सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज : निराश फर्किनुपर्छ कोरोना संक्रमित

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज : निराश फर्किनुपर्छ कोरोना संक्रमित

कोभिड–१९ को दोस्रो लहर सुरु भएलगत्तै अस्पतालमा संक्रमितको संख्या प्रत्येक दिन बढिरहेको छ। स्वास्थ्यकर्मी थकित देखिन्छन्। कतिपय ठाउँमा चिकित्सकको समूह नै संक्रमित भएर ओपीडी नै बन्द गर्नुपर्ने अवस्था छ।
 |  शुक्रबार, वैशाख १७, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, वैशाख १७, २०७८

vianetvianet

काठमाडौं– बिहीबार मध्याह्न १२ बजे। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अन्य दिनभन्दा खाली देखिन्थ्यो। काठमाडौं उपत्यकाभर लागू भएको निषेध आदेशका कारण मानिसहरु अस्पताल पुग्न पाएका थिएनन्। पुगेका केही हातमा टिकट र अस्पतालका अन्य कागजात बोकेर यताउता दौडिरहेका थिए। 

triton college

अस्पताल प्रवेश गर्ने गेटबाट मिनेट–मिनेटमा सवारीसाधन आउ–जाउ गरिरहेकै थिए। कोही मोटरसाइकलमा, कोही ट्याक्सीमा त कोही एम्बुलेन्समा। गेटबाट छिर्नेबित्तिकै एम्बुलेन्स कोभिड वार्डतिर मोडिन्थे। अन्य सवारीमा आउने पनि कोभिड वार्ड कता हो भन्दै सोध्दै हुन्थे। 

कोभिड वार्डमा बेड खोज्दै आएकाहरु निराश फर्किनुपरेको धेरै दिन भइसक्यो। दुईजना मानिस इमर्जेन्सीको अगाडि प्रांगणमा कसैलाई फोन डायल गरिरहेका थिए। निकै आत्तिएका जस्ता देखिन्थे। एक जनालाई सास फेर्नै गाह्रो भइरहेको जस्तो देखिन्थ्यो। 

कोरोनाको शंका लागेपछि उनीहरु अस्पताल आएका रहेछन्। बेड नपाएपछि अन्य अस्पतालमा पाइन्छ कि भन्दै सम्पर्क गरिरहेका थिए। कतै बेड पाउन नसकेपछि उनीहरु चिकित्सकलाई आग्रह गरिरहेका थिए, तर चिकित्सकसँग पनि कुनै विकल्प थिएन। केही नलागेपछि उनीहरु ट्याक्सी चढेर अन्य अस्तपालमा बेडको खोजीमा हिँडे। 

एक चिकित्सकले सुनाए, ‘हरेक दिन देखिने यस्ता दृष्यले हामीलाई कति बिझाउँछ। तर हामीसँग पनि कुनै विकल्प हुँदैन।’ पछिल्ला दिनमा त्रिवि शिक्षण अस्पतालमा यस्ता दृष्य दिनहुँ देखिने गरेका छन्। दैनिक अस्पताल पुग्ने ३५–४० जना बिरामी अस्पतालको बेड नदेखी गेटैबाट फर्कन्छन्। 

National life insurance

अस्पतालका कोभिड फोकल पर्सन सन्तकुमार दास भन्छन्, ‘दैनिक ३५–४० जना अस्पतालको ढोकामा आएर पनि फर्कनुपरेको अवस्था छ। आएकामध्ये झण्डै आधाजस्तो बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्ने देखिन्छ तर बेड अभाव भएकाले भर्ना गर्न सकिने अवस्था छैन। अस्पतालका सबै बेड कोरोना संक्रमितले भरिएका छन्। सामान्य अवस्थाका मानिसलाई हामी भर्ना गर्दैनौं, उनीहरुलाई होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिएर घर पठाउँछौं।’

स्वास्थ्य मन्त्रालय वा अस्पतालको समन्वयमा नभई सिधै अस्पताल आउने बिरामीले बेड पाउने चान्स निकै कम छ। डा. दास भन्छन्, ‘भेन्टिलेटर र आईसीयू सबै भरिइसके। बेड खाली भए–नभएको बुझ्न फोन आइरहन्छ। तर यहाँ खाली नै छैन। उनीहरुलाई बेड छैन भन्नुबाहेक अरु दिने जवाफ पनि हुँदैन।’ 

अस्पतालका आईसीयू विशेषज्ञ डा. सुभासप्रसाद आचार्य पनि यो महामारीको परिणाम र असर ठ्याक्कै यति र यही भन्ने अनुमान गर्न गाह्रो भएको बताउँछन्। ‘अलिअलिमा वास्तै नगर्ने, बेस्सरी थिचेपछि भाग्ने दगुर्ने हाम्रो बानीले हामीलाई नै असुरक्षित बनाउँदै गएको छ,’ डा. आचार्यले भने। 

कोभिड–१९ को दोस्रो लहर सुरु भएलगत्तै अस्पतालमा संक्रमितको संख्या प्रत्येक दिन बढिरहेको छ। स्वास्थ्यकर्मी थकित देखिन्छन्। कतिपय ठाउँमा चिकित्सकको समूह नै प्रभावित भएर ओपीडी नै बन्द गर्नुपर्ने अवस्था छ। डाक्टरहरुको सदावहार गुनासो छ– मान्छे सचेत नै भएनन्।

उपत्यकामा निषेध आदेश जारी भएसँगै उपत्यका छोड्नेको भीडले झनै समस्या निम्तिएको चिकित्सकहरु बताउँछन्। ‘सरकारले चहलपहल हुन नदिनका लागि निशेध आदेश जारी गर्ने हो तर दुई दिन गाउँगाउँमा मानिस पठाएर गाउँमै संक्रमण फैलाउन सहयोग गरेको जस्तो पनि देखिन्छ,’ डा. दासले भने, ‘छिमेकी मुलुकमा ठूलो जनसंख्या छ र ठूलो क्षति देखिएको छ। तर हाम्रोमा पनि सोही अनुपातमा संक्रमण पुष्टि भएको छ। मृत्युदर पनि बढ्दै गएको छ। छिमेकी देश भारतको भन्दा कम भयावह अवस्थामा हामी छैनौं।’

हाल काठमाडौं उपत्यकाका १४ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयको बिहीबारको विवरणअनुसार काठमाडौंका अस्पतालहरुमा ११४ जना आईसीयूमा छन् भने ५८ जना भेन्टिलेटरमा छन्। अस्पतालहरुमा संक्रमितको चाप यति धेरै छ कि नयाँ संक्रमितले अस्पतालमा भर्ना पाउनका लागि उपचारत संक्रमितको डिस्चार्ज या मृत्युलाई कुर्नुपर्ने अवस्था देखिएको छ। 

‘पुराना बिरामीलाई आईसीयू वा भेन्टिलेटरबाट हटाएर नयाँ बिरामी भर्ना गर्न पनि मिल्दैन। सामान्य अवस्थाका बिरामीलाई बेड पाउन केही सहज भए पनि गम्भिर अवस्थामा अस्पताल आइपुगेका नयाँ बिरामीले बेड पाउन निकै सकस छ,’ डा. दासले भने। यही अवस्थामा संक्रमण दर फैलँदै गए अबको एक हप्तापछि अवस्था भयावह हुने चेतावनी चिकित्सकहरुले दिँदै आएका छन्।

उता, १४० बेडसहित कोरोना संक्रमितको उपचार गरिरहेको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुको वार्डमा कुनै बेड खाली छैनन्। अस्पतालका कोभिड फोकल पर्सन डा. प्रविण नेपाल भन्छन्, ‘उपचारको आशामा आएका सयौं बिरामी फर्काउनुपर्दा निकै दुःख लाग्छ। तर के गर्नु, उपचारको लािग सम्भव नै नभएपछि फर्काउनैपर्छ। मिल्ने भए भुइँमै राखेर पनि उपचार गर्न मन हुन्छ तर त्यसो गर्दा पनि विरोध आउँछ। अस्पतालको व्यवस्थापन यस्तो भयो भन्दै हामीले नै आरोप सहनुपर्छ।’

प्रकाशित: Apr 30, 2021| 08:05 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।