काठमाडौं- धनगढीको नवजीवन अस्पताल प्रांगणमा से १ च २४८० नम्बरको भ्यान रोकिएको थियो। वरिपरि केही मानिस झुम्मिएका थिए। उनीहरूको अनुहार मलीन थियो। कोही हताश थिए। कोही अक्सिजन! अक्सिजन!! भन्दै विलाप गरिरहेका थिए। भ्यानभित्रबाट एउटा स्वर सुनिन्छ, 'चिन्ता नगर्नुस्। अक्सिजन सिलिन्डर पाइन्छ। म प्रयास गर्छु।' ती छटपटाइरहेका हृदयमा अक्सिजन भर्ने कर्ममा जुटेका छन् समाजसेवी युवा हेमराज ओझा।
कञ्चनपुरको कृष्णपुर–६ का ४६ वर्षीय ओझाका कर्मठ हात सधैं सहयोगमा जुट्छन्। वैशाख २४ गते बिहान मात्रै उनले सेती अञ्चल अस्पतालको आईसीयूमा भर्ना भएका एक बिरामीलाई अक्सिजन र उनका आफन्तलाई खाना पुर्याए।
सोही दिन उनलाई नवजीवन अस्पतालमा बैतडीबाट आएका ५७ वर्षीय जनक धानुक अक्सिजन अभावमा छटपटाइरहेको खबर आयो। उनी अक्सिजन सिलिन्डर बोकेर नवजीवन दौडिए। अक्सिजन सिलिन्डर नपाएर भौंतारिएका बिरामीका आफन्त ओझालाई देखेर खुसी भए।
नवजीवन अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेको छ। अन्य ठाउँमा जस्तै नवजीवनमा पनि अक्सिजन अभाव छ।
‘ओझा सरले अक्सिजन ल्याइदिएकै कारण मेरो आफन्तको जीवनले सास तान्यो। अहो! जति पैसा तिर्न तयार हुँदा पनि अक्सिजन नै नपाइने। ओझा सर त हाम्रा लागि भगवान् भएर आउनुभयो,' बिरामीका आफन्तले भने।
यस्तै कञ्चनपुर वाणीका जगदीश सेठ्ठी र उनकी आमा नोभा अस्पतालको कोरोना वार्डमा उपचाररत छन्। ओझाले सोमबार मात्रै आफूहरूलाई दुई सिलिन्डर अक्सिजन दिएको सेठ्ठीले बताए। 'उहाँले आज पनि दुई सिलिन्डर अक्सिजन दिने भन्नु भएको छ। खाना खाजाको व्यवस्था पनि उहाँले गरिराख्नु भएको छ', उनले भने।
कोरोना जोखिम न्यूनीकरणका लागि सरकारले जनताको भीड रोक्न देशका अधिकांश स्थानमा निषेध आदेश जारी गरेको छ। तर, अस्पतालमा जीवन खोज्नेहरूको चित्कार सरकारको कानसम्म पुग्न सकेको छैन।
देशका अधिकांश अस्पतालमा ज्यान जोगाइदिन हारगुहार गर्नेको भीड उस्तै छ। सरकारको ध्यान नपुगिरहेको समयमा ओझा भने महामारीमा जीवन जोखिममा राखेर कैलाली र कञ्चनपुरका बिरामीका लागि अक्सिजन सिलिन्डर जुटाइदिन व्यस्त छन्।
आफ्नै सवारीसाधनमा सिलिन्डर लोड गर्नु र अस्पताल-अस्पताल पुगेर अक्सिजन प्रदान गर्नु ओझाको दैनिकी बनेको छ अचेल। ‘मेरो साथी व्यवसायी जुनिर खानसँग रहेका ८ वटा खाली सिलिन्डर मागें। ती सिलिन्डरमा ग्यास भर्दै खाली सिलिन्डर लिँदै बिरामीलाई दिने गरेको छु’, उनले भने, ‘म मालिका अक्सिजन कम्पनीमा अक्सिजन भर्छु। कहिलेकाहीं बजारका अक्सिजन बिक्रेतासँग खाली सिलिन्डर साटेर किन्ने गर्छु।’
ओझाले सोमबार बिहानसम्म ३२ जनालाई अक्सिजन उपलब्ध गराइसकेका छन्। उनले अक्सिजन उपलब्ध गराएका कञ्चनपुरको बेलडाँडीका एकजना ७८ वर्षीय वृद्धले शुक्रबार बेलुकी प्राण त्यागे। ओझाले नेपाल समयसँग कुरा गर्दै ती वृद्धको ज्यान गुम्दा आफू निकै दुःखी भएको बताए।
‘म निरन्तर निःशुल्क अक्सिजन उपलब्ध गराउने कर्ममा खटिरहनेछु,' ओझाले भने, ‘उच्च जोखिम रहेकाले सहयोगीबिनै म एक्लै खटिरहेको छु। र, खटिरहनेछु।’ उनी त्यसलाई सहयोगभन्दा पनि आफूले सहजीकरण गरेको बताउँछन्। महामारी परास्त गर्न सबैको साझा प्रयास आवश्यक भएको उनको भनाइ छ।
000
सुदूरपश्चिममा अक्सिजन नपाएर धेरै संक्रमितले ज्यान गुमाएका छन्। ‘महामारीमा थोरै भए पनि केही गर्न सकिन्छ कि भनेर यसमा लागेको हुँ’, उनले भने, ‘खाली सिलिन्डर पाउँदा म यो कार्ममा जुटेको हुँ।’
अघिल्लो साता मात्रै ओझाले कृष्णपुर नगरपालिकाको इलाका प्रहरी कार्यालय कृष्णपुर, अस्थायी प्रहरी कार्यालय वाणीमा प्रहरीलाई मास्क, फेससिल्ड र सेनिटाइजर उपलब्ध गराएका थिए। उनी यस वर्ष मात्र नभएर अघिल्लो लकडाउनमा राहत तथा सहयोग गर्न सक्रिय थिए। गत वर्ष महामारीमा ओझाले १५ हजार मास्क वितरण गरेका थिए। उनले कृष्णपुर नगरपालिका क्षेत्रभित्र ३० वटा पानीट्यांकी वितरण गरे र जनचेतनाका लागि पर्चा छापेर वितरण गरे।
ओझाले गौरीफन्टा नाकाको डोके बजारमा ३९ दिन खटिएर काम गरे। उनी नेतृत्वको टिमले भारतबाट फर्किएका नेपालीलाई खानेकुरा, पानीलगायत सामग्री वितरण गरेको थियो। टिममा मुकेश पाठक, रमेश भट्ट, टंक रोश्यारा, गणेश भण्डारी, दिनेश भट्ट, नरेश भट्ट, हरेन्द्र भक्त, भीम खड्कालगायत थिए।
स्थानीय गणेश भण्डारी भन्छन्, ‘नगरपालिकामा कोही बिरामी भएको खबर पाउनसाथ ओझा गाडी लिएर घरमै पुग्छन्। बिरामीलाई अस्पताल पुर्याएको पैसा लिँदैनन्।’
गत वर्ष पनि सवारीसाधन अभावमा डोकेबजार र मोहना पुल आसपास अलपत्र परेका धेरै नेपालीलाई उनले घर लैजान सहजीकरण गरेका थिए।
सीमानाकामा अड्किएका नेपालीसँग नेपालको मोबाइल नम्बर हुन्थेन। ओझाले आफ्नै मोबाइलबाट आफन्त र सम्बन्धित पालिकामा फोन गरिदिन्थे। उनले गत वर्षको महामारीमा कृष्णपुर नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ५१ हजार रुपैयाँ जम्मा गरेका थिए।
000
ओझा नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। उनी गत स्थानीय तहको निर्वाचनमा कृष्णपुरको मेयरका उम्मेदवार थिए। पराजित हुँदा पनि ओझा निरन्तर व्यक्तिगत खर्चमा जनताको सेवामा सक्रिय छन्। उनका प्रतिपक्षीले यो सहयोगको फाइदामा आगामी मेयर जित्ने भयो भनेर जिस्काउने गरेका छन्।
‘कसले के भन्छन् खास अर्थ राख्दैन। कृष्णपुरका जनतासँग मेरो गहिरो सम्बन्ध छ। म पदका लागि भन्दा पनि समाजसेवाका लागि राजनीति गर्ने व्यक्ति हुँ,' उनी भन्छन्, ‘म सधैं जनतासँगै छु।’
स्थानीय बासिन्दा निर्वाचित नगर प्रमुखभन्दा जनताको काममा ओझा नै बढी खटिने गरेको बताउँछन्। ओझाले त्रिविबाट एमए, बीएड गरेका गरेका छन्। आफ्नै खेतीपाती तथा व्यवसाय गरिरहेका ओझा राजनीतिबाट अनावश्यक लाभ लिनु नपर्ने बताउँछन्।
000
ओझा सरकारसँग सन्तुष्ट छैनन्। जनताले जति सरकारले गरिएको भए दोस्रो चरणको कोरोनाबाट प्राताडित हुनु नपर्ने उनको बुझाइ छ। भन्छन्, ‘दलहरू सत्ताको खेलमा भुले। गैरजिम्मेवार भएको छ। अघिल्लो लकडाउनबाट सरकारले पाठ सिक्नुपर्ने थियो। जनताप्रति सरकार उत्तरदायी हुन सकेन।’
ओझा धनगढीको इम्रल्ड स्कुलका सञ्चालक पनि हुन्। उनी भन्छन्, ‘व्यक्तिगत खर्चमा सहयोग गर्दै हिँड्ने हिम्मत खेतीपाती र स्कुलको आम्दानी हो।’