काठमाडौं– खेलाडीको अभ्यास राम्रो भइरहेको छ। सबै खेलाडी लयमा छन्। खेलमा लगातार आक्रमण पनि भइरहेको छ। तर टिम जारी नेपाल सुपर लिग (एनएसएल) अंक तालिकाको पुछारमा छ ललितपुर सिटी फुटबल क्लब।
किन भयो त यस्तो ? क्लबका मुख्य प्रशिक्षक प्रदीप हुमागाईं भन्छन्, ‘खै ! थाहै छैन।’ उनलाई जस्तै खेल हेर्न पुगेका र टेलिभिजनमा हेरिरहेका कसैलाई थाहा छैन, ललितपुरले गोल गर्न नसक्नुमा के कुराले असर गरिरहेको छ।
लिगको उद्घाटन खेल निकै प्रतिस्पर्धात्मक बने पनि ललितपुरले जित निकाल्न सकेन। उसले ‘बल पोसेसन’ राख्यो तर तीन अंक गुमायो। र, उसले अंक गुमाउने क्रम निरन्तर जारी राख्यो। दोस्रो खेलमा चितवनविरुद्ध जित निकाल्न नसक्दा र तेस्रो खेलमा धनगढीसँग पनि बराबरीमै रोकिँदा उसले थप चार अंक गुमायो।
यसरी अंक तालिकाको पुछारमा रहेको ललितपुर सिटी फुटबल क्लबले दुई अंकमात्र जोड्यो। ‘मसँग ललितपुरको खेलको बयान गर्ने शब्दै छैन। हामीले राम्रो खेलेको हो। तीन गेम नै राम्रो खेलेको हो,’ प्रशिक्षक प्रदीप दाबी गर्छन्, ‘हामी कहाँ चुकेका छौं भन्ने मलाई नै थाहा छैन। पास पनि मिलेको छ, गोल हानेको पनि छ तर कहिले कताबाट ब्लक हुन्छ, कहिले कताबाट ब्लक हुन्छ। हामीलाई लकले साथ दिइरहेको छैन।’
ललितपुरले निरन्तर बनाइरहेको मुभबाटै थाहा हुन्छ, टिम स्पिरिट राम्रो छ। गेमको गति जति चाहिने हो, त्यति छ। अरु टिमको तुलतामा अट्याकिङ थर्डमा पनि चामत्कारिक मुभहरु भएका छन्। यत्ति हो फिनिसिङ सफल भएका छैनन्। प्रदीप भन्छन्, ‘सबै कुरा हुँदाहुँदै पेनाल्टी पनि पाएका छौं। त्यो जित्नु भनेको गोल गर्नु सरह हो। तर भएन।’
कहिलेकाहिँ चुकेको पनि छ ललितपुर। तेस्रो खेलमा धनगढीले गोल गरिसकेपछि ललितपुरका खेलाडीले दबाब महसुस गरेर खेले। त्यो समयमा खेलाडीको शारीरिक चाल पनि फुटबल स्पिरिटमा नभएको प्रदीपले देखेका छन्।
‘स्पिरिट राम्रो भए पनि लगातारको अट्याकिङ असफलताले नैराश्यता छाउँदैन भने पनि त्यो सत्य हुँदैन,’ उनले भने, ‘पेनाल्टीले आशा जगाएको हुन्छ। तर अवसर गुमाएपछि जो पनि निराश हुन्छ। यो मानिसको प्राकृतिक गुण नै हो। मनोवैज्ञानिक प्रभाव रहन्छ नै।’
त्यसैले अक्सनबाट पलाएको ठूलो आशाका बाबजुद अहिले प्रशिक्षक, टिम व्यवस्थापक र स्टाफमा ‘सकिन्न कि क्या हो’ भन्ने भाव पैदा भएको छ। यो खेलमा सफल भइरहनका लागि पक्कै राम्रो होइन भन्ने बुझेका छन् प्रशिक्षकले।
ललितपुरका लगातार दुइटा पेनाल्टी मिस भए– एउटा चितवनविरुद्ध र अर्को धनगढीविरुद्ध। एउटा अञ्जन विष्टद्वारा अर्को नुर्विकद्वारा। यसकारण उसले लिगमा दुईभन्दा धेरै गोल गर्न सकेको छैन। र, तीन गोल खाएको छ।
यता, अक्सनको सफलताका हिसाबले हेर्ने हो भने अहिलेको स्क्वाड उसको ठूलो सफलता हो। १२ लाख १५ हजार खर्च गरेर उसले गोलाप्रथाबाट श्रेणी अनुसारको सर्वाधिक मूल्यमा पाँच खेलाडी किनेको थियो। यसकारण ललितपुरले धेरै टिमले रुचाएका खेलाडी आफ्नो टिममा ल्याउन सफल भयो।
अन्तर्राष्ट्रिय खेलमै गोल गरिसकेका खेलाडी अञ्जन विष्ट त छँदै थिए। त्यही स्क्वाडको बलबुतामा लिग जित्ने क्लबले सोचेको थियो। तर आधा सिजन सकिँदा सफलता हात लाग्न सकेन।
ललितपुरका विदेशी खेलाडी पनि कमका छैनन्। उनीहरु प्रदर्शन औसत गर्दै गोल सिर्जना गर्नका लागि माहिर छन्। ‘यी सबै खेलाडीलाई मिलाएर बाँकी तीन खेलमा जित निकाल्न प्रयासरत रहनेछौं,’ प्रदीपले भने, ‘अब तीन गेम बाँकी हुँदा टिममा मोटिभेसन छ। हामी सम्भवतः टप चारमा पुग्छौं। खेलाडीसँग यति आशा भने छ। खेलाडीबीच युनिटी राम्रो छ।’
प्रशिक्षणका क्रममा पनि कमी रहेको कुरा स्वीकार्न हिचकिचाउँदैनन् उनी। ‘फुटबलको टेक्निकल जोनमा उभिएर एउटा प्रशिक्षकले सबै कुरा देखेको हुँदैन। अब मैले गएर भिडियो रिभ्यू गर्नुपर्छ,’ उनले भने, ‘त्यसैअनुसार चुकेका कुरा पत्ता लगाउनुपर्छ। पछिल्लो खेलमा पनि कति भूल सुधार भएका छन्।’
उनले थपे, ‘बल खेलाउँदै अट्याकिङ थर्डमा गोल पुर्याउने प्रशिक्षकको रणनीति हुन्छ, त्यो सफल भएको छ। तर पनि केही कमी भएको हुनसक्छ।’
ललितपुर अहिले तालिकाको पुछारमा छ। पुछारमा रहने टिमका लागि खेल निकै दबाबपूर्ण त हुन्छ नै। तर प्रदीप आगामी खेललाई दबाबका रुपमा नलिने बताउँछन्। ‘दबाब छैन। टिमको भिजन छ, कमिटमेन्ट छ। हाम्रो सबै स्टार खेलाडीले मैदानमा न्याय गरेका छन्। त्यसैले अझै पनि तीन खेलमा ९ अंक हातमा छ। त्यसले टिमलाई शीर्ष चारमा पुर्याउँछ,’ उनले दाबी गरे, ‘म काममा विश्वास गर्छु। बाँकी कुरा भगवानको हातमा पनि हुन्छ।’