काठमाडौं– बिहीबारबाट सुरु हुन लागेको पाँच दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा भारतीय फिल्म निर्देशक अनुराग कश्यपले अनुभव सुनाउने भएका छन्।
भर्चुअल माध्यमबाट सुरु हुन गइरहेको चौथो संस्करणको महोत्सवमा उद्घाटनपछिको पहिलो सेसनमा कश्यपले करिब डेढ घन्टा आफ्नो अनुभूति सुनाउने तय भएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए। बिहीबार साढे ३ बजे सुरु हुने कश्यपको सेसन अनलाइनबाट दर्शकले लाइभ हेर्न सक्नेछन्।
कश्यप भारतमा फिल्म लेखक, निर्माता, अभिनेता र सम्पादकका रुपमा परिचित छन्। उनीद्वारा निर्देशित ‘ग्याङ्ग्स अफ वासेपुर’ फ्रान्सको चर्चित कान्स फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको थियो। ‘वाटर’, ‘ब्ल्याक फ्राइडे’, ‘गुलाल’, ‘लन्च बक्स’, ‘देव डी’ आदि उनी निर्देशित रुचाइएका फिल्म हुन्।
यसपटक महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४५० चलचित्र प्राप्त भएका थिए। तीमध्ये आन्तरिक छनोट समितिले दिएको नम्बरका आधारमा उच्च नम्बर पाउने चलचित्रमध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी थियो।
अब निफमा ६६ फिल्म देखाइनेछन्। तीन चलचित्रमध्येबाट एकले नेपाली फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रको एक लाख नगद पुरस्कारसहित ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीले ट्रफी पाउनेछन्।