युरोपमा खोप अभियान तीव्र भएपछि महामारी फैलने क्रम घट्दै गएको छ। कैयन् देशले घुमफिरमा लगाएको प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। यसबाट पर्यटन क्षेत्र चहलपहल हुने विश्वास बढेको छ। मानिसहरु बिदा मनाउनका लागि घरबाहिर निस्कन थालेका छन्। यद्यपि महामारी पूर्ण रुपमा नियन्त्रणमा आइनसकेकाले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ।
अद्यावधिक तथ्यांकअनुसार युरोपमा ५ करोड ३२ लाख ६० हजार ५३ जनामा कोरोना भाइरस संक्रमित भएका छन्। यस्तै ११ लाख १४ हजा २ सय ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। महामारीको संकटबाट बिस्तारै मुक्त हुन लागेका केही देशको यस्तो छ पछिल्लो अवस्था :
अस्ट्रिया : अस्ट्रियामा १९ मेदेखि रेस्टुरेन्ट, होटल, सिनेमा हल र खेलकुदका गतिविधि सञ्चालनमा आउने भएका छन्। देशमा प्रवेशका लागि कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्नेछ। कोरोना मुक्त भएका मात्र होइन, खोप लगाइसकेका विदेशी पर्यटकले पनि अस्ट्रिया प्रवेश पाउनेछन्। यस्ता व्यक्तिलाई क्वारेन्टिनमा पनि बस्नुपर्ने छैन। विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरण्ण अनुसार अस्ट्रियामा ६ लाख ५८ हजार ६२९ जना कोरोना संक्रमित भएका छन्। यस्तै १० हजार १७० संक्रमितको ज्यान गएको छ।

स्विट्जरल्यान्ड : हवाई यात्राबाट स्विट्जरल्यान्ड जाने हो भने कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य चाहिन्छ। आसपासका देशका मानिस भने सडकमार्गबाट स्विट्जरल्यान्ड प्रवेश पाउने स्विस अधिकारीहरुले बताएका छन्। तर सडकमार्गबाट जानेका लागि भने कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट चाहिँदैन। होटल, संग्रहालय, पसल, सिनेमा हल, मनोरञ्जन पार्क आदि खुलेका छन्। तर भीडभाड गर्न पाइने छैन भने भौतिक दुरी र स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्छ। स्विट्जरल्यान्डमा ६ लाख ७४ हजार १३८ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये १० हजार ८० जनाको निधन भएको छ।

ग्रिस : ग्रिसका सहरी क्षेत्रका रेस्टुराँहरु राति पौने ११ बजेसम्मका लागि खुला गरिएका छन्। राति ११ बजेपछि निषेध आदेश जारी छ। ग्रिस भ्रमणमा जान चाहनेले आफ्ना विवरण अनलाइनमार्फत दिनुपर्छ भने पीसीआर रिपोर्ट नेगटिभ भएको प्रमाण पनि दिनुपर्छ। यस्तै खोप लगाएकाहरुले पनि प्रमाण पेस गर्नुपर्छ। पछिल्लो विवरणअनुसार ग्रिसमा तीन लाख ६९ हजार ५५४ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ११ हजार २११ जनाको ज्यान गएको छ।

इटाली : इटालीमा जनजीवन बिस्तारै सामान्य हुँदै छ। संक्रमण कम देखिएका ठाउँमा रेस्टुराँहरु खुल्न थालेका छ्। रातको १० बजेपछि बाहिर निस्कन निषेध गरिएको छ। केही सहरमा भने संग्रहालय र सिनेमा हल पनि खुल्न थालेका छन्। इटालीमा ४१ लाख ३१ हजार ७८ जनालाई संक्रमण भएकोमा एक लाख २३ हजार ५ सय ४४ जनाको निधन भएको छ।

फ्रान्स : फ्रान्समा देशभित्रको यात्रा गर्न अनुमति दिइएको छ। साँझ सात बजेपछि कर्फ्यु लाग्दै आएकोमा ९ मेदेखि ९ बजेपछि मात्र लाग्न थालेको छ। रेस्टुराँमा बसेर खानपान गर्न पाइन्छ भने बजार र सांस्कृतिक केन्द्रहरु पनि खुल्न थालेका छन्। फ्रान्समा ५७ लाख २८ हजार २ सय ५६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। तीमध्ये एक लाख ६ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ।

स्पेन : स्पेनमा अवस्था सामान्य भइसकेको छ। कैयौं क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाइएको छ। तर केही प्रान्तमा भने अझै पनि कर्फ्यु जारी छ। बाहिर हिँड्दा मास्क लगाउन अनिवार्य गरिएको छ। युरोपेली संघमा आबद्ध देशका मानिसको आवागमन खुला गरिएको छ। तर जोखिमयुक्त क्षेत्रमा चाहिँ कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट देखाउन अनिवार्य गरिएको छ। स्पेनमा कोरोना संक्रमण हुनेको संख्या ३५ लाख ९२ हजार ७५१ पुगेको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरणअनुसार स्पेनमा ७९ हजार २०८ जना संक्रमितको ज्यान गएको छ।

पोर्चुगल : पोर्चुगलमा करिब साढे ५ महिनापछि मे १ देखि संकटकाल हटाइएको छ। रेस्टुराँ, सांस्कृतिक संस्थान र मनोरञ्जनका क्षेत्र राति साढे १० बजेसम्म खुला हुन थालेका छन्। स्पेनसँगको सीमा पनि खुला गरिएको छ। पोर्चुगलमा कोरोना संक्रमण हुनेको संख्या आठ लाख ४० हजार ४९३ पुगेको छ भने १६ हजार ९९८ को कोरोना संक्रमणबाट ज्यान गएको छ।

क्रोएसिया : क्रोएसियमा होटलहरु खुल्न थालेका छन्। तर बाहिरै बसेर खानुपर्ने छ। अन्य देशबाट जाने नागरिकले कोरोना भाइरसको नेगेटिभ रिपोर्ट र खोप लगाएको प्रमाण पेस गर्नुपर्छ। क्रोएयिामा तीन लाख ४८ जनालाई कोरोना संक्रमण भएको छ भने सात हजार ६२३ जनाको निधन भएको छ।

डेनमार्क : डेनमार्कमा बजार र पसल खुला हुन थालेका छन्। रेस्टुराँभित्र बसेर खान भने कोरोना संक्रमण नभएको प्रमाण पेस गर्नुपर्छ। डेनमार्कमा युरोपेली संघमा आबद्ध देशका नागरिक बिना रोकटोक प्रवेश पाउन थालेका छन्। डेनमार्कमा २६ लाख दुई हजार १५९ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये दुई हजार ४९९ जनाको निधन भइसकेको छ।

पोल्यान्ड :पोल्यान्डका होटलमा क्षमताका ५० प्रतिशत मात्र अतिथि बस्न पाउनेछन्। १५ मेदेखि खुला ठाउँमा बसेर खान पाइनेछ भने १९ मेदेखि भित्रै बसेर पनि खान पाइने व्यवस्था गरिएको छ। बाहिरबाट गएका व्यक्तिले कोरोना भाइसर परीक्षणको नेगटिभ रिपोर्ट बुझाउनुपर्छ। अन्यथा १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको छ। तर खोप लगाइसकेका र कोरोना मुक्त भएका मानिसले भने क्वारेन्टिनमा बस्नु पर्दैन। पोल्यान्डमा २८ लाख ४५ हजार ७६२ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। अहिलेसम्म त्यहाँ ७१ हजार २१ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।
एएफपी/डीडब्ल्यू