काठमाडौं- नागरिक लगानी कोषले ल्याएको व्यक्तिगत पेन्सन योजनामा झण्डै २ हजार ५०० सहभागी भएका छन्। कोषले गत वर्षदेखि सुरु गरेको व्यक्तिगत पेन्सन योजनामा हालसम्म झण्डै २ हजार ५०० सहभागी भएका हुन्।
कोषका सूचना अधिकारी उद्धब सिलवालले व्यक्तिगत पेन्सन योजनामा २५ सयको हाराहारीमा सहभागीको संख्या पुगेको जानकारी दिए। ‘करिब २५ सय सहभागी पुगेका छन्’ उनले भने, ‘सहभागी हुन आउने क्रम जारी छ।’
उनका अनुसार व्यक्तिगत पेन्सन योजनामा सहभागी हुन भर्नुपर्ने फर्म (कार्ड) लिनेको संख्या उच्च छ। पछिल्लो समय कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेध आदेशका कारण कार्ड भरेर बुझाउन नसक्नेको संख्या झण्डै ५ हजार हाराहारीमा रहेको सिलवालको भनाइ छ।
‘कार्ड चाँहि लगे हाम्रो अफिसमा बुझाउन आएका छैनन्’ उनले भने, ‘अनलाइन रिक्वेष्ट पनि गरेका छैनन्।’
नागरिक लगानी कोषले गत वर्षदेखि सञ्चालनमा ल्याएको व्यक्तिगत पेन्सन योजनामा वैदेशिक रोजगारमा रहेका, नेपालमा स्वरोजगार गरिरहेका, पेशा व्यवसाय गरिरहेकाहरुले सहभागी हुन पाउँछन्। त्यसका लागि कोषले उपलब्ध गराएको कार्ड भरेर अनलाइनमार्फत् पनि रिक्वेष्ट गर्न सकिन्छ।
उक्त योजनामा सहभागी हुन कम्तीमा मासिक ५०० रुपैयाँका दरले जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। त्योभन्दा बढी १ हजार, २ हजार रुपैयाँका दरले मासिक, द्विमासिक, त्रैमासिक तथा वार्षिक स्किम अन्तर्गत निश्चित रकम जम्मा गर्न सकिन्छ।
योजनामा सहभागी हुन थालेको १५ वर्षपछि जम्मा गरिएको रकमको ब्याजसहित पेन्सन उपलब्ध गराउने योजना गत वर्ष असोजदेखि सुरु गरेको थियो। व्यक्तिगत पेन्सन योजनामा सहभागी भएपश्चात् निश्चित अवधिपछि विभिन्न स्किममा कर्जासमेत उपलब्ध गराउने नागरिक लगानी कोषले जनाएको छ।