बुुटवल–कोभिड संक्रमितको उपचार गर्दै आएको रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालले अक्सिजनको अभावमा बिरामी भर्ना नलिने बताएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. साधन मुखीले आइतबार विज्ञप्ति जारी गरी अक्सिजन अभावका कारण सोमबारदेखि कोरोना संक्रमित बिरामी लिन नसक्ने बताएका हुन्। दैनिक करिब ७ सयभन्दा बढी सिलिण्डरबाट मेडिकल कलेजले अक्सिजनको नियमित आपूर्ति गर्न नसकेकाले अर्को व्यवस्था नभएसम्मका लागि थप कोरोना संक्रमित बिरामी लिन नसक्ने जनाएको हो।
‘मेडिकल अक्सिजनको आपूर्ति नभएसम्मका लागि सीमित बेडमात्रै सञ्चालनमा ल्याई सेवा सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैमा सूचित गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ। रुपन्देहीका ठूूला अस्पतालमा अक्सिजनको चरम अभावले उपचार सेवा प्रभावित हुँदै आएको छ।