भैरहवा- युवासंघ नेपाल रुपन्देहीका तत्कालीन जिल्ला अध्यक्ष दुर्गा तिवारी र तत्कालिन एमाले कार्यकर्ता समेत रहेका देबदहका व्यवसायी बसन्त पौडेल (बलु) को हत्यामा संलग्न १२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले उनीहरुविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।
तिवारी र पौडेलको हत्याको अभियोगमा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ वस्ने हरिप्रसाद श्रेष्ठ, वडा नम्बर ७ बस्ने सुजु मल्ल, वडा नम्बर ७ बस्ने उत्तम आचार्य, देवदह नगरपालिका वडा नम्बर ६ बस्ने रोशन खड्का, सोही नगरको वडा नम्बर ३ बस्ने लेखनाथ न्यौपाने र वडा नम्बर २ बस्ने तुल्सीराम न्यौपाने लाई ज्यान मार्ने र कर्तव्य ज्यान अन्तर्गत जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरिएको जिल्ला न्याधिवक्ता कोषहरी निरौलाले बताए ।
यसैगरी पौडेलको हत्यामा संलग्न सुभाष गुरुङ, राम गुरुङ, उमेश तामाङ र विजु थापाविरुद्ध पनि मुद्दा दायर गरिएको जिल्ला न्यायधिवक्ता निरौलाले बताए । तामाङ र थापा अझै फरार छन् । दुर्गा तिवारीको हत्याको मुख्य अभियुक्त मनोज पुन र सोमबहादर आले प्रहरी इन्काउन्टरमा मारिसकेका छन् भने समिरमान सिंह बस्नेत हाल प्रहरी हिरासतमा काठमाडौंमा छन् ।
जिल्ला सरकारी वकिल कार्यलयले तिवारी हत्यामा यसअघि नै देवदहका सागर थापा, तिलोत्तमाका खेमानन्द भट्टराई, देवदहका बसन्त बहादुर चापागाई, धकधईका अंगद थारु, देवदहका क्रषेश्वर कुमाल, तिलोत्तमाका बुद्धिसागर बस्याल र राजेश यादव विरुद्ध पनि संगठीत रुपमा कर्तव्य ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।
तिवारी र पौडेल हत्यामा संलग्न सबै जनालाई संगठित रुपमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । हत्यामा संलग्न सबैलाई मुलुकी ऐनको ज्यान सम्बन्धी महलको दफा १ नम्बर र १३ को १ कसुर अपराध भएकोले सो ऐनको दफा १६ र १३ (१) बमोजि अधिकतम सजाय माग गरिएको जिल्ला न्यायधिवक्ता निरौलाले बताए ।
यदि अदालतबाट दावी गरिअनुसार सजाय भएमा दुईवटा मुद्धामा अभियुक्तहरुलाई कम्तिमा ३० देखि ४० वर्षसम्म सजाय हुनेछ । दुर्गा तिवारीको २०७३ पुस ३ गते र पौडेलको ०७४ पुस २१ गते देवदहमा गोली हानी हत्या गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४