धनगढी- प्रदेश-७ को भविष्यसँग जोडिएको धनगढी विमानस्थल क्षेत्रीयस्तरको बन्ने भएको छ ।
चौतर्फी दबाबपछि विमानस्थल स्तरोन्नती गर्न नागरिक उड्डयन प्राधिकरण कार्यालयले जग्गा अधिग्रहण र मुआब्जा वितरण गरिरहेको छ । उक्त विमानस्थलको धावन मार्ग काठमाडौंपछि दोस्रो लामो हो ।
प्राधिकरणले विभिन्न चरणमा गरी १७ बिघा चार कट्ठा साढे आठ धुर जग्गा अधिग्रहण गरेको हो । उक्त विमानस्थलको क्षेत्रफल ७० बिघा चार कट्ठा साढे आठ धुर पुगेको प्राधिकरण कार्यालय प्रमुख छविसिंह ठकुल्लाले जानकारी दिए ।
'क्षेत्रीय विमानस्थलको रूपमा स्तरोन्नतिका लागि अब हामीसँग जग्गा पर्याप्त भएको छ,' उनले भने, 'पूर्वाधार विकासका काम भने बाँकी छन् ।'
ठकुल्लाका अनुसार ह्यांगर, रात्रि बिसौनी, अग्नि नियन्त्रक र पहाडी जिल्लामा उडान हुन सके यो विमानस्थल क्षेत्रीयस्तरको हुनेछ । अहिले ती कुनै सुविधा उपलब्ध छैनन् ।
प्राधिकरणले ८९ जनाको जग्गा अधिग्रहण गरेको छ । अब सात जनाले मात्रै मुआब्जा बुझ्न बाँकी छ ।
घरसहितको ५१ लाख २४ हजार रुपैयाँ मुआब्जा वितरण गरिएको छ । यस्तै, जग्गाका लागि मात्र २३ करोड ११ लाख पाँच हजार रुपैयाँ बाँडिएको छ ।
विमानस्थलको पूर्वतिर भीओआर/डीएमई उपकरण र बत्ती जडान गर्ने तयारी छ । त्यसपछि रात्रिकालीन र 'भिजिबिलिटी' कम भएका बेला पनि उडान गर्न सकिने प्राधिकरणले जनाएको छ ।
अहिले उक्त विमानस्थलमा दिउँसो मात्र उडान हुन्छन् । बुद्ध एयरले भने एक महिनादेखि स्याटेलाइट प्रणालिमार्फत् रात्रिकालीन उडान गरिरहेको छ ।
उक्त विमानस्थलबाट नेपाल एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका जहाजले दैनिक काठमाडौंसम्म उडान गरिरहेका छन् ।