काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालले पार्टीले ६ महिनाभित्रमा पार्टीको महाधिवेशन गर्ने भएको छ ।
निर्वाचन आयोगले दलदर्ता भएको एक वर्षभित्र महाधिवेशन गर्न पत्रचार गरेपछि बिहीबार बसेको पार्टीको अध्यक्ष मण्डलको अनौपचारिक बैठकले महाधिवेशनका लागि ६ महिना समय थप गर्न माग गर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले नेपाल समयलाई जानकारी दिए ।
राजपाको विधानमा पनि एक वर्षभित्र महाधिवेशन गर्ने तय भएपनि आन्तरिक समस्याका कारण महाधिवेशन हुन सकेको छैन । गत वर्ष वैशाख सातमा एकता भएको राजपाले असारमामात्र दल दर्ता गराएकाले निर्वाचन आयोगले भने असारभित्रमा महाधिवेशन गर्न आग्रह गरेको छ ।
महाधिवेशनका लागि असारको डेटलाइन कम भएको र तयारी नपुग्ने ठहर गर्दैै थप ६ महिनाको समय मागेर महाधिवेशन गर्ने तयारी राजपाको छ ।
बैठकमा अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवसहित ६ जना नै नेताको सहभागिता थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४