काठमाडाैं- मानिस लक्ष्य प्राप्ति गर्दा खुसी हुन्छ। केही मानिस खुसीमा हाँस्छन्। खुसी सधैं आउने होइन। त्यसैले कतिपय मानिस सन्तुष्टिमा हाँस्छन्। प्रेमीप्रेमिकाका हाँसोको त बयान गरिसाध्ये छैन। दुवैका लागि हाँसो शक्ति हो, आँट हो र ऊर्जा हो। त्यसैले महाकवि देवकोटाले मुनामदन खण्डकाव्यमा भनेका छन्– तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन।
यति बेला हामी कोरोना महामारीको सन्त्रासमा छौं। बाँच्नका लागि संघर्ष गरिरहेका छौं। महामारीले गाँजेको एक वर्षभन्दा बढी भइसकेको छ। सामाजिक सञ्जालमा देखिएको मृतकका तस्बिर र आफन्तको रुवाबासीले जोकोहीको मन छुन्छ। अस्पतालका बेडमा छटपटिएको ज्यान गुमाइरहेका दृश्य देखेर हाँस्य कलाकार पनि एक प्रकारको मानसिक पीडामा छन् यति बेला।
तर क्यालेन्डर पल्टाउनैपर्छ। आजको क्यालेन्डर अर्थात् मे ६ तारिख विश्व हाँसो दिवस हो। यस्तो सन्त्रासमा हास्य कलाकारले हाँस्न या हँसाउन सक्लान्?
हाँस्यकलाकार शैलेन्द्र सिम्खडा भन्छन्, ‘यो मितिलाई विश्व हासो दिवसका रूपमा स्वीकारे पनि कर्म अहिले स्वीकार्न सकिन्न।’
हाँस्यव्यंग्य विधामा कलम चलाउँदै आएका सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे यतिखेर हाँसोको झन् आवश्यक परेको देख्छन्। यस्तो परिस्थितिमा हँसाउँदा उल्टो अर्थ लाग्ने हो कि भन्ने पनि दुविधा छ उनलाई। भन्छन्, ‘हँसाउँदा व्यंग्य गरेजस्तो हुन्छ! दुःखमा दुःख थपेजस्तो हुने हो कि? बेमौसमको बादलजस्तो हुने हो कि?’
मानिस कसरी महामारीबाट उन्मुक्ति हुने सोचिरहेका छन्। संक्रमित कसरी छिटो निको हुने चिन्तामा छन्। रोगसँग मात्र होइन, भोकसँग जुध्ने पनि धेरै छन्। गाम्नागे भन्छन्, ‘मानिसलाई भेन्टिलेटर, अक्सिजन, बेड, डाक्टर, अस्पताल, खाना चाहिएको छ। यस परिस्थितिमा हाँस्ने कुरा गर्दा समसामयिक हुन सक्दैन।’
अहिले आलो घाउमा हँसाएर पीडित परिवारलाई राहत नमिल्ने उनको भनाइ छ। भन्छन्, ‘जनजीवन सहज भएपछि मात्रै हाँस्यव्यंग्य प्रभावकारी हुन्छ।’ मुस्कुराएर पनि सन्त्रासमा केही राहत महसुुस गर्न सकिने बताउँछन् गाम्नागे।
हाँस्य कलाकारका लागि वैशाखमा कार्यक्रम भ्याइनभ्याइ हुन्थ्यो। अघिल्लो लकडाउनपछि कोरोना कहर बिर्सिसकेका सुबोध गौतम वैशाख १४ गते वीरगन्जमा थिए। त्यहाँ एक कार्यक्रममा हँसाइरहेका उनी सोही साँझ बुटवल जानु थियो। तर सरकारले देशव्यापी निषेध आदेश लगाउने समाचार बाहिरिएपछि बुटवलमा हुने कार्यक्रमका आयोजकले कार्यक्रम हुन नसक्ने जानकारी गराए। उनी त्यही साँझ काठमाडौं फर्किए। त्यसपछि हँसाउनेको पनि हाँसो हराउने गरी कोरोना फर्किएको बताउँछन उनी। गौतम भन्छन्, ‘मे ६ तारिख विश्व हाँसो दिवस भन्ने नै याद छैन। हँसाउने अवस्था पनि रहेन।’
हाँस्यकलाकार दमन रुपाखेती भने उच्च मनोबल बनाइरख्न पनि हाँस्नु–हँसाउनुपर्ने बताउँछन्। कोरोना संक्रमितका आफन्तलाई हँसाउन सके उनीहरूको मनोबल नघट्ने उनको भनाइ छ। भन्छन्, ‘बिरामी कुरुवाको मनोबल घट्न नदिन पनि हाँस्नु हँसाउनुपर्छ।’ उनी हाँस्नहँसाउन सके रोगलाई जित्न सक्ने मनोबल सिर्जना हुन सक्ने बताउँछन्।
वैशाख १५ गते ‘मेरीबास्सै’ को अन्तिम सुटिङ सकेका रुपाखेती निषेध आदेशपछि घरपरिवारमै सीमित छन्। मेरी बास्सैको दुई भाग स्टक राखेका रुपाखेती भन्छन्, ‘भर्चुअल माध्यमबाट हँसाउन सके पनि बिरामी कुरुवाको आत्मबल बढाउन सकिन्छ।’
रुपाखेतीजस्तै जितु नेपाल ‘मुन्द्रे’ पनि हाँसो खोज्नुपर्ने अवस्था देख्छन्। आफैंलाई हँसाउनुपर्ने अवस्था रहेको देख्छन् उनी। उनी भन्छन्, ‘सकारात्मक सोचेर हाँस्न सके शारीरिक तथा मानसिक स्वस्थ्य राम्रो हुन्छ। सकारात्मक सोचेर ससानो कुरामा रमाउन सक्नुपर्छ। नकारात्मक लिनु भएन। निराश हुनु भएन।’
यस्तो कोरोना कहरको बेला सकारात्मक हाँसोले समग्र परिवारलाई नै स्वस्थ्य राख्न सक्ने बताउँछन्। मुन्द्रेको कमेडीको दुई भाग निषेध आदेशअगाडि नै सुटिङ सकेका नेपाल भन्छन्, ‘हाँसो दिवसमा मात्रै हाँस्ने हसाउने भन्ने हुँदैन। समाजको चित्रण हास्यव्यंग्यमार्फत ल्याउँदा हाँसो फुर्ने हो।’
कोरोना जोखिम न्यूनीकरणका लागि लगाइएको निषेध आदेश पालन गर्दै भर्चुअल माध्यमबाट हास्यव्यंग्य गर्न सकिने बताउँछन् लक्ष्मण गाम्नागे।
संवेदनशील अवस्थामा बिना मोटिभेसनल कमेडीको सान्दर्भिकता नरहेको बताउँछन् हास्यकलाकार मनोज गजुरेल। उनी भन्छन्, ‘समय संवेदनशील छ। कमेडियनहरु पनि स्वयम् सुरक्षित रहनुपर्ने भएकाले स्वयम्मा हाँसो खोज्नुपर्ने देख्छु म।’
जहाँ जो जस्तो अवस्थामा भए पनि स्वयम् आत्माबाट हाँस्नुपर्ने परिस्थिति रहेको देख्छन् हाँस्यकलाकार शैलेन्द्र सिम्खडा। मानवजाति अहिले प्रकृतिअनुसार चल्नुपर्ने देख्छन् उनी। कसैले हसाएर हाँस्नुभन्दा पनि स्वयम् आत्मैदेखि हाँस्नसके आत्मबल बढ्ने देख्छन् सिम्खडा। यही वैशाख १५ गते उनी झापा जिल्लाको कारागारमा भएको कार्यक्रममा थिए। उनले त्यहाँ कोरोना कहरमा कसरी भ्रष्टाचार गरियो भन्ने विषयमाथि व्यंग्य गरेको बताउँछन्। भन्छन्, ‘महामारीबाट पीडितलाई बचाउनुको साटो महामारीको मौका छोपेर भ्रष्टाचार गर्नेलाई हाँस्यव्यंग्य गरियो।’
संकटमा हाँस्न र हँसाउनभन्दा पनि बच्न र बचाउन लाग्नुपर्नेछ। त्यसैले भीडभाड नबनाई हँसाउन सकिने उनको भनाइ छ। उनै सिम्खडाको हाँस्यव्यंग्य कविताका केही अंश :
भूकम्पले कसैको घर ठडाइदियो।
कोरोनाले कसैको घडेरी जोडिदियो।
दक्षिणको आँधीले ढाल्न खोज्दा
उत्तरको खाँबोले अडाइदियो।
राजनीतिक खिचिडी भयो।
सदनमा खैंचडी बज्यो।
लेनिन र लिङ्कनले छुट्याउन नसक्ने व्यवस्था छ।
अहिले हाम्रो देशमा आफ्नो सुरक्षा आफैंले गर्नुपर्छ।
सुरक्षा, सुन बोक्न र सलाम ठोक्न मस्त छ
रक्षा ठेक्कापट्टा र ढुवानीमा व्यस्त छ।
चोली च्यातेर चेलीको लास उखुबारीमा फालिन्छ।
घरघरमा बुहारी मारिन्छ।
किल्लाकिल्लामा सिमाना सारिन्छ।
अदालतबाट निर्णय गरेर अपराधी छाडिन्छ।
कहाँ छ हाम्रो सुरक्षा?
हाम्रो सुरक्षा, लाठी, टियर ग्यास र बन्दुक
वर्षाउने तर्साउन र अत्याउने।
पूर्वप्रधानमन्त्रीको निवेदन दर्ता नहुने देशमा
सुरक्षा छ भनेर कसरी पत्याउने ?