सोमबार, असोज १२, २०८३

सेयर बजारमा आज पनि रेकर्ड

सेयर बजारमा दैनिक रेकर्ड कायम हुन थालेको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं– सेयर बजारमा दैनिक रेकर्ड कायम हुन थालेको छ। हिजो आइतबार नयाँ रेकर्ड कायम गरेको सेयर बजारले आज पनि रेकर्ड बनायो। आइतबार २७३८.२९ अंकमा रहेको सेयर बजार आज २०.७१ अंकले बढेर २७५९.२१ अंकमा पुगेको छ।

आज कारोबार रकममा भने कमी आएको छ। आइतबार दिन १० अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा आज भने ९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ।

सोमबार बजारमा निकै उतारचढाव देखिएको छ। यसदिन बजारले २७७० अंक चुमेर फर्किएपछि २७४८ अंकमा पुगेको थियो। ११ बजेर ४८ मिनेटपछि बढ्न सुरु भएको बजार बन्द हुँदासम्म २७५९ अंकमा अडिएको छ। 

कोरोनाका कारण भएको निषेध आदेशका कारण अन्यत्र लगानीको ढोका बन्द भएपछि लगानीकर्ताहरु सेयर बजारतर्फ आकर्षित भएको र यसले थप उचाइ कायम गरेको सेयर बजार विश्लेषकहरु बताउँछन्। जबसम्म बैंकहरुको ब्याजदर एकल अंकमा रहन्छ, तबसम्म बजार उकालो लाग्ने दाबी गर्छन् नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार।

सोमबार रुरु जलविद्युत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै यसदिन एक दर्जन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी उकालो लागेको छ। 

यसदिन ९ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएका कम्पनीमा समता घरेलु लघुवित्त, राधी जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स र गुराँस लघुवित्त कम्पनी छन्।

त्यस्तै ओरालो लागेका कम्पनीमा श्री इन्भेष्टमेन्ट, ज्योति विकास बैंक र विशाल बजार कम्पनी छन्। सोमबार सवैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी छ। सो कम्पनीको ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। 
 

प्रकाशित: May 17, 2021| 10:38 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्