामी भर्ना लिनै छोड्यो

अक्सिजन अभावमा बेलझुन्डी अस्पतालले कोरोनाका बिरामी भर्ना लिनै छोड्यो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङस्थित बेलझुन्डी कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव अझै पूर्ती हुन सकेको छैन।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङस्थित बेलझुन्डी कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव अझै पूर्ती हुन सकेको छैन। केही दिनदेखि प्रदेश सरकारले भारतबाट समेत लिक्विड अक्सिजन सिलिण्डर ल्याएको तथा अक्सिजन प्लान्ट जडानका प्रक्रिया सुरु गरेकाले अक्सिजन अभाव कम गरेको जनाएको थियो। तर, प्रदेश सरकारको चारवटा मध्येको दाङस्थित बेलझुन्डि कोरोना अस्पतालले भने अक्सिजन अभावले गर्दा थप बिरामी लिँनै छाडेको छ।

दाङसहित राप्तीका पहाडी भेगका बिरामी कोरोना संक्रमित बिरामी उपचारका लागि यहाँ आउछन्। प्राय संक्रमित बिरामीलाई अक्सिजन दिनुपर्ने भए पनि आवश्यकता अनुसार अक्सिजन नै आयात नहुँदा अस्पताल प्रशासनले बिरामी भर्ना लिन छोडेको जनाएको छ।

अस्पतालले सय जना कोरोना संक्रमित बिरामीलाई राख्न सक्ने बेडको व्यवस्थापन गरेको भए पनि अहिले बिरामी नै लिन नसक्ने अवस्था रहेको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए। ‘हाम्रो क्षमता सय जना बिरामी राख्न सक्ने हो। तर, अहिले हामीले ६० भन्दा बढी बिरामी राख्न सक्दैनौं, ’ उनले भने, ‘जताततै हारगुहार गरिरहेका छौं। तर, अक्सिजनको भरपर्दो व्यवस्थापन हुन सकेन।’ उनका अनुसार ६० जना बिरामीका लागि पनि अक्सिजन स्टक छैन। बेलझुन्डी कोरोना विशेष अस्पतालमा एचडियू ७०, जर्नर २५ तथा आईसीयू ५ र भेन्टिलेटर ६ बेड छ।

व्यवस्थापक ओलीले अक्सिजन अभावका कारण बिरामी आत्तिदै आउँदा पनि भर्ना लिन नसकेको बताए। ‘बिरामी लिदिनुपर्‍यो भनेर दबाब धेरै आउँछ। तर, हामीसँग बेड मात्रै भएर भएन, अक्सिजन छैन,’ उनले भने। अहिले ६० जनामात्रै बिरामी राख्दा पनि २ सय ५० अक्सिजन आवश्यक पर्छ। तर, यो अक्सिजन आपूर्ती भएको छैन। अस्पतालमा भएको सबै बेड सञ्चालन गर्ने हो भने दैनिक ५ सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने अस्पताल प्रशासनले जनाएको छ।  

बिरामीले उपचारका लागि अस्पताल पाएका छैनन्। कोरोना बिशेष अस्पतालमा भने अक्सिजन नभएको निहुँमा भएको बेड खाली राखेर भर्ना गरिएको छैन। सय बेड नै चलाउन आफूहरू तयार रहेको तर अक्सिजन व्यवस्थापन गरिदिन प्रदेश र संघीय सरकारलाई अस्पतालको अपिल छ। 

कोरोनाको हटस्पोट बनेको बाँके र रुपन्देहीमा रहेका अक्सिजन उद्योगले जिल्ला वाहिर अक्सिजन नदिने भएकाले पनि दाङमा अक्सिजनको समस्या बढेको हो। मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभावको संकट टरेको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखे पनि उनकै गृह जिल्लामा भने समस्या टडकारो देखिएको छ। ‘प्रदेश सरकार र मुख्यमन्त्रीकै पहलका कारण दैनिक डेढ देखि २ सय अक्सिजन पाएका छौं। तर, यसले पुगेन,’ व्यवस्थापक ओलीले भने।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले भने, 'अक्सिजन अभाव पूर्ती गर्नका लागि प्रदेश सरकारले अक्सिजन प्लान्ट जडान गर्नेदेखि भारत तथा नेपालका अन्य भागमा अक्सिजनको व्यवस्थापन गरेको दावी गरे।' उनले अक्सिजनको अभाव हुन नदिनका लागि पहल भइरहेको र केही हदसम्म अभाव कम गरिएको बताए। लुम्बिनीका ठूला सरकारी अस्पतालले सूचना निकाल्न भने छाडेका छन्। तर, अक्सिजन अभाव भने कायमै छ। बिरामीले अहिले पनि अक्सिजन नपाएकै कारण मृत्युवरण गर्नु परिरहेको गुनासो छ।

लुम्बिनी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट १ हजार १ सय ४७ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। गएको २४ घन्टामा ३८ जनाको मृत्यु भएको थियो। 

यस्तै अहिले १२ वटै जिल्लामा १७ हजार १ सय ३० जना कोरोना संक्रमित उपचारत छन्। लुम्बिनीमा ६४ हजार ८ सय १२ संक्रमित हुँदा ४६हजार ५ सय ३५ जना निको भएका छन्। पछिल्लो २४ घन्टामा १ हजार ३४ जना नयाँ कोरोना संक्रमित थप हुँदा १ हजार ७ सय ५ जनाले कोरोना जितेका छन्।

प्रकाशित: May 18, 2021| 06:59 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।