काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।
नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरिरहेका बेला ओलीका तर्फबाट नेता सुवास नेम्बाङ र विष्णु पौडेल नेता नेपाललाई भेट्न सिंहदरबार पुगेका थिए।
सिंहदरबारस्थित लेखा समितिको बैठकमा भएको वार्तामा कुनै ठोस सहमति भने भएको छैन। वार्तापछि बाहिरिने क्रममा नेता नेम्बाङले पार्टीभित्र देखिएको विवादलाई टुंगोमा पुर्याउने विषयमा नै छलफल भएको बताए।
‘माधव कमरेडले पनि खुलस्त आफ्नो कुरा गर्नुभयो। पार्टी एकता बलियो बनाएर लैजानुपर्छ भन्नेमा कसैको पनि विवाद छैन। देखिएका समस्या कसरी समाधान गर्ने भन्नेबारे सबैको चिन्ता छ,’उनले भने।
नेता विष्णु पौडेलले पनि छलफल भएको र पार्टी विभाजन हुनबाट रोक्न सबैको चिन्ता देखिएको बताए। विवाद टुंगोमा पुर्याउनुपर्छ भन्नेमा सबैएकमत नै रहेको उनको भनाइ छ।
वार्तामा सहभागी माधव नेपाल पक्षीय सांसद मेटमणि चौधरीले परिस्थिति हेरर आफूहरुले निर्णय लिने र त्यस विषयमा छलफल भइरहेको बताए। आजै राजीनामाका विषयमा निर्णय गर्न बसेको माधव पक्षीय स्थायी कमिटीको बैठकले कुनै नाटकीय परिवर्तन नआएमा राजीनामा दिने नै निर्णय गरेको थियो।