जनकपुरधाम– प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रदेशमा कोरोना संक्रमणको दोस्रो लहरमा अहिलेसम्म १९ प्रहरी र ५६ जना थुनुवा कोरोना संक्रमित भएका छन्।
प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले महोत्तरी बाहेक ७ वटै जिल्लाका प्रहरी अधिकारीमा संक्रमण देखिएको जानकारी दिए। सबैभन्दा बढी बारा जिल्लामा ६ जना प्रहरी कोरोना संक्रमित भएको उनले बताए।
त्यस्तै, पर्सामा ५, सर्लाहीमा ३, सिरहामा २ र सप्तरी, धनुषा तथा रौतहटमा १–१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । संक्रमितमध्ये पर्साका एक जनाको अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ भने बाँकीको अवस्था सामान्य छ। उनीहरु सम्बन्धित कार्यालयकै आइसोलेसनमा उपचार गराइरहेका छन् ।
यस्तै, प्रदेशमा ५६ जना थुनुवामा पनि कोरोना संक्रमण देखिएको छ। सबैभन्दा बढी पर्सा प्रहरीको नियन्त्रणमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै, रौतहटका १०, धनुषाका ५ तथा महोत्तरी र सर्लाही प्रहरीको नियन्त्रणमा रहेका १–१ जना थुनुवामा संक्रमण देखिएको छ।
सप्तरी र सिरहाका थुनुवामा हालसम्म संक्रमण देखापरेको छैन। संक्रमित थुनुवाहरुलाई पनि सम्बन्धित प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ।