बुटवल- कोभिड संक्रमितको उपचार गर्दै आएको रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालले अक्सिजनको अभावमा बिरामी भर्ना नलिने बताएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डन डा. साधन मुखीले आइतबार प्रेस विज्ञप्ति जारी गरी अक्सिजन अभावका कारण सोमबारदेखि कोरोना संक्रमित बिरामी लिन नसक्ने जानकारी दिएका हुन्। दैनिक करिब ७०० भन्दा बढी सिलिण्डरबाट मेडिकल कलेजले अक्सिजनको नियमित आपूर्ति गर्न नसकेकाले अर्को व्यवस्था नभएसम्मका लागि थप कोरोना संक्रमित बिरामी लिन नसक्ने जनाएको हो।
‘मेडिकल अक्सिजनको आपूर्ति नभएसम्मका लागि सिमित शय्या मात्रै सञ्चालनमा ल्याई सेवा सञ्चालन गरिने व्यहोरा सम्बिन्धित सबैमा सूचित गराईन्छ’ विज्ञप्तिमा भनिएको छ। रुपन्देहीका ठूूला अस्पतालमा अक्सिजनको चरम अभावले उपचार सेवा प्रभावित हुँदै आएको छ।