काठमाडौं- सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ। जेठ महिनाको पहिलो दिन आइतबार (जेठ २ं गते) सेयर बजार परिसूचक (नेप्से) ५४.२६ अंकले उकालो लागेर २७३८.३५ अंकमा अडिएको छ। यसको ठिक एक महिना पहिले (वैशाख २ गते) नेप्सेले २७३५ अंक छोएको थियो।
त्यस्तै आइतबार नै नेप्सेले कारोबारमा पनि नयाँ रेकर्ड राखेको छ। यो दिन दिनभर २१४ कम्पनीको सेयर कारोबार हुदा १० अर्ब २ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच गरेको छ। तर हालसम्म नेप्सेमा सवा नौ अर्ब रुपैयाँसम्मको सेयर कारोबार गरेको रेकर्ड थियो।
प्रधानमन्त्री केपी शर्मा ओली पुन प्रधानमन्त्रीमा नियुक्त हुनु र विष्णु पौडेल पुन अर्थमन्त्रीमा नियुक्त भएपछि सरकारको स्थायित्व र यही सरकारले निर्वाचन गर्न सक्ने सम्भावना भएको मनोवैज्ञानिक असर लगानीकर्तामा पर्न जाँदा बजार उकालो लागेको बजार विष्लेषकहरुको अनुमान छ।
आइतबार बैंकिङ समूह २७.४८ अंक, ट्रेडिङ समूह ५०.८८ अंक, होटल तथा पर्यटन समूह ३५.९२ अंक, डेभलपमेन्ट बैंंक समूह १११.३० अंक, हाइड्रो पावर समूह ३०.०७ अंक, फाइनान्स समूह १५.९० अंक, निर्जीवन बीमा समूह ५७९.७७ अंक र उत्पादनमुलक कम्पनीको ६३.३४ अंकले नेप्सेले उकालो लागेको छ।
त्यस्तै अन्य समूह ४५.९३ अंक, माइक्रोफाइनान्स समूह १०१.७० अंक, जीवन बीमा समूह ५२९.७२ अंक, म्युचुअल फण्ड समूह ०.०४ अंक र इन्भेष्टमेन्ट समूह २.०८ अंकले उकालो लागेको छ।
आइतबार रुरु जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी ९ प्रतिशतभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीहरुमा शिखर इन्स्योरेन्स ९.९७, समता घरेलु लघुवित्तको ९.९५, सप्तकोसी डेभलपमेन्ट बैंकको ९.९०, प्रोग्रेसिभ फाइनान्सको ९.९०, बरुण हाइड्रोपावरको ९.८३, आइएमई जनरल इन्स्योरेन्सको ९.७६ र विशाल बजार कम्पनीको ९.३७ प्रतिशतले मूल्य बढेको छ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा युनियन हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनीको, नारायणी डेभलपमेन्ट बैंकको, घलेम्दी हाइड्रोको र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंक रहेका छन्।