शनिबार, मंसिर १३, २०८२

प्रिय मनास्लु ! यसपालि पनि सम्झन सकिएन

पोखराको आकाश शनिबार दिनभरजसो धुम्म परेको थियो। घरी पानी परिरहेको, घरी घाम झुल्केजस्तो हुन्थ्यो अनि घरी घामपानी। तर आइतबार भने यस क्षेत्रको आकाश बिहानैदेखि खुलिरहेको थियो। 
 |  सोमबार, वैशाख २७, २०७८

विभु भुसाल

विभु भुसाल

सोमबार, वैशाख २७, २०७८

पोखरा– पोखराको आकाश शनिबार दिनभरजसो धुम्म परेको थियो। घरी पानी परिरहेको, घरी घाम झुल्केजस्तो हुन्थ्यो अनि घरी घामपानी। तर आइतबार भने यस क्षेत्रको आकाश बिहानैदेखि खुलिरहेको थियो। 

National life

उसैगरी खुलिरहेका थिए पोखराबाट देखिने हिमश्रृङ्खलाहरु। गण्डकी प्रदेशका अधिकांश जिल्लाबाट सजिलै देख्न सकिने हिमश्रृङ्खलाले धक फुकाएर आजको दिनको स्वागत गरिरहेका दिए बिहान। र अरुभन्दा अलि बढी नै भएको थियो मनास्लु। 

नेपालका हिमाललाई चिन्नेहरु मनास्लुलाई मायालु हिमालको रुपमा चिन्छन्। अरु हिमाल भन्दा सुन्दर भएकोले मनास्लुलाई धेरैले मन पराउँछन्। साथै आरोहण गर्न पनि अरु भन्दा सजिलो हिमाल भएकाले यसलाई धेरै आफ्नो आरोहणको पहिलो गन्तव्य बनाउँछन्। 

‘आफ्नो जिल्लाको भएर पनि होला, किन हो किन मलाई मनास्लु हिमाल एकदमै राम्रो लाग्छ,’ आफ्नो हिमाल आरोहणको यात्रा मनास्लुबाट सुरु गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले केही समयअघि नेपाल समयसँगको कुराकानीमा भनेकी थिइन्। उनले सन् २०१७ मा मनास्लु आरोहण गरेकी थिइन्। हाल उनी धौलागिरी हिमाल आरोहणको क्रममा छिन्। 

मे ९ विश्वको आठौं अग्लो चुचुरो मनास्लु (८१६३ मिटर) पहिलो पटक आरोहण गरेको दिन हो। त्यही भएर होला, मनास्लु अरु हिमालभन्दा अलि बढी चमक नै देखिएको थियो। हरेक वर्ष मे ९ तारिखमा भव्य कार्यक्रम गरेर मनास्लु आरोहण दिवस मनाउने गरिन्थ्यो। पोखरा तथा काठमाडौंबाट नेपाल पर्वतारोहरण संघ, तथा टे«किङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का पदाधिकारी, स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी मिलेर भव्य रुपमा मनास्लु आरोहण दिवस मनाउने गर्थे। 

Laxmi sunrise bank
kumari

तर २ वर्ष भयो मनास्लु आरोहण दिवस मनाउन छोडिएको छ। विश्वव्यापी कोरोना संक्रमणको महामारीका कारण यो ‘सुन्दरी हिमाल’ आरोहण दिवस मनाउन सकिएको छैन। नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष सुदर्शन न्यौपाने भन्छन्, ‘पहिलेका वर्षहरुमा भव्य कार्यक्रमहरु गरेर मनास्लु आरोहण दिवस मनाउने गरिएको हो। विगत २ वर्षदेखि मनाउन सकिएको छैन।’

कोरोना सँक्रमणको चेन ब्रेक गर्न भनेर सरकारले निषेध आदेश लागू गरेपछि नेपाल पर्वतारोहण संघ तथा टानले आयोजना गर्ने भनिएका कार्यक्रमहरु त्यत्तिकै स्थगित भएका छन्। टान पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष सुशीलराज पौडेलले भने, ‘गोरखाको धार्चेमा भव्य कार्यक्रम गरेर मनास्लुु आरोहण दिवस मनाउने कार्यक्रम थियो, तर दोस्रो लहरका कारण त्यो सपना पूरा हुन पाएन।’

टानले धार्चेमा मनास्लु आरोहण दिवस मनाउने कार्यक्रम सन् २०२० मै राखेको थियो। स्थानीय आरोही तथा पर्यटन व्यवसायीलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो। तर कोरोनाका कारण यो सम्भव हुन सकेन। 

‘आरोहण दिवसमार्फत यस क्षेत्रको पर्यटनलाई अलिअलि जगाउने समय आएको थियो, दोस्रो लहरले फेरि विथोलिदियो,’ पौडेल भन्छन्, ‘मुटुमा गाँठो पारेर मनास्लुलाई सम्झिने, बस्ने बाहेक अरु के भयो र ?’ 

सन् १९५३ जुन ३ तारिखमा फ्रान्सेली नागकि मौरिस हर्जेगले अन्नपूर्ण हिमाल (८०९१ मिटर) को सफल आरोहण गरेपछि नेपालको पर्यटनले अन्तर्राष्ट्रिय बजारमा चर्चा कमाएको मानिन्छ। यसपछि नेपालमा पर्यटन व्यवसायको अनौपचारिक शुरुआत भए पनि सन् ६० को दशकबाट व्यावसायिक तथा संस्थागत शुरुआत भएको मानिन्छ। 

मनास्लु हिमाल भने सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक युको माकी को नेतृत्वमा आरोहण गरिएको थियो। सो दलमा जापानकै तोसिओ ईमानिशी, नेपालका ल्हाक्पा तेन्जिङ शेर्पा र भारतका ग्याल्जेन नोर्बु शेर्पा पनि सहभागी थिए। तर नेपाली सदस्यले भने चुचुरोमा टेक्ने अवसर पाएनन्। उनी अन्य आरोहीको सहयोगीका रुपमा गएकाले यस्तो अवसर नपाएका हुन्। 

आरोही उर्केन छिरिङ शेर्पाको नाम पहिलो मनास्लु आरोहण गर्ने नेपालीको रुपमा दर्ज छ। उनले सन् १९७३ मा मनास्लुको सफल आरोहण गरेका थिए। तथ्यांक अनुसार हालसम्म स्वदेशी र विदेशी गरी १ हजार जनाभन्दा बढीले मनास्लुको सफल आरोहण गरिसकेका छन्। 

यस क्षेत्रमा अन्य हिमालहरु भए पनि नेपाल पर्वतारोहण संघले पोखरामा सञ्चालन गरेको ‘अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय’ मा सम्मान स्वरुप यसको प्रतिरुप तयार पारिएको छ। जहाँ संग्रहालय अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले तस्बिर खिचाउने गर्छन्। कृत्रिम नै भए पनि यो प्रतिरुप संग्रहालयका अन्य वस्तुजत्तिकै आकर्षणको केन्द्र बनेको छ। 

बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अलि खालिफाले आरोहण गरेपछि अन्तर्राष्ट्रिय जगतमा मनास्लु हिमाल चर्चा र आकर्षणको केन्द्र बनेको हो। सन् २०२० अक्टोवर १५ तारिखमा उनीसहित राजपरिवारका अन्य सदस्य र शाही सुरक्षाकर्मीसहित १४ जनाको टोलीले यो हिमालको सफल आरोहण गरेको थियो। 

यी र यस्तै कारणले मनास्लु हिमाललाई यस क्षेत्रका बासिन्दाहरु श्रद्धा भन्दा बढी मायाको दृष्टिकोणले हेर्ने गर्छन्। यही मायालु हिमालको आरोहण दिवस मनाउन नपाउँदा भने पर्यटन व्यवसायीहरु खिन्न भए। टान पश्चिमाञ्चलका अध्यक्ष पौडेलले भने, ‘मनास्लुको मौलिक उचाइ अझै थप्ने धोको थियो, २ वर्षसम्म यस्तै भयो, मिस यु मनास्लु। ’

प्रकाशित: May 10, 2021| 06:30 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।