भैरहवा- यहाँका होटेल लाकौल र नान्समा अलग-अलग क्यासिनो सञ्चालनमा छन् । दुवैको सरकारी अनुमति पत्र (लाइसेन्स) भने एउटै छ ।
५० मिटरको दूरीमा रहेका दुवै क्यासिनो ह्याप्पी आवर प्रालिका नाममा सञ्चालनमा छन् । अनुसन्धान टोलीलाई दुवैले एउटै लाइसेन्स देखाउने गरेका छन्, जसबाट अवैध ढंगले क्यासिनो सञ्चालनमा रहेको पुष्टी हुन्छ ।
होटेल नान्समा मिनी क्यासिनो सञ्चालनका लागि रूपा इन्टरनेसनलले १६ वैशाख ०६८ मा १० वर्षे सम्झौता गरेको थियो । रूपाका सञ्चालक मनोज सुवेदी र ह्याप्पी आवरका सञ्चालक सुरेन्द्रबहादुर सिंहबीच शुरु भएको विवाद अदालतमा पुग्यो ।
दुवै पक्षले अदालतबाट अन्तरिम आदेश लिई अलग-अलग क्यासिनो सञ्चालन गर्दै आएका छन् । पर्यटन विभागले पनि दुवैलाई अलग-अलग पत्र दिएको छ ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधशी (हाल कामु प्रधानन्यायाधीश) दीपकराज जोशीको इजलासले १३ कात्तिक ०७४ मा होटेल लाकौलको क्यासिनो वैध भएको अन्तरिम आदेश दिएको छ । त्यसअघि २४ वैशाख ०७४ मा सर्वोच्चकै न्यायाधीश चोलेन्द्रसमशेर राणाको इजलासले होटेल नान्समा सञ्चालित क्यासिनो वैध भएको अन्तरिम आदेश दिएको थियो ।
आ-आफ्ना आदेशको प्रतिलिपी देखाउँदै दुवै क्यासिनो निर्वाध सञ्चालनमा छन् । 'दुवैले अदालतको कागज देखाउँछन् । पर्यटन विभाग र अदालतले एउटालाई वैध र अर्कोलाई अवैध किटानी गरिदिए तत्काल अवैधलाई बन्द गराउँछौं,' रूपन्देहीका एसपी श्याम ज्ञवाली भन्छन् ।
ह्याप्पी आवर प्रालिले नेपालगञ्जको होटल स्नेहामा, काँकडभिट्टाको होटल ढाकामा, महेन्द्रनगरको होटल स्विट ड्रिममा र भैरहवाको नान्समा मिनी क्यासिनो सञ्चालन गर्ने अनुमति लिएको थियो ।
हयाप्पी आवरका मिनी क्यासिनो व्यवस्थापक झपेन्द्र दंगासे होटेल नान्सको क्यासिनोसँग कम्पनीको कुनै सम्बन्ध नरहेको बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना भरखरै जानकारी पाएकाले यस विषयमा अध्ययन गर्ने बताउँछन् ।
क्यासिनो नियमावली २०७० अनुसार भारतीय सीमाको दशगजाबाट पाँच किलोमिटर भित्र मात्र क्यासिनो खोल्न पाइन्छ । र, त्यसका लागि चारतारे होटेल हुनु अनिवार्य छ । नियमावलीको प्रावधान लागू हुन सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४