जनकपुरधाम- जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना संक्रमितहरुको खानाका लागि एक संस्थालाई पत्र लेखेको पत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सो पत्रमा प्रादेशिक अस्पतालले कोरोनाबाट संक्रमित बिरामीहरुका लागि खाना उपलब्ध गराइदिन मारवाडी युवा मञ्चलाई आग्रह गरेको देखिन्छ।
प्रादेशिक अस्पतालको सो पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि नागरिक संकटमा रहेको बेला संक्रमित बिरामीलाई प्रदेश २ सरकार खानासमेत खुवाउन नसक्ने अवस्थामा पुगेको भन्दै कतिपयले आलोचना गरिरहेका छन्। प्रदेश सरकारकै मातहतमा रहेको अस्पतालमा उपचाररत संक्रमितलाई खाना अभाव हुनु दुःखद रहेको भन्दै प्रदेश सरकारका साथै मातहतका मन्त्रालय सामाजिक विकास विकास मन्त्रालयको कडा आलोचना भइरहेको छ।
प्रादेशिक अस्पतालले एक जातीय संस्थालाई खानाका लागि गुहार लगाएको देखेर कतिपयले प्रदेश सरकार काम नलाग्ने अवस्थामा पुगेकाले राजिनामासमेत माग गरिरहेका छन्।
प्रादेशिक अस्पतालका साथै प्रदेश सरकारको यो विषयलाई लिएर कडा हुन थालेपछि प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट प्रमोद यादवले अस्पतालमा केही अभाव नरहेको दाबी गरेका छन्। उनले एक पत्र लेख्दै प्रादेशिक अस्पतालले खानाका लागि मारवाडी युवा मञ्चसँग माग नगरेको भई सोही संस्थाले खाना खुवाउन ईच्छा व्यक्त गरेको स्पष्ट पारेका छन्।
उनले लेखेको पत्रमा प्रदेश सरकारले बिहीबार कोरोना संक्रमणसँग लड्न तथा कोरोना संक्रमितहरुको सहज उपचारका लागि ९० लाख रुपैयाँ उपलब्ध गराएको स्पष्ट पारेका छन्।
यता मारवाडी युवा मञ्चलेसमेत प्रादेशिक अस्पतालले नभई संस्थाले नै कोरोनाका बिरामीहरुलाई खाना उपलब्ध गराउने ईच्छा व्यक्त गरेको जनाएको छ। मारवाडी युवा मञ्चका उपाध्यक्ष आशिष झुनझुनवालाले अहिले सामाजिक सञ्जालमा आएका समाचारहरु निराधार रहेको बताए। उनले भने ‘हामीहरुले नै पहल गरेपछि प्रादेशिक अस्पतालले कोरोनाका बिरामीहरुलाई खाना खुवाउनका लागि अनुमति दिएको छ।’
झुनझुनवालाका अनुसार मञ्चले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुका लागि २ समयको खानाको व्यवस्था गर्न लागेको छ। दुवै समय बिरामीहरुका लागि खानामा रोटी तथा तरकारी उपलब्ध गराइने र विस्तारै थप पौष्टिक आहार थप्दै खाना उपलब्ध गराइने झुनझुनवालाले बताए।
मुख्यमन्त्रीले मेसुसँग सोधे स्पष्टीकरण
कोभिड संक्रमितका लागि दातासँग खाना मागेको विषयमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरधामका मेसुसँग स्पष्टीकरण सोधका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवलाई आफ्नै निवासमा बोलाएर मुख्यमन्त्री राउतले स्पष्टीकरण सोधेका हुन्। मुख्यमन्त्री राउतले प्रादेशिक अस्पतालले कुन आधारमा मारवाडी युवा मञ्चसँग संक्रमितहरुको खानाका लागि सहयोग मागेको हो भन्ने विषयमा मेसु यादवसँग स्पष्टीकरण मागेका थिए।
जवाफमा मेसु यादवले मारवाडी युवा मञ्चले अस्पतालमा उपचाररत कोरोनाका बिरामी तथा कुरुवाहरुलाई खाना वितरण गर्ने भनी पत्र लेखेको र सोही आधारमा आफूले पत्र लेखेको जानकारी दिए।
अस्पतालमा बिरामीहरुको खानाको शीर्षकमा अझै १५ लाख रुपैयाँ बाँकी रहेको र आवश्यक परे थप रकमसमेत उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री राउतले बताए।