सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोरोना अस्पताल सञ्चालन गरेको छ। तर, अस्पतालमा न चिकित्सक छन् न त पर्याप्त अक्सिजन नै।
‘हामीसँग डाक्टर छैनन् तर प्रदेश अस्पतालका डाक्टरसँग समन्वय गरेर सेवा दिन्छौँ,’ नगर उपप्रमुख मोहनमाया ढकालले भनिन्, ‘संक्रमितको उपचारमा नगर स्वास्थ्य शाखाका कार्मचारीहरू खटाउँछौँ।’ आइसोलेसनमा अक्सिजन पनि प्रदेश अस्पतालकै भर छ।
सुर्खेतकै सिम्ता गाउँपालिकाले बजेडीचौर स्वास्थ्यचौकीमा ५० बेडको आइसोलेसन सेन्टरको सञ्चालन गरेको छ। तर, त्यहाँ पनि डाक्टर र अक्सिजनकै अभाव छ। ‘हामीसँग त केही थान अक्सिजनका सिलिन्डर मात्रै छन् तर अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन) बाट काम चलाउँछौँ,’ सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने, ‘डाक्टर छैनन्, स्वास्थ्यचौकीले अहेव र स्टाफ नर्सले सेवा दिन्छन्।’
सुर्खेतको चौकुने गाउँपालिकाले जीवनज्योति माध्यमिक विद्यालयमा ५० बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको छ। तर, अक्सिजनका लागि गाउँपालिकाले ६ वटा सिलिन्डर मात्रै छन्। त्यहाँ एकजना पनि स्वास्थ्यकर्मी छैनन्।
सुर्खेतकै गुर्भाकोट नगरपालिकाले मेहलकुनाको सिटी हलमा २५ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ। त्यहाँ पनि स्वास्थ्यकर्मी छैनन्। मेहलकुना अस्पतालसँग समन्वय गरेर सेवा दिने नगरपालिकाले जनाएको छ।
उता सल्यानको बनगाड नगरपालिकाले प्रभाकर माध्यमिक विद्यालय देवस्थलमा १५ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ। तर, नगरपालिकासँग अक्सिजनका लागि पाँचवटा सिलिन्डर मात्र छन्। त्यहाँ पनि संक्रमितको उपचारमा खटिने डाक्टर छैनन्। सिलिन्डर नपाएपछि अक्सिजन कन्सन्ट्रेटर अक्सिजनले काम चलाउने नगरप्रमुख गोविन्दकुमार पुन बताउँछन्।
वीरेन्द्रनगर, सिम्ता, चौकुने र बनगाड कुपिन्डे मात्रै होइन। कोरोना महामारी सुरू भएपछि कर्णालीका अधिकांश स्थानीय तहले आइसोलेसन सञ्चालन गरेका छन्। तर, स्थानीय तहले आइसोलेसन सेन्टर सञ्चालन गरेका जनशक्ति र अक्सिजनको चरम अभाव छ।
अक्सिजन कन्सन्ट्रेटर दिइने अक्सिजन केही सहज भए पनि गम्भीर प्रकृतिका संक्रमितलाई आइसोलेसनमा उपचार सम्भव छैन। कतिपय स्थानीय तहले त अक्सिजन कन्सन्ट्रेटर मेसिन सञ्चालनका लागि ब्याट्री ब्याकअपको समेत व्यवस्था गरेका छैनन्।
जेनेरेटर र ब्याट्री ब्याकअपको व्यवस्था नहुँदा विद्युत् आपूर्तिको भएको समयमा मात्रै अक्सिजन कन्सन्ट्रेटर सञ्चालनमा ल्याउन सकिन्छ।
यही जनशिक्त र अक्सिजन अभावका कारण स्थानीय तहका आइसोलेसनहरू जोखिमपूर्ण छन्। ‘अहिलेको कोरोना निकै जोखिमपूर्ण छ, समयमै उपचार नपाए बिरामीलाई बचाउन सकिँदैन,’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेल भन्छन्, ‘स्थानीय तहका आइसोलेसनमा सामान्य प्रकृतिका संक्रमितलाई मात्रै राख्न सकिन्छ तर जटिल संक्रमितलाई अस्पताल नै ल्याउनुपर्छ।’
यसपालि आइसोलेसनमा बसेर मात्रै संक्रमणमुक्त हुने अवस्था नभएका कारण लक्षणअनुसारको उपचार गर्नुपर्ने उनको तर्क छ। ‘संक्रमणको आशंका लाग्ने बित्तिकै परीक्षण र तत्काल लक्षणअनुसारको उपचार गर्नुपर्छ,’ उनी भन्छन्, ‘समयमै अस्पताल र थोरै लापरबाही गर्ने बित्तिकै संक्रमितको ज्यान जोखिममा पर्छ।’