सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढी रकम लुटपाट प्रकरणका मुख्य योजनाकारसहित पाँच सार्वजनिक

धनगढी रकम लुटपाट प्रकरणका मुख्य योजनाकारसहित पाँच सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको धनगढीमा १३ जेठमा गोली प्रहार गरी साढे नौ लाख लुट्ने कार्यमा संलग्नसहित लुटिएको रकम र पेस्तोल प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। 

प्रहरीले पत्रकार सम्मेलनको गरी घटनाका मुख्य योजनाकार, गोली हान्ने व्यक्ति, रकम बोक्ने तथा राख्न सहयोग गर्नेलार्इ सार्वजनिक गरेको हो ।

घटनाका मुख्य योजनाकार धनगढी-६ का ३१ वर्षीय राजकुमार चौधरी भएको प्रहरीले जनाएको छ। उनलाई धनगढीबाटै प्रहरीले पक्राउ गरिएको हो। उनको साथबाट तीन लाख ६३ हजार रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटनाको योजना बनाउने तथा हतियार र मोटरसाइकल व्यवस्था गर्ने पनि चौधरी नै हुन्। ०६५ सालमा उनी हातहतियार खरखजाना मुद्दामा ७५ दिन कैलाली कारागार बसेका थिए । 
गोली हान्ने कञ्चनपुर बेलौरी ६ का ३० वर्षीय उग्रसेन राना पनि उनकै गाउँबाट पक्राउ परेका हुन् । आफैंले मोटरसाइकल चलाएको र गोली हानेको प्रहरीलाई बयान दिएका छन् । उनको साथबाट पेस्तोल, मोटरसाइकल र एक लाख ९० हजार रुपैयाँ बरामद गरिएको हो । 

उनी हातहतियार खरखजाना तथा विभिन्न चोरीका मुद्दामा चार वर्ष कञ्चनपुर कारागारमा सजायँ भोगी ०७१ सालमा छुटेका थिए । 

कञ्चनपुर कृष्णपुर ६ का २७ वर्षीय कल्लु राना मोटरसाइकलको पछाडि बसेर पैसाको झोला लुट्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनको साथबाट १५ हजार ६ सय रुपैयाँ बरामद गरिएको छ । उनी जबर्जस्तिकरणी मुद्दामा ६ वर्ष कारागार सजाय भोगेर माघ ०७४ मा छुटेका थिए । 

प्रहरीले सहयोगीका रूपमा अन्य दुई जना पनि नियन्त्रणमा लिएको छ । धनगढी १३ का २८ वर्षीय रामप्रवेश राना तथा धनगढी ६ का १८ वर्षीय बिरु चौधरी घरबाटै पक्राउ परेका हुन् । सिद्धार्थ बैंकबाट रकम लगेर आईएमईमा जाने क्रममा धनगढी ३ का निर्मल कार्कीमाथि गोली प्रहार भएको थियो । 

यसरी बन्यो योजना

घटनाका मुख्य योजनाकार राजकुमार चौधरीले आर्थिक कारोबार भइरहने आईएमर्इ सेन्टरबाट पैसा लुट्न सकिन्छ भनेर केही दिनदेखि त्यो क्षेत्रलाई 'रेकी' गरेको प्रहरीले जनाएको छ । मुख्य योजनाकार राजकुमारले गोली हान्ने उग्रसेन र मोटरसाइकलको पछाडि बसेर पैसाको झोला बोक्ने कल्लु रानालाई २\३ दिनदेखि आईएमईमा कसले कुन बैंकबाट पैसा ल्याउने-लैजाने गर्छ भनेर गतिबिधि बुझ्न लगाएको अनुसन्धानबाट खुलेको छ । 

आईएमई सेन्टरमा कार्यरत कार्कीले नै बैंकबाट पैसा ल्याउने र लैजाने गरेको यकिन गरेपछि बैंकबाट निस्किएलगत्तै सडकमा गोली हानिएको हो । योजनाकार राजकुमार र अन्य संलग्नहरूको यसअघि कारागारमै भएको चिनजानका आधारमा उनीहरूले संगठित अपराध गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ । 

यसरी सफल भयो प्रहरी

घटनाको नौ दिनपछि संलग्न सबैलाई पक्राउ गर्न सफल भएको प्रहरीले त्यसमा प्रयोग गरिएको मोटरसाइकलको नम्बर नक्कली भएकाले सत्यतथ्य बाहिर ल्याउन केही ढिलो भएको जनाएको छ । 

मोटरसाइकलको नक्कली स्टिकर प्रयोग गरेर नम्बर लेखिएको र पछि उक्त स्टिकर हटाएर प्रयोग गरेको संघीय प्रहरी एकाइ प्रमुख एसएसपी हरिराज काफ्लेले पत्रकार सम्मेलनमा बताए । मोटरसाइकलमा प्रयोग भएको नम्बर देशका कुनै पनि यातायात कार्यालयमा दर्ता नभएको र मोटरसाइकलसमेत चोरीको हुन सक्ने देखिएको छ । 

प्रहरीले मुख्य योजनाकार राजकुमारलाई नियन्त्रणमा लिएपछि विस्तारै अन्य संलग्नहरूलाई पक्राउ गर्न सफल भएको हो । उनीहरू लामो समयदेखि आपराधिक समुहमा आबद्ध भएको खुलेको छ । 

जंगलमा रकम बाँडफाँट

प्रहरीका अनुसार धनगढी चौराहनजिक घटना भएलगत्तै मोटरसाइकलमा सवार उग्रसेन र कल्लु दुवै चौराहबाट चटकपुर हुँदै पश्चिमतिरको बाटोबाट मोहना नदी तरी कञ्चनपुर पुगेका थिए । घटनाको समयमा मुख्य योजनाकार राजकुमार पनि त्यही सेरोफेरोमा रहेको र पछि सबैको भेट कञ्चनपुरको लालझाडी जंगलमा भएको अनुसन्धानबाट खुलेको छ । लुटिएको रकम उनीहरूले सोही जंगलमा लगेर बाँडेका थिए । त्यसमध्येको केही खर्च गरिसकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।