काठमाडौं- यस वर्षको मनसुन शुक्रबारबाट शुरु भएको छ । गत वर्ष भन्दा चार दिनअघि नै पूर्वबाट मनसुन नेपाल प्रवेश गरेको हो ।
यसपटक मनसुन १ सय १५ दिनसम्म सक्रिय हुने मौसमविद् सुवास रिमालले जानकारी दिए । मनसुन अक्टोबर पहिलो सातासम्म कायम रहनेछ । नेपालमा सामान्यतया १० जुनमा मनसुन प्रवेश गरी २३ सेप्टेम्बरमा सकिन्छ ।
बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वबाट पश्चिमतिर बहन थालेको मौसमविद् रिमालले बताए । देशैभर मनसुन सक्रिय हुन एक सातासम्म लाग्ने उनको भनाइ छ।
नेपालमा मनसुन पूर्वी नेपालबाट प्रवेश गरी पश्चिम नेपालसम्म पुग्छ । मनसुनको अन्त्य पश्चिम नेपाल हुँदै पुनः पूर्वी नेपाल पुगी अन्त्य हुन्छ। नेपालमा मनसुनका बेला ८० प्रतिशतसम्म वर्षा हुन्छ । बाँकी अन्य समयमा पर्ने गर्छ ।
यसपटक मनसुनसँगै उच्च जोखिम रहेकाले सबैलाई सचेत रहन मौसम विभागले अपिल गरेकाे छ । बाढीपहिरोबाट ठूलो क्षति हुन सक्ने भएकाले त्यसको न्यूनीकरण गर्न सरकारी संयन्त्रको सार्थक पहल जरुरी रहेको मौसम विभागका महानिर्देशक ऋषिराम शर्माले बताए ।
सरकार र विभिन्न गैरसरकारी संस्थाले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीको काम प्रभावकारी रूपमा अघि बढाउन नसक्दा मनसुनको समयमा विपद्ले भयावह रूप लिने गरेको छ । विपद्बाट बर्सनि औसतमा ६ सय जनाको मृत्यु हुने गरेको गृह मन्त्रालयको तथ्यांक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४