सुर्खेत– कोरोना महामारीले मुलुक आक्रान्त छ। महामारी थप फैलिन नदिन देशका मुख्य क्षेत्रहरुमा निषेध आदेश जारी भएको छ। तर पनि संक्रमण रोकिएको छैन। बरु डरलाग्दो रुपले संक्रमण फैलिँदो छ।
संक्रमित दर र मृतकको संख्याले दिनदिनै नयाँ रेकर्ड कायम गर्दैछ। संक्रमणको दर हेर्दा महामारी तत्काल अन्त्य हुने संकेत देखिँदैन। यस्तो महामारीमा सबैको आशा र भरोशाका केन्द्रमा छन् स्वास्थ्यकर्मीहरु। महामारी नियन्त्रण गर्ने र संक्रमितको ज्यान बचाउने तिनै स्वास्थ्यकर्मीको हातमा छ। तर कोरोना महामारी जुध्नका लागि भने कर्णाली प्रदेशमा पर्याप्त स्वास्थ्यकर्मी छैनन्।
महामारीले अधिकांश संक्रमितलाई आईसीयू र भेन्टिलेरमा पुर्याएको छ। गम्भीर प्रकृतिका संक्रमितलाई आईसीयू र भेन्टिलेटर नभई हुँदैन। तर तिनै आईसीयू र भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति भने कर्णालीमा हाहाकार नै छ। प्रदेशभर आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न सक्ने ४ जनामात्रै प्राविधिक चिकित्सक छन्। प्राविधिक जनशक्ति अभावकै कारण प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बाहेकका भेन्टिलेटर र आईसीयू सञ्चालनमा छैनन्। प्रदेशभर ३४ बेड भेन्टिलेटर र ६२ बेड आईसीयू छन्।
‘भेन्टिलेटर र आईसीयू सञ्चाजनका लागि प्रदेशमा पर्याप्त जनशक्ति छैन,’ प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्का भन्छन्, ‘४ जना चिकित्सकले ९४ वटा आईसीयू र भेन्टिलेटर सञ्चालन गर्नसक्ने अवस्था छैन। यही कारण जिल्लाका आईसीयू र भेन्टिलेटर प्रयोगविहीन भएका हुन्।’ प्राविधिक जनशक्तिको अभावका कारण जिल्ला अस्पतालहरुमा करोडौँका आईसीयू र भेन्टिलेटर प्रयोगविहीन बनेका छन्।
त्यसो त प्राविधिक चिकित्सकमात्रै होइन, कर्णालीमा अन्य पदका स्वास्थ्यकर्मीको पनि चरम अभाव छ। प्रदेशभर ८८७ जनाको स्वास्थ्यकर्मीको दरबन्दी भए पनि २९६ जना दरबन्दी मात्रै पदपूर्ति भएको छ। तीमध्ये १६३ जना चिकित्सक दरबन्दी छ। तर २७ जना चिकित्सकको मात्रै पदपूर्ति भएको छ। पदपूर्ति भएको मध्ये पनि ७ जना अध्ययन विदामा छन्।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांकअनुसार ६७ जना चिकित्सक करारमा नियुक्त गरिएको छ। करार र पदपूर्ति गरेर प्रदेशमा हाल ९४ जना मात्रै चिकित्सक छन्। ९४ जना चिकित्सकले सिंगो कर्णालीका साढे १७ लाख नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिनुपर्ने बाध्यता छ। प्रदेशको कुल जनसंख्यालाई आधार मान्ने हो भने एक जना चिकित्सकले १८ हजार ६ सय १७ जना नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिनुपर्ने बाध्यता छ।
कुल जनसंख्याको अनुपातमा कोरोना महामारीसँग जुध्न हाल भएको चिकित्सक र स्वास्थ्यकर्मीको संख्या निकै कम हो। ‘कर्णालीमा त दरबन्दी हुँदा पनि चिकित्सकहरु आउन मान्दैनन्। यस्तो महामारीमा झन् आउने कुरै भएन,’ उनी भन्छन्, ‘एउटा चिकित्सकले १८ हजार नागरिकलाई महामारीबाट बचाउनुपर्ने बाध्यता छ।’
चिकित्सकको चरम अभाव हुँदा पनि प्रदेशले पदपूर्ति गर्न सक्ने अवस्था छैन। ‘तल्लो तहका स्वास्थ्यकर्मी नियुक्त गर्न खासै समस्या छैन, तर उच्च तहका चिकित्सकहरु पाउन गाह्रो पर्छ,’ खड्काले भने, ‘प्राविधिक र विषेशज्ञ चिकित्सक त चाहेर पनि प्रदेशले नियुक्त गर्नसक्ने अवस्था छैन।’
जनशक्ति अभावमा अक्सिजन प्लान्ट अलपत्र
कोरोना महामारी बढ्न थालेपछि कर्णाली प्रदेश सरकार तत्काल पाँच जिल्लामा अक्सिजन उत्पादन गर्न कस्सिएको छ। संक्रमितको उपचारका लागि अत्यावश्यक मानिने अक्सिजन उत्पादन गर्न हुम्ला, सल्यान, कालिकोट, रुकुम पश्चिम र डोल्पामा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन लागिएको हो। तर प्राविधिक जनशक्ति नहुँदा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन सकिएको छैन।
‘मेसिन त जिल्लामा पुर्यायौँ तर जडान गर्नका लागि प्राविधिक जनशक्ति नै पाइएको छैन,’ निर्देशक खड्काले भने, ‘प्राविधिक जनशक्ति नहुँदा प्लान्ट सञ्चालनमा ल्याउन गाह्रो भएको छ।’ हुम्ला, सल्यान, कालिकोट, रुकुम पश्चिम र डोल्पामा अक्सिजन प्लान्ट सञ्चालनमा आएको खण्डमा संक्रमितको उपचारमा ठूलो राहत हुने निर्देशनालयको अपेक्षा छ। हाल प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा मात्रै अक्सिजन उत्पादन भइरहेको छ।