काठमाडौं– नेपालमा सबैभन्दा बढी घुस मालपोत र सरकारी अस्पतालमा लिइने गरेको एक अध्ययनले देखाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले बिहीबार सार्वजनिक गरेको ‘सार्वजनिक सेवा प्रवाह सर्वेक्षण’ले यस्तो निष्कर्ष निकालेको हो । ‘मालपोत र सरकारी अस्पतालमै घुस, थप रकम तिर्न र ढिलाइबाट सेवाग्राही पीडित छन्,’ सर्वेक्षणको निष्कर्ष छ, ‘त्यसमा पनि अध्ययन गरिएका सरकारी कार्यालयमध्ये सेवाग्राहीहरू मालपोत र अस्पताल÷स्वास्थ्य केन्द्रबाट बढी पीडित थिए ।’
ट्रान्सरेन्सी इन्टरनेसनलका लागि डा. प्रकाशचन्द्र भट्टराई र विशालकुमार भण्डारीले उक्त अध्ययन गरेका हुन् । त्यसक्रममा आठ जिल्लाका १३ वटा सरकारी कार्यालयमा अध्ययन गरिएको थियो । र, ३१ सय ६८ जना उत्तरदाताको घरधुरी सर्वे गरिएको थियो ।
विद्युत्, अस्पताल र स्थानीय सरकारी कार्यालयबाट सबैभन्दा बढी सेवा लिने गरेको सर्वेक्षणमा पाइएको छ । सरकारी स्वास्थ्य बीमामा आवद्ध सेवाग्राहीले अस्पतालबाट राम्रो सेवा नपाएको अध्ययनबाट खुलेको छ ।
‘मालपोतको सेवा लिन जाँदा विभिन्न बहानामा थप रकम तिर्न बाध्य पारिएको र प्रविधिको प्रयोगपछि पनि त्यसैलाई आधार बनाएर थप रकम असुल गर्ने गरेको देखिन्छ,’ सर्वेक्षणको निष्कर्षमा उल्लेख छ । मालपोत कार्यालयको सेवा प्रवाह अहिले पनि असजिलो, कर्मचारीबाट हुने ढिलासुस्ती सेवा प्रवाहका क्रममा समस्याका रूपमा रहेको पनि अध्ययनले औंल्याएको छ ।
जिल्ला तहमा महत्वपूर्ण उजुरी सुनुवाइ गर्ने संयन्त्र नहुँदा सेवाग्राही उजुरी गरिहाल्न आतुर नदेखिएको सर्वेक्षणको निष्कर्ष छ । ‘यसो हुनुको पछाडि उजुरी सुनुवाइ नहुनु नै मुख्य कारण हो,’ सर्वेको निष्कर्ष छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४