शनिबार, मंसिर १३, २०८२

‘नहर सफा भयो, माछासँगै आए माझीदाइ पनि!’

‘यो प्लाष्टिक नदीको फोटो पोखराको ड्यामसाइटमा लिइएको हो, हुन सक्छ यो फोहोर हाम्रो होइन तर धर्ती त हाम्रो हो नि !’
 |  बुधबार, वैशाख २२, २०७८

विभु भुसाल

विभु भुसाल

बुधबार, वैशाख २२, २०७८

पोखरा - पोखरेली युवा तथा सरसफाइ अभियन्ता रिजन रिजालले फेसबुकमा एउटा फोटो अपलोड गरे। र, लेखे- नहर सफा भयो, माछा आए अनि सँगै माझीदाइ पनि। 

National life

त्यसअघि उनै रिजनले पोखराका युवा सञ्चारकर्मी आशिष पुरीलाई ट्याग गर्दै दुईवटा फोटो राख्दै पोष्ट लेखेका थिए- यो प्लाष्टिकको नदीको फोटो पोखराको ड्यामसाइटमा लिइएको हो, हुन सक्छ यो फोहोर हाम्रो होइन तर धर्ती त हाम्रो हो नि ! अरूलाई आरोप नलगाउँ र अरूको आशा पनि नगरौं, हामीले सक्छौं, आउनुहोस् सफा गरौं।’

लगत्तै पुरीले ‘पोखराको खराब पक्ष, आउनुुहोस् सफा गरौं, भोलि बिहान साढे ६ बजे ड्यामसाइडमा भेटौं’ भन्दै ती तस्बिरलाई आफ्नो टाइमलाइनमा राखे। साथै आफू जोडिएका म्यासेन्जर ग्रुपहरूमा पनि ती तस्बिर शेयर गरे। केहीछिनमै ती तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बने। 

फेवातालको पानी निकास हुने नहरको फोहोर सफा गर्न सामाजिक सञ्जालमा आह्वान गरियो। भोलिपल्टै पोखराको ड्यामसाइडमा फोहोर सफा गर्न युवा भेला भए। बिहानभर उनीहरूले प्लाष्टिकका थैलाहरूमा त्यो फोहोर उठाएर पोखरा महानगरपालिकाको जिम्मा लगाइदिए। 

Laxmi sunrise bank
kumari

‘हामीले त्यो फोटो फेसबुकमा राखेर महानगरपालिकालाई गाली गरेको भए यो सम्भव हुँदैनथ्यो सायद,’ आशिष भन्छन्, ‘गरे सकिन्छ अनि गर्न पनि सकिन्छ भन्ने आत्मविश्वासका साथ आह्वान गरेका थियौंं, सफल पनि भइयो।’ 

स्थानीय ड्यामसाइड क्लबसँग सहकार्य गरेर फोहोर सफा गरिएको हो। आशिष र रिजनको आह्वानमा करिब ५० युवा स्वयंसेवी रूपमा नहर सफा गर्न भेला भएका थिए। 

करिब २०० पोका जम्मा भएको फोहोर महानगरपालिकाको गाडीले तीन खेपमा ल्याण्डफिल साइटमा लगेको थियो। 

‘हामीले आफ्नो तर्फबाट आफ्नो ठाउँप्रति गर्न सक्ने सानो पहल मात्रै हो,’ रिजन भन्छन्, ‘सकारात्मक कामका लागि सबै आफ्नो ठाउँबाट जुटे समाज कति सुन्दर हुन्थ्यो।’

सफा गरिसकेपछि पनि रिजन पटक-पटक त्यहाँ पुगिरहे। सफा गरेको सुरुको चरणमा त्यहाँको पानी केही धमिलो देखियो। केही समयपछि पानी नीलो देखिन थाल्यो। भोलिपल्ट दिउँसो पनि उनी नहर हेर्न गए, तर दृश्य देखे अचम्मको। 

त्यहाँ दुईजना मानिस बल्छी थापिरहेका थिए। नहरको पानीमा माथि डिलको प्रतिबिम्ब टल्किरहेको थियो। उनी त्यो दृश्यले रोमाञ्चित र आनन्दित भए। अनि क्यामेरा निकाले, तस्बिर खिचे र फेसबुकमा अपलोड गर्दै लेखे, ‘नहर सफा भयो, माछा आए अनि सँगै माझीदाइ पनि।’

पोखरामा नागरिक समाजको नाममा विभिन्न चरणमा सरसफाइ अभियान पनि सञ्चालन हुँदै आएका छन्। पोखरा महानगरपालिकाले पनि सार्वजनिक निजी साझेदारीको आधारमा फोहोर व्यवस्थापन गर्दै आइरहेको छ। 

साथै पोखरा महानगरभित्रका विभिन्न टोल विकास संस्था र आमा समूहहरूले पनि हप्ताहप्तामा आफ्नो टोल सरसफाइ गर्दै आइरहेका छन्। पोखरा महानगरपालिकाका अनुसार पोखरा क्षेत्रमा दैनिक १८० टन फोहोर संकलन हुने गरेको छ। 

प्रकाशित: May 05, 2021| 01:21 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।