पोखरा – कोरोना संक्रमणका कारण सर्प संरक्षणकर्मी महेन्द्र कतिलाले सोमबार ज्यान गुमाए। उनको निधनबाट नेपालको संरक्षण अभियानमा अपूरणीय क्षति पुगेको छ। सर्प भन्नेबित्तिकै मनमा एक किसिमको भय सिर्जना हुन्छ। अर्कोतर्फ सर्प देख्नेबित्तिकै मारिहाल्ने एउटा समूह पनि छ। यद्यपि कतिपयले नाग भनेर पूजा पनि गर्छन्।
महेन्द्र समाजले सर्पप्रति गर्ने गलत व्यवहारबाट हैरान हुन्थे। ‘सर्प भन्नेबित्तिकै समाजमा नकारात्मक सञ्चार हुन्छ’, २०६६ सालमा पृथ्वीनारायण क्याम्पसमा समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गर्दै गर्दा उनले भनेका थिए, ‘तर मचाहिँ नेपाली समाज र सर्पको सम्बन्ध स्थापित गर्न चाहन्छु।’
‘नेपाली समाजमा सर्पलाई शत्रुका रुपमा हेरिन्छ। तर वातावरणीय दृष्टिकोणले महत्त्वूर्ण रहेकाे छ। महाभारत कथामा राजा जन्मेजयले सर्पमेध यज्ञ गरेर विश्वभरका सर्प नष्ट गर्न लागेको देखेर आस्तिक ऋषिले रक्षा गरेको उल्लेख छ। यो कथाले पनि वातावरणमा सर्पको कति महत्त्व छ भन्ने पुष्टि गर्छ’, उनले भने।
‘नेपाली समाजमा सर्पलाई शत्रुका रुपमा हेरिन्छ। तर वातावरणीय दृष्टिकोणले महत्त्वूर्ण रहेकाे छ। महाभारत कथामा राजा जन्मेजयले सर्पमेध यज्ञ गरेर विश्वभरका सर्प नष्ट गर्न लागेको देखेर आस्तिक ऋषिले रक्षा गरेको उल्लेख छ। यो कथाले पनि वातावरणमा सर्पको कति महत्त्व छ भन्ने पुष्टि गर्छ’, क्याम्पस परिसरमा साथीभाइ भेला पारेर उनले भन्ने गर्थे।
उनी भन्थे, ‘सर्प त मानव जातिको साथी हो। विशेष गरी किसानको त निकट मित्र हो। खेतबारी तथा घरमै पनि घुसेर मुसा खाइदिन्छ, त्यसैले सर्प किसानको साथी हो।’ महेन्द्र ३० को दशकदेखि सर्प संरक्षण अभियानमा लागेका हुन्। २०३३ मा प्रगतिशील समूहबाट पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिसमेत भएका थिए उनी। पछि राजनीतिबाट संरक्षण अभियानमा लागे।
उनी भन्थे, ‘सर्प त मानव जातिको साथी हो। विशेष गरी किसानको त निकट मित्र हो। खेतबारी तथा घरमै पनि घुसेर मुसा खाइदिन्छ, त्यसैले सर्प किसानको साथी हो।’
पछिल्लो समय कतिला विश्वमै दुर्लभ र अति विषालु मानिने किङ कोब्रा (राज गोमन) सर्पको उद्धार गरेर चर्चामा आएका थिए। २०७७ चैत अन्तिम साता बागलुङको मूलपानीका एक व्यक्तिको घरमा परेको किङ कोब्राको उनले उद्धार गरेका थिए, त्यो पनि निःशुल्क। पाँच वर्षअघि पोखराको रानीवनमा उद्धार गर्ने क्रममा उनलाई किङ कोब्राले डसेको थयो। एक साता अस्पताल बसाइ पनि उनलाई निको भएको थियो।
जीवनको चार दशक सर्पको उद्धारमा बिताएका कतिलाले अहिलेसम्म तीन सयभन्दा बढी सर्पको उद्धार गरिसकेका थिए। पछिल्लो समय उनी नेपालमा सर्प फारम खोल्ने र सर्पको टोकाइबाट हुने मृत्यु घटाउन नेपालमै ‘एन्टी भेनम’ औषधी उत्पादन गर्ने योजनामा थिए।
त्यसका लागि उनले संस्थागत प्रयाससमेत थालनी गरेका थिए। पाँच वर्षअघि उनकै नेतृत्वमा सर्प संरक्षण समाज गठन भएको थियो।
आयआर्जनका लागि भने उनले दाङमा मौरीपालन व्यवसाय सुरु गरका थिए। दाङबाट भैरहवा जाने क्रममा उनलाई कोरोना पुष्टि भयो। त्यसपछि उनलाई चितवनको भरतपुरस्थित बीपी कोइराला मेमेरियल अस्पतालमा भर्ना गरिएको थियो। ‘लापरबाही नगर्नुस् है! बडो कष्ट पो हुँदोरहेछ, कोरोना संक्रमित भएर बस्नुपर्दा। शारीरिक कष्ट उस्तै, महँगो उस्तै, सामाजिक अप्ठेरो उस्तै, कोही भेट्नै नखोज्ने, भूत भेटेजस्तो पो गर्छन्’, तीन दिनअघि अस्पतालमै रहेका बेला उनले फेसबुकमा यो स्टाटस लेखेका थिए। स्टाटस लेखेको तीन दिनपछि सोमबार अस्पतालमै उनको प्राणपखेरु उड्यो।
२०१६ सालमा जन्मेका कतिला सर्प संरक्षणसँगै अन्य सामाजिक काममा पनि सक्रिय थिए। उनका भतिज वसन्तलाल कतिलाका अनुसार उनी पोखरा–३ स्थिति रमा भगवती सी गुठीका अध्यक्ष थिए।
‘उहाँ एकदमै असल, जिज्ञासु र गतिशील मानिस हुनुहुन्थ्यो’, पोखरामा कतिलाका सहपाठी पूर्वसभामुख कृष्णबहादुर महराले नेपाल समयसँग भने, ‘पछिल्लो समय संरक्षण अभियानमा लाग्ग्नुभएका उहाँको निधनले म दुःखी छु।’
पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले पनि उनको निधन प्रति दुःख प्रकट गरे। ‘त्यतिबेलाको विद्यार्थी राजीतिमा उहाँसँग बिताएका समय साँच्चिकै अविस्मरणीय छ’, अधिकारीले भने।
गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, पृथ्वीनारायण क्याम्पसमा उनलाई समजशास्त्र पढाउने प्राध्यापक डा. रामचन्द्र बराल लगायत थुप्रै व्यक्तिले उनको निधनले नेपालको सर्प संरक्षण अभियानमा ठूलो क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्।