सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालबाहिर बेड कुर्दै बिरामी, डाक्टर भन्छन्– अवस्था कन्ट्रोलमा छँदै छैन

अस्पतालबाहिर बेड कुर्दै बिरामी, डाक्टर भन्छन्– अवस्था कन्ट्रोलमा छँदै छैन

टेकु अस्पतलामा २४ बेड आईसियु र ३३ बेड जनरल वार्ड छ। ३० जना संक्रमित अस्पताल बाहिर अक्सिजन लगाएर बसेका छन्। भित्र कतिबेला पालो आउँछ भन्दै कुरिहरेका छन्।
 |  सोमबार, वैशाख २७, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, वैशाख २७, २०७८

vianetvianet

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले कोरोना महामारी नियन्त्रणमै छ भने पनि अस्पतालहरु हेर्ने हो भने स्थिति नियन्त्रणमा बिलकुल देखिँदैन। संक्रमित र मृतकको संख्या पनि बढ्दो क्रममै छ।

triton college

आइतबार अपराह्न टेकु अस्पताल पुग्दा दुइटा एम्बुलेन्स गेटबाट बाहिरिँदै थिए। एउटा एम्बुलेन्स अस्तपाल परिसरमै थियो। एम्बुलेन्सभित्र कोभिडका बिरामी थिए। बाहिर निकालेर उपचार गर्न टेकु अस्पतालमा सम्भवै थिएन। अस्तपालको पिँढी, सिँढी, बरण्डा, आँगन सबैतिर कोरोना संक्रमित। कोही कुर्सीमा, कोही बेडमा त कोही ह्विलचेयरमा अक्सिजन लिइरहेका थिए। एक तिहाइजसो बिरामी अस्पताल बाहिरै अक्सिजनको सहारामा थिए। 

बिरामीमा छटपटी बढिरहेको थियो। सबै मौन थिए। कसैलाई एकअर्कासँग बोल्न मन थिएन। उपचारमा खटिएका चिकित्सक हतास देखिन्थे। बाहिरका बिरामीको अक्सिजन लेभल पनि हेर्नुपरो, भित्रका बिरामीको हाल पनि बुझ्नैपरो। बिरामी कुरुवाका आँखा डाक्टरसँगै भित्र–बाहिर गरिरहेका हुन्छन्।

अक्सिजन सपोर्टमा प्रांगणमै राखिएकी संक्रमितकी एक आफन्तले भनिन्, ‘आमालाई गाह्रो हुँदै गएको छ। डाक्टर बाहिर आउँदा पनि भित्र बेड खाली भएर भन्न आएको हो कि भन्ने आश लाग्छ। कतै बुझ्दा पनि बेड नपाएपछि जबरजस्ती भए पनि यहाँ ल्याएर बाहिरै अक्सिजन दिएर राखेकी छु।’ 

यहीँ बेड मिलाइदिनुस् न भन्दै उनी डाक्टरसामु आँशु झार्दै थिइन्। तर डाक्टर केही भन्न सक्दैनथे। तैपनि ‘बिरामीलाई केही हुँदैन, नआत्तिनुस्’ भनेर ढाडस दिन छाडेका छैनन्।

National life insurance

अस्तपालका निर्देशक डा. सागर राजभण्डारी पनि हतासमा अस्पताल भित्र–बाहिर गर्दै थिए। बोल्दा पनि उनको स्वर धरमराइरहेको थियो। अस्पतालको क्षमताभन्दा एक तिहाइ बढी संक्रमितलाई बाहिरै उपचार गर्नु परेपछि आँखाभरि आँशु बनाउँदै उनी भन्दै थिए– यो अवस्था कसरी हेर्नु? कसरी सम्हाल्नु यो अवस्थालाई?’

टेकु अस्पतलामा २४ बेड आईसियु र ३३ बेड जनरल वार्ड छ। ३० जना संक्रमित अस्पताल बाहिर अक्सिजन लगाएर बसेका छन्। भित्र कतिबेला पालो आउँछ भन्दै कुरिहरेका छन्। आईसियूमा राख्नुपर्ने बिरामीलाई अक्सिजनकै सहारामा राख्नुपर्दा चिकित्सक निकै आत्तिएका छन्। ‘यो अवस्थाले त धेरै मानिस हामीले गुमाउनुपर्छ,’ निर्देशक राजभण्डारीले भने। 

त्यसैबीचमा इमर्जेन्सी वार्डबाट डाक्टरले एक युवकलाई डोर्याउँदै ल्याए। ती युवक आफूलाई सम्हाल्न सकिरहेका थिएनन्। डाक्टरले उनलाई सम्झाउँदै आँगनको पेटीमा बस्न लगाए र टिस्युले उनको अनुहार पुछिदिए। भर्खरै आफन्त गुमाएका रहेछन् ती युवकले।

आँगनको अर्को छेउमा अर्का एक व्यक्ति आँखाभरि आँसु बनाउँदै कसैलाई फोन गरिरहेका थिए। उनलाई २ जना अरुले सम्हालिरहेका थिए। अस्पतालका यी दृष्यले कोराना संक्रमण भयावह बन्दै गएको सहजै अनुमाजन गर्न सकिन्छ। अस्पताल प्रांगणको एक छेउमा स्वास्थ्य सेवा विभाग खोप महाशाखा प्रमुख डा. झलक गौतम सबै दृष्यलाई नियालिरहेका थिए। उनी भन्दैथिए, ‘अवस्था भयावह भइसक्यो, अझै जटिल अवस्था आउने देखिन्छ।’ 

चिकित्सकहरु अझै यो अवस्था एक महिनाभन्दा बढी जानसक्ने आंकलन गर्छन्। चिकित्सकहरु बलपूर्वक आफ्ना पीडा नदेखाई उपचार गर्ने, बिरामीलाई परामर्श दिने गरिरहेका छन्। 

उता त्रिवि शिक्षण अस्तपालमा पनि अवस्था उस्तै छ। आइतबार साँझ करिब ७ बजे कोरोना संक्रमित बाहिरै अक्सिजन लिएर बसिरहेका थिए। भित्र बेड पाइन्छ कि भन्ने आशा उनीहरुमा थियो। चिकित्सक बाहिर निस्कनेबित्तिकै संक्रमितका आफन्तमा आशा जाग्छ। तर उनीहरुको आशा पलभरमै सकिन्छ। चिकित्सकहरु ‘नआत्तिनुस् हामी केही हुन दिँदैनौं’ भन्दै उनीहरुलाई सम्झाउने प्रयास गरिरहेका हुन्छन्। 

बिरामीका लागि छुट्याइएका बेड भरिएका छन्। संक्रमितलाई आँगनमा नै अक्सिजनको सपोर्टमा राखिएको छ। ‘अवस्था कन्ट्रोलमा छँदै छैन,’ एक चिकित्सकले भने, ‘अहिले मानिसहरु होम आइसोलेसनमा बस्न डराउन थालेका छन्। अस्पतालबाट डिस्चार्ज भएर जाँदा पनि डराइरहेका छन्।’ 

चिकित्सकको कुरालाई उछिन्दै पिँढीमा नजिकै अक्सिजन लिइरहेका मानिसले भने, ‘जसले कन्ट्रोलमा छ भनेको छ, उसैले जिम्मा लिओस्। अस्पतालको अवस्था कुर्सीमा बसेर डाटा हेरेर थाहा हुन्छ? अक्सिजन नपाएर छटपटिँदाको पीडा कस्तो हुन्छ, मलाई थाहा छ।’ संक्रमण भएर होम आइसोलसनमा बसेका उनले आफ्नो परिचय खुलाउन चाहेनन् । त्रिवि शिक्षण अस्पतालमा बल्लबल्ल अक्सिजन पाएपछि उनलाई केही राहत मिलेको छ। तर उनी निकै आक्रोशित हुँदै भन्दै थिए, ‘अस्पतालको आँगनमा भए पनि अक्सिजन लिन्छु भन्दा अक्सिजन समेत लिन नपाउने अवस्था हुँदा पनि अन्डर कन्ट्रोल भन्नेले कस्तो अवस्था देख्न खोज्दैछ?’ 

प्रधानमन्त्रीले भनेजस्तै नेपालको कोरोना संक्रमणको अवस्था नियन्त्रणमै छ त? जनस्वास्थ्यका विज्ञ तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘अहिलेसम्मको अवस्थालाई त्यति नियन्त्रण बाहिर गएको भन्न मिल्दैन। यो अवस्था सरकार तथा अस्पतालको खराब व्यवस्थापनले गर्दा हो। व्यवस्थापन चाँडो भन्दा चाँडो सुधार गर्ने हो भने अझै नतिजा सुध्रन सक्छ।’ तर उपचारमा संलग्न चिकित्सक भने नियन्त्रण बाहिर गएको बताउँछन्।

त्रिवि शिक्षण अस्पतालकै प्रांगणमा आधा घण्टादेखि रोकिएको एम्बुलेन्समा एक वृद्ध थिए। उनका आफन्तले अस्पतालमा बेड नपाएपछि अन्य अस्पतालमा फोन घुमाइरहेका थिए। तर कतैबाट सकारात्मक कुरा नआएपछि उनीहरु बिरामीलाई कता लैजाने भन्ने अन्योलमै थिए। उनीहरु एकआपसमा घरै लैजाने त भन्ने आशय पनि प्रकट गरिरहेका थिए। तर कहाँ मन मान्थ्यो र? फेरि उनीहरु अन्य अस्पताल तथा आफन्तलाई फोन घुमाइरहेका थिए। अस्पतालको प्रांगणमा हरेक घण्टामा यस्ता दृष्य सहजै देखिन्छ। कैयौं संक्रमित अस्पतालमा बेड पाउने आशामा आँगनमै पर्खिरहेका छन्। 

कोरोना संक्रमतिको लागि त्रिवि शिक्षण अस्पतालमा दुइटा भवन (मंगलादेवी बर्थिङ सेन्टर र सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल) कोरोना संक्रमितका लागि छुट्याइएको छ। दुवै भवन कोरोना संक्रमितले भरिएका छन्। नयाँ बिरामीले बेड पाउनु निकै ठूलो सफलता मिलेको महसुस हुन्छ। 

अर्कोतर्फ होम आइसोलेसनमा बस्ने बिरामी सिकिस्त भएपछि मात्रै अस्पताल पुग्ने क्रम बढेपछि मृत्यु हुने बिरामीको संख्या पनि बढ्न थालेको छ। चिकित्सक भन्छन्, ‘मानिसहरु होम आइसोलेसनमा बस्ने र कठिन भएपछि मात्रै अस्पताल पुग्दा उनीहरुमा निमोनिया भइसकेको हुन्छ। उनीहरुलाई आइसियु तथा भेन्टिलेटरको सहारामा राख्नुपर्ने हुन्छ। तर अस्पतालमा बेड खाली हुँदैनन्। यसकारण मृत्यु बढेको हो।’ कोरोनाको मृत्यु बढेपछि शव व्यवस्थापन पनि कठिन हुँदै गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

केही समय अघिसम्म कोरोना संक्रमणबाट निधन भएकाको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिँदै आएको थियो। मृत्यु हुनेको संख्या बढेपछि अहिले बागमतीको किनारमा नै अन्त्येष्टि गर्न थालिएको छ। कोषका अनुसार शनिबार एकैदिन ७६ वटा शव आएको थियो। अब शव जलाउन पनि पालो कुर्नुपर्ने भएको छ। 

प्रकाशित: May 10, 2021| 09:52 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।