नयाँ दिल्ली- ग्यांङस्टार छोटा राजनको मृत्यु भएको छ। कोरोना संक्रमित राजनको उपचारका क्रममा नयाँदिल्लीस्थित एम्स अस्पतालमा मृत्यु भएको हो।
तिहाडस्थित उच्च सुरक्षायुक्त जेलमा राखिएका राजनलाई कोरोना संक्रमण भएको थियो। संक्रमणलगत्तै उनलाई जेलकै अस्पतालमा उपचार गरिएको थियो। तर थप उपचारका लागि २५ अप्रिलमा उनलाई एम्स भर्ना गरिएको थियो।
२७ वर्ष फरार रहेका राजन सन् २०१५ मा इन्डोनेसियामा पक्राउ परेका थिए। यसपछि उनलाई भारत ल्याइएको थियो।
राजनविरुद्ध ६५ भन्दाबढी अपराध गरेको आरोप छन्। अवैध असुली, धम्की, कुटपीट र हत्या प्रयासलगायतका आरोप खेपेका राजनमाथि हत्याका मात्र २० भन्दा बढी घटनामा संलग्न भएको आरोप लगाइएको छ।
पत्रकार ज्योतिर्मय डेको हत्यामा दोषी पाइएपछि राजनलाई आजीवन कारवासको सजाय सुनाइएको थियो।
छोटा राजनले अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग मिलेर अपराध गर्ने गरेका थिए। दुवै मिलेर मुम्बईमा हत्या, असुलीलगायतका धन्धा चलाएका थिए। पछि सन् १९८८ मा राजन दुबई लागेका थिए। यसपछि पनि उनीहरूले अपराधलाई निरन्तरता दिएका थिए।
सन् १९९३ मा मुम्बईमा सिरियल बम ब्लास्टमा दाउदको संलग्नता रहेको आशंकामा राजनले दाउदसँगको दोस्ती अन्त्य गरी आफ्नै ग्यांङ बनाएका थिए।