काठमाडौं– शुक्रबार अपराह्नतिर ६ जना युवा लगभग एक मिटरको दूरी बनाएर चक्रपथको चाबहिलमा उकालो उक्लिँदै थिए। सबैको हातमा सेतो कागज थियो।
निषेध आदेशका कारण पैदलै नयाँ बानेश्वरस्थित कार्यालयतिर लम्किरहेको मलाई त्यही कागजले तिनीहरुतिर तान्यो।
‘केको कागज समाएको ?’ मैले सोधें। ‘मेडिकल रिपोर्टको कागज हो,’ जनकपुर घर भएका २२ वर्षीय जेकमत मण्डलले भने। खै हेरौँ भनेर माग्दा कागज देखाउन मानेनन्। शुक्रबार बिहानै महाराजगन्ज चक्रपथ नजिकै रहेको कतार भिसा सेन्टरमा पीसीआर रिपोर्ट र मेडिकल रिपोर्ट दिएर फर्किएका थिए उनीहरु।
चाबहिलको पिपलबोट चौतारामा तिनैमध्ये एकजना थचक्क बसे। थकानको सास फेरे। अनुहार ख्याउटे थियो। छुस्स कालो दाह्री पालेका ती ३२ वर्षीय सुखरिया साहले आफ्नै लयमा गनगनाए, ‘कहाँ फसियो लकडाउनमा।’
साथीले सुखरियालाई हिँड्न भने। तर पातलो ज्यानका सुखरिया खोक्न थाले। चिटचिट पसिना काडेका थिए। ‘ज्वरो त आएको छैन तपाईंलाई ?’ मैले सोधें। उनले ‘आएको छैन’ भने। ‘तेरो रिपोर्ट पोजेटिभ आयो भने त...’ एक साथीले शंका गर्दै जिस्क्याए। सँगै मनमा डर पनि थियो नै।
भोजपुरी भाषामा ‘अशुभ नबोल’ भन्दै सुखरिया हिँडे। केही कदम हिँडेपछि पानी पिउन पाए हुन्थ्यो भनेर यताउता आँखा डुलाए। तर, कुनै पसल खुला भए पो !
फेरि उस्तै लाम हिँडिरह्यो मधेसी युवाहरुको। गौशालास्थित श्री पशुपति धर्मशालामा पुगेर गेटभित्र चिहाए गंगेश्वरीले। भित्र बसेका सेक्युरिटी गार्डलाई गेट खोल्न अनुरोध गरे। भित्रबाट खुमबहादुर गुरुङ गनगनाए– ‘भित्र नआऊ, बन्द छ।’
‘हामी अस्तिदेखि यही बस्दै आएका छौं,’ सुखरिया चर्को बोले। त्यसपछिमात्र खुमबहादुरले गेट खोलिदिए। उनीहरु हतारिएर भित्र पसे। सबैले स्यानिटाइजर दले हातमा। सुखरिया भने सिधै पानीको ट्याङ्कीनिर पुगे, हात धोए र पानी पिए। पसिना पनि पखाले।
पाँचै जना धर्मशालाको कोठामा पसे। उनीहरु एकै कोठामा सुत्दै आएका रहेछन्। साँघुरो कोठामा बसेको यो समूहको एउटै दुखेसो थियो– किन फेरि लकडाउन ? बिहीबारदेखि काठमाडौं उपत्यकामा लागू भएको निषेध आदेशले उनीहरुलाई पिरोलेको थियो। ‘फेरि लकडाउन लाग्ने थाहा भएको भए म आउने नै थिइन,’ गंगेश्वर खतिवडा गनगनाए। ‘यस्तो बन्दमा भिसासिसा आउँदैन, घर जाने हो,’ चिसो अनुहार लिएर कोठामा पसेका मुखरियाले भोजपुरीमा थपे। घर पुगेपछि भिसा आयो भने कसरी काठमाडौं आउने भन्ने चिन्ता पनि उत्तिकै छ फेरि।
सुखरिया र गंगेश्वरले विदेश जान ऋण निकालेकै पाँच महिना भइसक्यो। आफ्नै गाउँको लघुवित्तबाट बाख्रा पाल्न भनेर लिएको ऋणमा उनीहरु कतार जान खोजेका हुन्। भिसा आइसक्यो भनेर एजेन्टले यो समूहलाई बोलाएको थियो। मे ४ (२१ वैशाख) सम्ममा जहाज उड्न सक्ने खबर पाएपछि उनीहरु जनकपुरबाट १३ गते काठमाडौं ओर्लिएका थिए। काठमाडौं आएर उनीहरु होटलमा बसेका थिए। तर, निषेध आदेश लागेसँगै उनीहरुलाई होटल साहुले गाउँ जाओ भने। उनीहरु भने ठूलो जहाज उड्ने सपना बोकेर धर्मशालातिर सरे।
वैदेशिक रोजगारीका लागि विदेश जान काठमाडौं आएका धेरै मधेशी युवाको पहिलो रोजाइ पशुपतिस्थित गौशाला धर्मशाला पर्छ। एजेन्टले पनि त्यही बस्न सिफारिस गर्छन्। होटलको भन्दा सस्तो बसाइ, नजिक एयरपोर्ट र नजिकै पशुपति पनि भएकाले यो ठाउँ सहज छ।
धर्मशालामा बुधन कुमारसहितको चार जनाको टोली पनि छ। यिनीहरु त चैत पहिलो हप्तादेखि नै गौशाला धर्मशालामा बसेका छन्। उनीहरु सबै दुबई जानका लागि काठमाडौं आएका थिए। तर भिसा किन रोकियो, उनीहरुलाई थाहा छैन।
‘अघिल्लो लकडाउनमा पनि रोकिनुपर्यो। काठमाडौंमा एक महिना होटलमै बस्यौं। भिसा सरेपछि गाउँ फर्कियौं,’ बुधनकुमारले सुनाए। कतार जान दुई महिनाअघि काठमाडौं आएका प्रदीप साह पनि धर्मशालामै आइपुगेका छन्। सुरुमा साथीको कोठामा बसेका प्रदीप सस्तोमा बस्न पाइने लोभले धर्मशाला आएको सुनाउँछन्। ‘एजेन्टले भिसा छिट्टै आउँछ भनेको थियो, आजसम्म आएको छैन। अब त झन् अन्योल भयो,’ प्रदीपले भने।
पीसीआर र मेडिकल रिपोर्ट बोकेर काठमाडौंका धर्मशाला र होटलमा कति युवा ठूलो जहाज चढ्ने आशमा बसेका होलान् ? कसले बुझ्ने उनीहरुको पीडा ?