सोमबार, चैत ९, २०८२

विद्यालय तहका परीक्षा अनिश्चित, तोकिएकाे मितिमा एसईई नहुने संकेत

‘मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गरेर कक्षा ८ र १० को परीक्षा सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्छ। परीक्षाभन्दा पनि पढाइ महत्त्वपूर्ण हो। विद्यालय शिक्षाको परीक्षालाई परिस्थिति हेरेर निर्णय लिइनेछ।’
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं– कोरोना महामारीका कारण सरकारले देशभरका विद्यालय बन्द गरेपछि विद्यालय तहको अन्तिम परीक्षा अनिश्चित बनेको छ। सञ्चालन भइरहेका परीक्षा स्थगित भएका छन्। आधारभूत तह (कक्षा ८) को जिल्लास्तरीय परीक्षा अनिश्चित बनेको छ भने निषेध आदेश लम्बिन सक्ने भएकाले एसईईको कार्यतालिकामा पनि असर पर्ने संकेत देखिएको छ। 

National life

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत आइतबार विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल विधिबाट पठनपाठन जारी राख्ने र परीक्षाका कार्यक्रम स्थगित गरेको थियो। कक्षा ८ र कक्षा १० को वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थी अन्योलमा परेका छन्। 

गत वर्ष पनि कोभिड १९ कै प्रकोपका कारण परीक्षा सञ्चालन हुन सकेन र विद्यालयले आन्तरिक मूल्यांकनबाटै विद्यार्थीलाई उत्तीर्ण गराएका थिए। यस वर्ष पनि परीक्षा सञ्चालन गर्ने विषयमा अन्योल देखिएको अभिभावक बताउँछन्।

नेपाल अभिभावक महासंघका अध्यक्ष धर्मकान्त देवकोटा भन्छन्, ‘सहरी क्षेत्रमा निषेध आदेश जारी भएसँगै यो कहिलेसम्म जारी रहने र परीक्षाका कार्यक्रम हुने वा नहुने भन्ने अन्योल देखियो।’ उनले मूल्यांकन विधि परिवर्तन गर्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘गत वर्षका कमीकमजोरी सच्याउँदै मूल्यांकनका ढाँचा परिवर्तन गर्न सकिन्छ। प्रश्नपत्र दिएर विद्यार्थीलाई उत्तर लेखेर ल्याउन भने पनि हुन्छ।’ उनले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउनुपर्ने बताए। देवकोटाले परीक्षा भन्दा सिकाइलाई प्राथमिकता दिनुपर्ने भनाइ राखे।

Laxmi sunrise bank
kumari

कोभिड–१९ को महामारी कायम रहे विद्यालय खुल्न सक्ने अवस्था नआएमा सबै ठाउँमा एउटै नियम लगाउने भन्दा पनि भौगोलिक बनावट, विद्यालयको अवस्था, विद्यार्थी अनुपात हेरेर फरक परिस्थितिमा फरक खालको निर्णय लिनुपर्ने उनको सुभाव छ।

सरकारी अधिकारी भने विद्यालय बन्द भए पनि सिकाइ सहजीकरण निर्देशिका पालना गर्दै वैकल्पिक शिक्षण पद्धतिमा जोड दिइने बताउँछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विद्यालय शाखा प्रमुख विदुरराज गिरी परिस्थिति हेरेर जेठ मसान्तभित्रमा परीक्षा गर्न सकिने बताउँछन्।

उनी भन्छन्, ‘मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गरेर कक्षा ८ र १० को परीक्षा सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्छ। परीक्षाभन्दा पनि पढाइ महत्त्वपूर्ण हो। विद्यालय शिक्षाको परीक्षालाई परिस्थिति हेरेर निर्णय लिइनेछ।’

राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेबाट एसएलसी (कक्षा १२ को अन्तिम) परीक्षाको तालिका सार्वजनिक गरेको छ। एसईईका लागि एक महिना बाँकी छ। परीक्षाको तयारी गर्नुपर्ने समयमा निषेध आदेश जारी गरिएकाले भनेकै समयमा परीक्षा सञ्चालन गर्न असहज हुने र त्यसका लागि परिस्थिति पनि अनुकूल हुनुपर्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल बताउँछन्। 

उनी भन्छन्, ‘यही अवस्था कायम रहे जेठ १३ मा परीक्षा सञ्चालन गर्न सकिँदैन। एक महिना समय छ। बोर्ड बैठकबाट एउटा निष्कर्षमा पुग्छौं।' परीक्षा आजको भोलि नै निर्णय गरेर सञ्चालन गर्न सम्भव हुँदैन। अर्याल भन्छन्, ‘तयारी  पनि जारी राख्नुपर्छ। यही अवस्था कायम रहे हामीलाई गाह्रो छ।’ उनले निषेध आदेश भएकाले एक महिनाभित्र सबै काम गर्न कठिन रहेको बताए।

प्रकाशित: Apr 28, 2021| 00:25 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्