डा. गुणराज अवस्थी सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक हुन्। सोही क्षेत्रका बासिन्दा र लामो समयदेखि सुदूरको स्वास्थ्य क्षेत्रको कमान्ड सम्हालेकै कारण उनलाई त्यहाँको स्वास्थ्य अवस्थाबारे थुप्रै जानकारी छ। सुदूरपश्चिम प्रदेश यति बेला कोरोना संक्रमणको दोस्रो लहरबाट अत्यन्तै पीडित छ। सुदूरपश्चिममा कोरोना नियन्त्रणका लागि भइरहेका प्रयास र तीनै तहका सरकारले गरिरहेको सहयोगबारे केन्द्रित रहेर डा. अवस्थीसँग नेपाल समयका लागि यज्ञराज जोशीले गरेको कुराकानीको सम्पादित अंशः
सुदूरपश्चिममा कोरोना महामारी भयावह बनिरहँदा स्वास्थ्य निर्देशनालयले के गरिरहेको छ?
सुदूरपश्चिमको अवस्था एकदमै नाजुक छ। दैनिक संक्रमित संख्या बढ्दो छ। बिरामीलाई अस्पतालमा राखेर उपचार गर्ने ठाउँ छैन। निर्देशनालयको फेसबुक पेजमार्फत हामीले दैनिक गतिविधि अपडेट गरिरहेका हुन्छौं। जसले जनतालाई सजग हुन प्रेरित गरिरहेको छ। प्रदेशभर स्वास्थ्यकर्मीको अभाव छ। विज्ञापन गरेर स्वास्थ्यकर्मी भर्ना गर्ने काम भइरहेको छ। हामीले महामारी नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छौं।
स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ? तपाईंहरुले कस्तो सहयोग पाइरहनुभएको छ?
हामीले सबै पालिकासँग समन्वय गरिरहेका छौं। सबैले एकदमै राम्रो सहयोग गरिरहनुभएको छ। तर पनि अवस्था नियन्त्रणबाहिर छ। संक्रमितको संख्या निकै बढिरहेको छ। क्षमताले भ्याएसम्मको व्यवस्था सबैले गरिरहेका छन्।आइसोलेसनमा राख्ने, अक्सिजन दिनेलगायत काम भइरहेका छन्। दक्ष जनशक्ति अभावले उपचारमा निकै समस्या भइरहेको छ। पहिलो महामारीपछि निर्माण भएका केही संरचनाले थारै भए पनि सहयोग पुगेको छ। तर, सञ्चालन गर्ने जनशक्ति अभाव छ।
जनशक्ति र ठाउँ अभाव भइरहेको छ। माग र आपूर्तिको खाडललाई कसरी कम गर्ने भन्नेमा हामी प्रयासरत छौं। होल्डिङ सेन्टर बनाउने काम भइरहेका छन्।
स्थानीय तह, प्रदेश र केन्द्रसँग हाम्रो समन्वय एकदमै राम्रो छ। यति हुँदा पनि जनशक्ति र ठाउँ अभाव भइरहेको छ। माग र आपूर्तिको खाडललाई कसरी कम गर्ने भन्नेमा हामी प्रयासरत छौं। होल्डिङ सेन्टर बनाउने काम भइरहेका छन्। यसमा सबै पालिका सक्रिय देखिन्छन्।
स्वास्थ्यकर्मीको व्यवस्थापन कसरी भइरहेको छ?
स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न निकै गाह्रो छ। थुप्रै अस्पतालमा १०, १५, २० स्वास्थ्यकर्मी संक्रमित भएका छन्। उहाँहरूको ठाउँमा रिप्लेस गर्नका लागि प्रदेश सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएका छौं। विभिन्न अस्पतालमा विज्ञापन आह्वान गरेका छौं। कुन र कति जनशक्ति उपलब्ध हुन्छ थाहा छैन। पारामेडिसिन, स्टाफ नर्स उपलब्ध हुन सक्छन्। माथिल्लो जनशक्ति पाउन भने निकै गाह्रो छ।
अक्सिजन नपाएर बिरामीले ज्यान गुमाउनुपरिरहेको भन्ने आइरहेको छ नि?
हो, अक्सिजन नपाएर बिरामीले ज्यान गुमाइरहेका छन्। देशभर मात्र होइन, भारतमा समेत अक्सिजन हाहाकार छ। त्यसैले त्यहाँबाट नेपाल आउने अवस्था छैन। नियमित शल्यक्रिया गर्न अक्सिजन पुगिरहेको अवस्थामा यति धेरै संक्रमित बढ्दा अवस्था भयावह बनेको हो। यसलाई कसरी पूर्ति गर्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ।
सुदूरपश्चिममा दोस्रो लहर कसरी भयावह बन्यो?
सुदूरपश्चिम भारतसँग सिमाना जोडिएको क्षेत्र हो। भारतबाट थुप्रै नेपाली स्वदेश फर्किए। उनीहरूसँग कोरोना भाइरस पनि नेपाल भित्रियो। र, सुदूरपश्चिममा अवस्था भयावह बन्यो। भारतबाट दिनहुँ हजारौं मानिस नेपाल भित्रिरहेका छन्। उहाँहरूको एन्टिजेन्ट र पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिन्छ। एक ठाउँबाट अर्को ठाउँमा जाँदा गाडी प्रयोग गर्ने देखिएको छ। जसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा संक्रमण फैलिरहेको छ।
महामारी नियन्त्रणका लागि हामीले पहिलो संक्रमणबाट केही पाठ सिकेनौं?
हामीले पहिलो महामारीबाट केही पाठ सिकेकैले दोस्रो महामारी नियन्त्रणमा केही सहज भइरहेको छ। जस्तो ५० शय्याको सेती, ५० शय्याको महाकालीमा कोरोना अस्पताल निर्माण गरियो। फेरि सेतीमा ५० शय्याको कोरोना अस्पताल बन्दै छ। भेन्टिलेटर, कार्डिमोनिटरदेखि आवश्यक उपकरण पनि थपिएको थियो। तर, अहिले एकै पटक धेरै मानिस संक्रमित हुँदा यस्तो अवस्था आएको हो।
अहिले आउने संक्रमित गम्भीर प्रकृतिका छन्। मृत्युदर बढ्दो छ। यो एकदमै चिन्ताको विषय बनेको छ। यसलाई कसरी नियन्त्रण गर्ने हामी सबै लागिरहेका छौं। सीमा नाकामा कोरोना परीक्षण गर्दा एकदमै धेरै संक्रमित देखिन थालेका छन्। उनीहरूलाई कहाँ राख्ने भन्ने चुनौती थपिएको छ।
दिनकै भारतबाट हजारभन्दा बढीको संख्यामा नेपाली आउन थालेका छन्। अझै होल्डिङ सेन्टर बनाउन आवश्यक छ।
धनगढी उपमहानगरपालिकाले एउटा होल्डिङ सेन्टरको व्यवस्था गरेको छ। महाकालीमा पनि होल्डिङ सेन्टरको व्यवस्था गरेको छ। त्यहाँ डेढ सय जना अटाउँछन्। दिनकै भारतबाट हजारभन्दा बढीको संख्यामा नेपाली आउन थालेका छन्। अझै होल्डिङ सेन्टर बनाउन आवश्यक छ। गेटा मेडिकल कलेजको निर्माणाधीन भवनलाई पनि संक्रमितको उपचारका लागि तयार गर्ने कुरा भएको छ। त्यसपछि अलि राहत पुग्ने विश्वास लिएका छौं।
स्वास्थ्य क्षेत्रमा हामी कहाँ–कहाँ चुक्यौं जस्तो लाग्छ?
हामी नेपालको नयाँ संविधानमै चुकेका छौं। स्वास्थ्य क्षेत्रलाई तीन तहमा बाँड्नु नै गलत थियो। पूरै कमान्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो हातमा लिनुपर्छ। आवश्यक परेका बेला देशभर नै कर्मचारी पठाउनुपर्छ। तीन तहमा बाँडिसकेपछि समन्वय गर्न गाह्रो भइरहेको छ। तर, पनि हामी व्यक्ति प्रयासबाट होस्, स्वास्थ्य मन्त्रालय, विभागमा व्यक्तिगत फोन गरेर पनि सहयोगको मैले अपिल गरिरहेको छु। मेरो समकालीन साथीहरू धेरै ठाउँमा भएकाले उहाँहरूले सक्दो सहयोग गरिराख्नुभएको छ। तीन तहमा स्वास्थ्य बाडिँदा महामारी नियन्त्रणमा समस्या भइरहेको छ। स्वास्थ्यलाई वान डोर कमान्डमा राख्नुपर्छ। यसलाई चाँडो नीतिगत निर्णयमा राख्नु आवश्यक छ।
स्वास्थ्यकर्मीले भोगिरहेका समस्या के के छन्?
भेन्टिलेटर बिग्रिरहेको छ। मर्मत गर्न सहयोग गर्नुपर्यो। पीपीई सकियो, जनशक्ति अभाव भयो लगायतका थुप्रै समस्या सुनाएर उहाँहरूले फोन गरिराख्नुभएको हुन्छ। महाकालीमा कम भए सेतीबाट पठाउने सेतीमा कम भए महाकालीबाट पठाउने लगायत आन्तरिक व्यवस्थापन गरिरहेका छौं।
सरकारलाई के सुझाव दिन चाहनुहुन्छ?
सरकारले नीति गत निर्णय गरेर तीनै तहको स्वास्थ्यलाई स्वास्थ्य मन्त्रालयअन्तर्गत राख्नुपर्छ। जनशक्तिदेखि सामग्री थप्नेसम्मको काम केन्द्र सरकारले नै गर्नुपर्छ। भोलि अरू महामारी पनि आउन सक्लान् त्यो बेला पनि अहिलेको जस्तै समन्वय अभाव हुने हो। त्यसैले द्रूत गतिमा काम गर्न स्वास्थ्य एकद्वार प्रणाली हुनुपर्छ।
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने, संक्रमितको उपचार गर्दा बिरामी भए विशेष उपचार गर्ने, ज्यानै गए परिवारका एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्ने लगायत काम सरकारले गर्नुपर्छ।
अर्को कुरा स्वास्थ्यकर्मीले ग्रास रुटमा काम गरिरहनुभएको छ। उहाँहरूको मनोबल बढाउनुपर्छ। कोरोना संक्रमितको उपचारमा खटिएका कति स्वास्थ्यकर्मीले सरकारले तोकेको भत्ता नै पाएनन्। यसले उनीहरूको मनोबल एकदमै गिरेको छ। तर पनि सुदूरपश्चिमका स्वास्थ्यकर्मीहरू अनवरत सेवामा खटिरहेका छन्। मैले ग्रास रुटबाट आएका साथीहरूका समस्या माथिसम्म पुर्याउने गरेको छु। सरकारलाई उनीहरूका समस्या समाधानका लागि आग्रह गरिरहेको हुन्छु। त्यसका साथै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने, संक्रमितको उपचार गर्दा बिरामी भए विशेष उपचार गर्ने, ज्यानै गए परिवारका एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्ने लगायत काम सरकारले गर्नुपर्छ। यसो गरे स्वास्थ्यकर्मीको मनोबल बढ्नेछ।