काठमाडौं– सरकारले कोभिड–१९ का संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा संक्रमितका उपचारमा अक्सिजन अभाव हुन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।
कार्यदलमा गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एकएक चिकित्सक छन्। कार्यदलले अस्पतालमा संmक्रमतका लागि अक्सिजन उपलब्ध गराउनेछ।
नेपालमा अहिले अक्सिजन सिलिन्डर ६ हजार २८८ रहेको र दैनिक एक हजार ४११ लिटर खपत भइरहेको जनाइएको छ। सरकारले अक्सिजन अभाव हुन नदिन चीन सरकारबाट खाली अक्सिजनका २० हजार सिलिन्डर ल्याउन थालेको छ।
सर्वसाधारणलाई कोभिड–१९ महामारीमा कुनै समस्या भए केन्द्रले तीन हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार पाण्डेका अनुसार सर्वसाधारणलाई ०१–४२७१७३०, ०१–४२८६६६० र टोलफ्री नम्बर ११४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ। रासस