काठमाडौं- रंगमञ्चका दर्शकले बिर्सिन लागिरहेका बेला विपिन कार्की टुप्लुक्क देखिए। चार वर्षपछि नाटक अभिनयमा आउँदा फलिफाप हाेला भन्ने उनले सोचेका पनि थिएनन्, जब उनको अभिनयमा दर्शकले तारिफ गरे त्यसपछि विपिन थप उत्साहित भएका छन्।
चार वर्षअघि शिल्पी थिएटरमा ‘हरियो ढुंगा’ अभिनय गरेका कार्कीले त्यसयता फिल्ममा व्यस्त थिए। उतिबेला उपेन्द्र सुब्बाको 'लाटो पहाड'मा समावेश कथामा आधारित नाटकमा विपिनले गरेको ‘निचुले कान्छा’ को चरित्रलाई धेरैले रुचाएका थिए।
पछिल्लो समयमा नाटक खेल्न पाए हुन्थ्यो भन्ने मनस्थिति नबनाएका पनि होइनन् कार्कीले। तर फिल्ममा व्यस्त भएको बहाना बनाउँथे। उनी भन्छन्, ‘लकडाउनका बेला नाटक नगर्ने बहाना पाइनँ।’ नाटक खेल्ने इच्छा यो महामारीमा मूर्तरूप दिन सकिने अवस्था थिएन। यस्तैमा चुनौती मोले उनले।
प्रख्यात फ्रान्सेली लेखक/नाटककार जाँ पाल सात्र उनलाई खुबै मन पर्ने नाटककार हुन् भने निर्देशक घिमिरे युवराजको अनुरोध नकार्न सकेनन्। भन्छन्, ‘अहिले पनि नाटक होला भन्ने निश्चित थिएन। तर नाटकको तयारी पनि एउटा उपलब्धि हो भन्ने लागेर जोडिएँ।’ उनले अघिल्लो वर्ष नारायण वाग्ले लिखित उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित नाटकको कैयौं दिन रिहर्सल गरेका थिए। तर विविध कारणले प्रदर्शनमा आएन। यसपालि पनि उनलाई यस्तै डर नभएको होइन। किनकि डर देखाउने त कोभिड १९ थियो। तैपनि उनले आफ्नो तर्फबाट जमर्काे गर्न छोडेनन्।
नेपाली सिनेमा क्षेत्रका व्यस्त कलाकार हुन विपिन। उनलाई कैयौं फिल्म निर्देशक समय कुरेर बसिरहेका हुन्थे। त्यति नै मात्रामा उनलाई रंगकर्मीका निर्देशक पनि पछ्याइरहेका हुन्थे।
नेपाली सिनेमा क्षेत्रका व्यस्त कलाकार हुन विपिन। उनलाई कैयौं फिल्म निर्देशक समय कुरेर बसिरहेका हुन्थे। त्यति नै मात्रामा उनलाई रंगकर्मीका निर्देशक पनि पछ्याइरहेका हुन्थे। काम गर्ने चाहना हुँदाहुँदा पनि समय नमिलेको बताउँछन् विपिन। भन्छन्, ‘काम गर्न पनि जुर्नुपर्ने रहेछ।’
नयाँ काम बन्न समय लाग्ने बताउँछन् उनी। उसो त विपिन सधैं नयाँ काम गर्न रुचाउने कलाकार हुन्। आफ्नो चरित्रमा केही न केही नयाँपन खोज्छन् उनी। भन्छन्, ‘म चरित्रमा नयाँपन खोज्छु, जो यादगार बन्न सकोस्।’
छड्के, पशुपति प्रसाद, प्रसाद, जात्रा, जात्रैजात्रा, जस्ता हिट चलचित्र दिन सफल विपिन लकडाउन अगाडि नै चार चलचित्रमा अनुबन्धित भएका थिए। ‘सम्झौता’ गरेर छायांकनमा जाने भनेको चलचित्र कोभिड १९ न्यूनीकरणका लागि लागेको लकडाउनले रोकियो।
जनजीवन सामान्य भए पनि सिनेमा छायांकनमा जाने वातावरण छैन। सिनेमा क्षेत्रजस्तै रंगमञ्च क्षेत्र पनि कोरोना प्रताडित छ। बन्दाबन्दीले दुवै क्षेत्रलाई गहिरो प्रभाव पारेका कारण कलाकार निष्क्रियजस्तै छन्। यस्तो परिस्थितिमा केही न केही गर्ने सोच कसलाई पो नहोला र! विपिन भन्छन्, ‘सिनेमा ठप्प भएको लामो समयपछि दर्शकलाई खुसी बनाउने अवसर पाएँ यो नाटक खेलेर। माया र विश्वास गर्ने दर्शक फ्यानलाई मैले चित्त राख्न पाउँदा अलिकति प्रेसर कम भएको महसुस भएको छ।’
दुई सय सिटको नाटकघरमा बाक्लै बसेर नाटक हेर्ने परिस्थिति अझै बनेको छैन। रंगकर्मीले डिजिटल थिएटरमा कन्भर्ट गर्न चाहेका छन्। ‘डिजिटल थिएटर दर्शकसम्म पुग्ने माध्यम बनेको छ’, भन्छन्, ‘थिएटर मुर्झाएको छैन।’
भर्चुअल नाटक प्रदर्शन रंगमञ्च जोगाउने माध्यम पनि हो। चलचित्रमा देखिँदै आएका विपिन भर्चुअल माध्यमबाट नाटकका दर्शकसम्म पुग्नुलाई उपलब्धि ठान्छन्। भन्छन्, ‘ फिल्ममा व्यस्त भए पनि नाटक छोडेको छैन, नाटकलाई म माया गर्छु।’
०००
अँध्यारो पृष्ठभूमिमा संगीतको तरंगसँगै जब बत्तीको उज्यालो आउँछ सिँढीबाट दुई भिन्न पहिरनका मानिस झर्छन्। मुडुलो टाउको, लामो जुँगा र कोट लगाएको व्यक्ति भुइँसँग भयभीत हुन्छ। जता टेके पनि भयले उसलाई सताउँछ। टेकेको भुइँसँग जोगिन खोज्छ। भित्तामा भएका अमूर्त चित्रले ऊ आत्तिन्छ। अमूर्त चित्रहरुको बीचमा एक स्त्री–मूर्ति पिठ्यूँ देखाएर दुवै हात माथि खापेर टुक्रुक्क बसेको देख्छ। आश्चर्यसँग आफूलाई ल्याउने दूत (मनाङ लावती) सँग भन्छ, ‘यो ठाउँ यस्तो होला भन्ने मलाई थाहा थिएन...। खै खै यातना दिने कराई आगो तातो तेल.. केही पनि त देख्दिनँ।’
पृथ्वीलोकभन्दा भिन्न लागेको दुनियाँ स्वर्ग/नर्क जाने ट्रान्जिटमा १२ वटा गोली छातीमा थापेर मृत्युवरण गरेको ख्याउटे मानिस भर्खर पुगेको थियो। जसको नाम क्रान्तिकारी ‘आजाद’ हो।
तिनै आजादको भूमिका निर्वाह गरेका छन् कलाकार कार्कीले ‘अनुपस्थित तीन’ शीर्षकको नाटकमा। शिल्पीको गोठाले नाटकघरमा १८ गतेदेखि मञ्चित नाटकलाई अवतार पाठकले अनुवाद गरेका हुन्। नाटक निर्देशन र परिकल्पना घिमिरे युवराजको छ।
०००
आजाद सामन्त चरित्रविरुद्ध प्रस्तुत हुने कवि लेखक हो। उसको चरित्र लेखकभन्दा बढी स्त्रीलम्पट देखिन्छ। जो श्रीमतीमाथि मानसिक यातना दिन चुक्दैन। यस्तो पुरुष जसको मृत्युपछिको यात्रामा फरक चरित्र भएका दुई व्यक्ति भेटिन्छन्। इच्छा (उषा रजक) जो सम्पत्तिका लागि आफूभन्दा पाको उमेरको पुरुषसँग विवाह गर्ने महिला हो। र अभिलाषा (पवित्रा खड्का) जो समलिंगी हो। फरक लिंगका यी तीन पात्र जसको जीवन त सकिएको छ तर त्यसपछिको यात्रा अनिश्चित छ।
मृत्यु भइसकेका तीन शवले एकअर्काको परिचयसँगै आफ्नो मृत्युअघिको जीवनलाई असल र समाजप्रति इमानदारपूर्वक बाँचेको देखाउन चाहन्छन्। तर ती सबै झुट हुन्छन्। आजाद, इच्छा र अभिलाषा मृत्युपछि पनि आफूलाई ठूलो बनाउन प्रयासरत छन्।
जीवन त समाप्त भइसक्यो तर भ्रम अझै सकिएको छैन। मृत्युको अनन्त यात्रामा हिँडिरहँदा पनि आफूले पृथ्वीमा बाँचेको जीवनशैलीमाथि ठूलो घमण्ड छ र झिनो आशा लिएर आफ्नो अस्तित्व बचाइराख्न खोज्छन्।
पृथ्वीमा हरेक मानिस अस्तित्वको खोजीमा भागदौड गरिरहेको छ। मानिसको झैं मृत आत्माको अस्तित्व हुन्छ। तर नाटक ‘अनुपस्थित तीन’ मा तीन पात्रले आफ्नो उपस्थिति खोजिरहेका छन्।
पृथ्वीमा हरेक मानिस अस्तित्वको खोजीमा भागदौड गरिरहेको छ। मानिसको झैं मृत आत्माको अस्तित्व हुन्छ। तर नाटक ‘अनुपस्थित तीन’ मा तीन पात्रले आफ्नो उपस्थिति खोजिरहेका छन्। विपिन भन्छन्, ‘मृत्युपछि पनि आफूलाई नै माथि राखेर कुरा गरिरहेको छु।’
वास्तविक जीवनमा अरूलाई ढाँटे पनि आफैंलाई राम्ररी थाहा हुन्छ। त्यही सत्य आत्मा हो। जसको असन्तुष्टि भड्किएको छ। विपिन भन्छन्, ‘हामीले गरेका गल्तीले सताइरहन्छन् जति नै ढाकछोप गरे पनि।’
मृत्युको ट्रान्जिट पोइन्टमा भेटिएकी सुन्दरी इच्छा समलिंगी अभिलाषालाई मन पर्छ। तर महिलालाई सन्तुष्ट पार्न सक्ने पुरुषत्व अभिलाषामा नभएको थाहा छ इच्छालाई। त्यसैले अभिलाषाको प्रेमलाई इच्छाले नकार्दै आजादको पुरुषत्वसँग नजिकिन्छे। अभिलाषालाई असह्य हुन्छ र आजादलाई व्यभिचारी र काँतर पुरुषको संज्ञा दिन्छे। इच्छा सन्तुष्ट पार्न सक्ने हिम्मत देखाउन कुनै कसर नछोड्ने आजाद श्रीमतीका कारण काँतर छ। उसको मानसिकतामा उसकी श्रीमतीले बारम्बार मानसिक यातना दिइरहेकी हुन्छे। विपिन भन्छन्, ‘क्रान्तिकारी भए पनि मैले गरेको पाप त छ। मेरो श्रीमतीलाई मैले दुःख दिएको छु। मृत्युपछि पनि घोचिरहेकै छे।
हरेक मानिससँग फरक–फरक चरित्र हुन्छ। आजाद त्यस्तै चरित्र हो। ऊ क्रान्तिकारी छ। कायर हुँदाहुँदा पनि ऊ विलासी र स्त्रीलम्पट छ। स्त्रीका लागि ऊ प्रेमिल भइदिन्छ। तैपनि उसले आफूभित्रको पुरुषत्वलाई बचाइराख्न अनेक झुटका पुलिन्दा बाँधिरहन्छ। तर कुनै पुरुषको पुरुषत्व त्यतिन्जेल सत्य छ जबसम्म महिला छ। विपिन भन्छन्, ‘महिला विनाको पुरुषत्व छैन। पुरुष हुन महिला चाहिन्छ।’