काठमाडौं– महिलाका लागि मानव अधिकार एकल महिला समूहमा कार्यरत कर्मचारी कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई तातो खाना वितरण अभियानमा जुटेका छन्।
अभियानअन्तर्गत आइतबार संस्थाले कान्ति बाल अस्पताल, वीर अस्पताल, गंगालाल अस्पताल, प्रसूति गृह स्वास्थ्य चौकी बूढानीलकण्ठ, नेपाल मेडिकल एसोसिएसन र ओम अस्पतालमा तातो खाना वितरण गरिएको संस्थाले जनाएको छ।
संस्थाले कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएका कर्मचारी, एम्बुलेन्स चालकलाई तातो खाना वितरण गरेको थियो।
समूहका कार्यक्रम व्यवस्थापक राजिन रायमाझी ज्यान जोखिममा राखेर कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यान दिँदै तातो खाना वितरण गर्न थालेको बताउँछन्। उनी भन्छन्, ‘काममा व्यस्त भइरहेका बेला हातमा तातो खाना पुर्याइसकेपछि एकैछिन भए पनि उनीहरूले आफ्नो स्वास्थ्यको ध्यान दिन पाउँदा रहेछन्।’ त्यही ऊर्जाले काम खट्न बल पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरेको उनको भनाइ छ।

संस्थाले बाँकेको भेरी अञ्चल अस्पतालमा उपचाररत कोभिडका बिरामीलाई पौष्टिक खानेकुरा वितरणसमेत गरेको थियो। एकल महिला समूहले अभियान निरन्तर चल्ने जनाएको छ।
संस्थाले गत वर्षको महामारीमा पनि हजारौं महिला तथा मजदुरहरुलाई राहतस्वरुप खानेकुरा र दैनिक उपभोग्य सामग्री वितरण गरेको थियो।