सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कोरोना संंक्रमितका लागि अक्सिजन जुटाउँदै पल शाह

अघिल्लो वर्ष चैतमा लकडाउन घोषणा भएपछि अन्य क्षेत्रझैं फिल्म क्षेत्रका पनि सम्पूर्ण काम ठप्प भए। अरु कलाकारझैं अभिनेता पल शाह पनि घरमै थन्किएर बसेका थिए। 
 |  मंगलबार, वैशाख २१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– अघिल्लो वर्ष चैतमा लकडाउन घोषणा भएपछि अन्य क्षेत्रझैं फिल्म क्षेत्रका पनि सम्पूर्ण काम ठप्प भए। अरु कलाकारझैं अभिनेता पल शाह पनि घरमै थन्किएर बसेका थिए। 

triton college

त्यहीबेला लकडाउनका कारण पर्दापछाडि काम गर्ने फिल्म प्राविधिकको बिजोग भइरहेको खबर मिडियामा आइरहेको थियो। भिडियो सम्पादक हुँदै अभिनेता बनेका पल त्यो खबर सुनेर चिन्तित भए। त्यतिन्जेल कोही फिल्मकर्मी प्राविधिकको अप्ठेरोमा सारथी बन्न तयार थिएनन्।

त्यसपछि प्राविधिकका दुःखमा थोरै भए पनि मल्हम लगाउने हेतुले पहिलोपल्ट अघि सरेको नाम हो– पल शाह। कोरोनाबाट प्रभावित फिल्म प्राविधिकलाई उनले पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। त्यति रकम बराबरको खाद्यान्न लिएर उनी आफैं प्राविधिकको घरघरमा पुगे। 

यसरी संकटमा प्राविधिकको सारथी बनेका पल लकडाउन खुल्नासाथ सबैभन्दा बढी व्यस्त कलाकार भए। म्युजिक भिडियोमा उनको माग यति बढ्यो कि भिडियो निर्माताहरुलाई उनको डेट पाउनै मुश्किल बन्यो। त्यो व्यस्तताको ग्राफ पछिल्लो निषेध आदेश लागू हुँदासम्म रोकिएको थिएन। 

कोरोनाको दोस्रो लहर सुरु भएपछि काठमाडौं उपत्यकालगायत दर्जनौं जिल्लामा निषेध आदेश जारी भएको छ। फेरि मनोरञ्जन क्षेत्रका सम्पूर्ण काम ठप्प भएका छन्। पल फेरि घरमै थन्किएका छन् । तर, उनको मन घरमा यत्तिकै बस्न मानिरहेको छैन। त्यसैले ‘हाम्रो टिम नेपाल’का सदस्यहरुसँग सहकार्य गर्दै आर्थिक अभावमा छट्पटिएका कोभिडका बिरामीका लागि अक्सिजन जुटाउन लागिपरेका छन् उनी ।

Metro Mart
vianet

‘म भोलिबाट फिल्डमै खट्दैछु,’ पलले नेपाल समयसँग सोमबार भने, ‘आर्थिक अभावमा अक्सिजन नपाएर कोभिडका बिरामीले ज्यान गुमाउनुपरेको खबरले साह्रै स्तब्ध छु। त्यसैले त्यस्ता विपन्न बिरामीका लागि अक्सिजन जुटाइरहेका छौं। अक्सिजनभन्दा पनि सिलिन्डरको अभाव देखिएको छ। हामी सिलिन्डर खोज्दैछौं।’

अर्को साता उपत्यकाबाहिर पनि खाद्यान्न लिएर जाने तयारीमा छन्, पल। भन्दै थिए, ‘अर्को साता बागलुङको गाउँतिर जाने तयारीमा छौं।’

भारतमा कोभिडविरुद्धको लडाइँमा बलिउडका कलाकारले अभियान नै चलाइरहेका छन्। तर, नेपालमा फिल्मकर्मी खासै सक्रिय देखिँदैनन्। ‘हामीलाई सेलिब्रेटी बनाउने आम मान्छेहरु नै आज बिरामी भएर छट्पटाइरहेका छन्। यस्तो बेला हामी मौन बस्नु हुँदैन भन्ने मलाई लाग्छ। कलाकारमात्रै होइन, कोही पनि मौन बस्नु हुन्न। सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ। म पनि गर्छु,’ पलले भने।

प्रकाशित: May 04, 2021| 09:34 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्