काठमाडौं- निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले कोभिड–१९को दोस्रो लहरको महामारी व्यवस्थापनमा सहयोग जुटाउन राहत कोषको स्थापना गर्ने भएको छ।
प्याब्सनले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालमा भयावह रुप धारण गर्दै गएको कोरोना महामारीमा देशभर सञ्चालित निजी लगानीका विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थी तथा आम जनसमुदायलाई यस विपदको घडीमा सक्दो सहयोग तथा राहत पुर्याउने उद्देश्यले प्याब्सन केन्द्रीय अध्यक्ष टीकाराम पुरीको संयोजकत्वमा कोभिड–१९ महामारी तथा विपद व्यवस्थापन समिति गठन गरि प्याब्सन राहत कोषको स्थापना गरेको जनाएको हो।
प्याब्सनले अस्पतालहरुमा उपचार पाउन कठिन बन्दै गएको र अक्सिजन तथा औषधिहरुको अपर्याप्तताका समाचारहरु आउन थालेपछी यस्तो विपद् तथा हाहाकारको परिस्थितिमा सरकार मात्रको एक्लो प्रयास पर्याप्त नहुने भएकोले सम्पूर्ण राजनीतिक दलहरु, पेशागत तथा व्यवसायिक संघसंस्थाहरु लगायत अन्य गैर सरकारी संघ–संस्थाहरुका साथै नागरिक तहबाट समेत यो विपदको घडीमा सार्थक पहल हुनुपर्ने आवश्यकतालाई महसुस गर्दै यस्तो पहल गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ।
कोभिड–१९ राहत कार्यक्रमअन्तर्गत सम्पूर्ण सदस्य विद्यालयले स्थानीय तह, प्रदेश र नेपाल सरकारसँग वा अन्य संघ–संस्थाहरुसँग समन्वय गरी अक्सिजन सहितको आइसोलेसन बेडहरुको व्यवस्थापन गर्ने, पीडितहरुलाई विपदको बेलामा आवश्यक यातायातको साधनहरु उपलब्ध गराउने, आम नागरिकलगायत प्रमुख रुपमा प्रभावित विद्यालय सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थीहरुको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने तथा विद्यार्थी, अभिभावकहरु एवं आमनागरिकहरुमा जनचेतनामूलक कार्यहरु साथै मनोवैज्ञानिक परामर्शका कार्यहरु अबिलम्ब सञ्चालन गर्ने प्याब्सनले जनाएको छ।
केन्द्रीय अध्यक्ष टीकाराम पुरीको संयोजकत्वमा आर्थिक स्रोत व्यवस्थापन तथा परिचालन उपसमिति, केन्द्रीय कार्यसमितिका सह–अध्यक्ष डीके ढुँगानाको संयोजकत्वमा समन्वय तथा सहायता उपसमिति, केन्द्रीय सल्लाहकार आशिष श्रेष्ठको संयोजकत्वमा आर्थिक स्रोत पहिचान तथा संकलन उपसमिति, केन्द्रीय महासचिव कुमार घिमिरेको संयोजकत्वमा विवरण संकलन, सूचना तथा संचार लगायतका उपसमितिहरु गठन गरी केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय पालिका तहसम्मका सदस्य विद्यालयहरुको सहयोग तथा सक्रियतामा तत्काल कार्य प्रारम्भ गर्ने प्याब्सनले जनाएको छ।