सोमबार, असार २९, २०८३

वाहियात कुरा, मलाई कसले हटाउने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
संघीय समाजवादी फोरमबाट प्रदेश-२ को मुख्यमन्त्री निर्वाचित भएका हुन्, लालबाबु राउत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण क्रममा उनले दिएको अभिव्यक्ति विवादमा पर्‍यो । केन्द्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएका कारण उनको पद नै संकटमा परेको छ, अहिले । 

केन्द्र सरकारसँग खटपटका कारण उनको अमेरिका भ्रमण अस्वीकृत भएको चर्चा राजनीतिक वृत्तमा पाइन्छ । पहिलो मुख्यमन्त्रीका रूपमा प्रदेशको आर्थिक विकास र केन्द्र सरकारसँग उनको सम्बन्धलगायत विषयमा केन्द्रित रहेर नेपाल समयका प्रदेश-२ संयोजक धैर्यकान्त दत्तले गरेको कुराकानी: 

नेपालले पहिलो पटक प्रादेशिक संरचनाको अभ्यास गर्दैछ । यसलाई संस्थागत गर्न के के काम गरिरहनुभएको छ ?

सबैभन्दा पहिले त प्रदेश सरकारका लागि आवश्यक कानुन निर्माण हुने क्रममा छन् । नीति तथा कार्यक्रम र बजेट पनि ल्याएका छौं । 

प्रहरी ऐन, निजामती सेवा ऐनलगायत कानुन निकट भविष्यमै आउँदैछन् । प्रदेश सरकार आफैं राज्य सञ्चालन गर्न त्यस किसिमको आधार खडा गर्दैछ ।

प्रदेश-२ लाई आर्थिक रूपले कमजोर मानिन्छ । यस प्रदेशको गरिबी हटाउन के के काम अगाडि बढाउनुभएको छ ?

प्रदेश सरकार गरिब छैन । त्यसका विभिन्न कारण छन् । तर, यो प्रदेश गरिब बनेको छ । समृद्ध बनाउने मिसन बोकेर प्रदेश सरकार प्रतिबद्धताका साथ लागेको छ । 

प्रदेशका बासिन्दा गरिब हुनुको कारण यहाँ उद्योगधन्दा जसरी स्थापित हुनु पथ्र्यो, त्यो हुन सकेको छैन । युवा खाडी मुलुकमा मिहिनेत गरेर जीविकोपार्जनमा लाग्न बाध्य छन् । उनीहरूलाई स्वदेशमै रोजगारी उपलब्ध भएको भए नेपालको आफ्नै उत्पादन र विदेश निर्यात बढ्थ्यो । 

उद्योगधन्दालाई कसरी अगाडि बढाउने र लगानीकर्तालाई कसरी उत्प्रेरित गर्ने विषय एकातिर छ । अर्कातिर, नेपाल कृषिप्रधान देश हो । प्रदेश-२ मा झनै बढी किसान छन् । कृषि उपजको उत्पादन वृद्धि गर्नतर्फ केन्द्रित हुन जरुरी देखिएको छ । 

धेरैजसो खेतीयोग्य जग्गामा सिँचाइ पुग्न सकेको छैन । आकाशे खेतीको भर पर्नुपरेको छ । उत्पादन वृद्धि गर्न सक्दा युवा र किसान त्यसलाई निर्यात गर्ने पाटोमा लाग्ने थिए । 

खेतीयोग्य भूमिमा सिँचाइ तथा बीउविजन उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको छ । विदेश पलायन भएका युवा र किसानलाई फर्काउने र यतै रोक्ने उपाय पनि हो यो । 

पर्यटन व्यवसाय पनि अर्को ठूलो अवसरका रूपमा छ । यहाँका धार्मिक स्थलहरू त्यसका आधार हुन् । 

राजनीतिक क्रान्ति पूरा भइसकेको छ । अब प्रदेश-२ को आर्थिक क्रान्तिका लागि कस्ता एजेन्डा र कार्यक्रम तय गर्नुभएको छ ?

राजनीतिक क्रान्ति कहाँ सम्पन्न भएको छ ? यो मुलुकमा सबैले समान अधिकार पाउन सकेका छन् ? के सबैले संविधानको अपनत्व ग्रहण गर्न सकेका छन् ? 

अहिले पनि मधेशी, मुस्लिम, थारू र पहाडका दलित, जनजातिहरू अहिलेको नीतिसँग सन्तुष्ट छन् र ? 

त्यसैले मलाई लाग्छ, राजनीतिक क्रान्ति नै सम्पन्न भइसकेको छैन । तथापि, प्रदेश सरकारको मूल एजेन्डा विकास र समृद्धि हो । प्रदेशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।

पाँच वर्षपछिको प्रदेश-२ कस्तो होला ? के मार्गचित्र छ, प्रदेश सरकारसँग ?

विकासका हर सम्भावना बोकेको छ, प्रदेश-२ ले । समृद्धिको हरेक सम्भावना बोकेको छ । यसलाई एउटा सुशासित प्रदेश बनाएर मुलुककै एक नम्बर प्रदेश बनाउने मेरो मिसन छ । त्यही मिसनमा म अगाडि बढेको छु ।

प्रदेश-२ लाई पहाडबाट ‘डिस्कनेक्ट’ गरिएको छ । जोड्नका लागि राजनीतिक र आर्थिक योजना के छन् ?

‘डिस्कनेक्ट’ त गरेको छैन । यो प्रदेश मुलुकको अभिन्न अंग हो । हामी त भन्छौं, यो मुलुकलाई समृद्ध, विकसित र सबैको बनाउनुछ भने हिमाल, पहाड र तराई सबैलाई एक ठाउँमा जोडेर साथै लग्नुपर्ने खाँचो छ । 

भौगोलिक रूपले त छुट्टिएकै देखिएको छ नि ?

सीमाको हिसाबले तराई मानिदिनुभयो भने छुट्टिएको देखिएला । तर, हामी सबै एउटै मुलुकका हौं । यो मुलुकको अखण्डता, स्वायत्तता, स्वतन्त्रता र सम्भावनालाई केलाउनुपर्छ । 

नेपालको सम्भावना भनेकै मधेश, पहाड र हिमाल हो । यी तीनै भूभाग एकअर्काका अभिन्न अंग हुन् । हामीलाई यो प्रदेशलाई विकसित बनाउनुछ भने पहाड र हिमाल दुवैको सहयोग चाहिन्छ । 

पहाड र हिमालका हकमा पनि त्यही कुरा लागू हुन्छ । त्यसैले, मलाई लाग्दैन, हामी अलग छौं भन्ने । हामी एकै हौँ । यो मुलुकभित्र रहेर प्रतिव्यक्ति आयदेखि मुलुकको समृद्धि कसरी हुन सक्छ भन्नेतर्फ लाग्नुपर्नेछ । 

प्रदेश-२ गरिब रहँदा मुलुक समृद्ध बन्न सक्दैन । यो प्रदेशमा बेरोजगारी बढे रोजगारीको समस्या समाधान हुन सक्दैन ।

प्रदेश सरकारले पूर्वाधार विकासलाई कसरी अगाडि बढाउँदैछ र लगानीको वातावरण कसरी तय पार्दैछ ?

सबैभन्दा पहिले लगानीकर्तालाई उचित वातावरण दिनुपर्छ । आवश्यक ऐन, कानुन निर्माण गरिदिनुपर्छ । बन्द हडताल, जसका लागि हामी बदनाम छौं, लाई हटाउनुपर्छ । लगानीकर्ताका लागि लगानीमैत्री वातावरण तयार गरिदिनुपर्छ । प्रदेश सरकार त्यसैमा लागेको छ ।

सुगम भएर पनि प्रदेश-२ का भारतसँग जोडिएका सबै नाका व्यापारका लागि उपयुक्त छैनन् । तिनको स्तरोन्नतीका के योजना छन् ?

प्रदेशलाई कसरी समृद्ध प्रदेश बनाउन सकिन्छ, त्यसका लागि हालसम्म रहेका नाकासम्बन्धि समस्या समाधान गरेर हामी अगाडि बढ्छौं । 

बजेटका लागि केन्द्र सरकारकै मुख ताक्नुपर्ने अवस्था छ कि यहीं सम्भावनाहरू पहिल्याउनु भएको छ ?

प्रदेश सरकार अहिले 'सस्टेन' हुन पाएको छैन । यहाँबाट गइरहेको राजश्वबाट विभिन्न शीर्षकमा बजेट आउने गरेको छ । हाम्रो आधार खडा नभएसम्म केन्द्र सरकारमै निर्भर भएर अगाडि बढ्नुपर्नेछ । 

तर, केन्द्र सरकारसँग तपाईंको खटपट शुरु भएको भनिन्छ नि ?

केही खटपट छैन । राम्रो सम्बन्ध छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्दै गर्दा तपाईंले दिनुभएको अभिव्यक्ति विवादित बन्यो । प्रधानमन्त्री केपी ओली आफैंले त्यसप्रति असन्तुष्टी जनाउनुभयो । अन्य मुलुकका सरकार प्रमुखको उपस्थितिमा मुलुकभित्रको असन्तुष्टी व्यक्त गर्नु आवश्यक थियो र ?

प्रधानमन्त्रीले तपाईंहरूसँग असन्तुष्टि व्यक्त गर्नु भएको छ भने मलाई थाहा छैन । तर, मसँग त उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छैन । असन्तुष्ट छु भनेर मलाई त अहिलेसम्म भन्नु भएको छैन । 

यस्तो कहीं कुनै कुरा छैन । तपाईंहरूलाई बढी थाहा हुन सक्छ । मलाई त्यस सम्बन्धमा थाहा छैन । र, केपी ओलीजी मसँग असन्तुष्ट हुनुहुन्न, त्यति मलाई थाहा छ ।

अनि त्यो अभिव्यक्ति दिनु आवश्यक थियो र ?

अरे, मुलुकको मैले राख्दै आएको समस्या हो । मैले कुन नयाँ कुरा भनेको छु र ? त्यही पुरानो कुराको निरन्तरता हो । त्यसमा केही नयाँ कुरा छैन ।

मधेशकेन्द्रित दलका नेताहरूले तपाईंको भाषण तयार पारिदिएको आरोप छ नि ? कसैको दबाबमा यस्तो कुरा बोल्नुभएको हो ?

कसले तयार गर्छ । म आफैं नेता हो नि । म    आफैं पार्टीको उपाध्यक्ष छु । भाषण कसले र किन तयार गर्नुपर्‍यो र ? 

किन कसैको दबाब ? म आफैं नेता छु, पार्टीको कुरा छोड्नूस् । म दुई नम्बर प्रदेशको नेता हो । म प्रदेशको मुख्यमन्त्री हो नि । प्रदेशका जनताको चाहनालाई मैले राखेको हुँ ।

जानकी मन्दिरमा दुई प्रधानमन्त्रीहरूको मन्तव्यका क्रममा राखिएको राष्ट्रिय झण्डाको आकारबारे पनि विवाद भयो । र, प्रदेश सरकारमाथि नै त्यसबारे प्रश्न उठाइयो । वास्तविकता के थियो ?

झण्डा हामीले होइन, केन्द्र सरकारले राखेको हो । केन्द्र सरकारको 'प्रोटोकल अफिसर'ले राख्ने कुरा हो । अरू कसैले राख्न पनि सक्दैन । 

प्रदेश सरकारको त्यहाँ सरोकार पनि थिएन । त्यहाँ मुख्यमन्त्रीको अन्तिममा उपस्थिति मात्र थियो । त्यहाँको सम्पूर्ण व्यवस्थापन संघीय सरकारले गरेको हो । र, हामीलाई थाहा पनि छैन ।

भारतीय प्रधानमन्त्रीको स्वागतमा केन्द्र सरकारसँग समन्वय गर्नुभएन र भारतीय सुरक्षा फौजको निर्देशनमा काम गर्नुभएको आरोप छ ? के हो वास्तविकता ?

यो त केन्द्र सरकारलाई मैले सोध्नुपर्ने कुरा हो । मुलुकको सुरक्षा र परराष्ट्र नीति संघीय सरकारले तय गर्छ । मैले तय गर्ने होइन । यहाँ जति पनि सुरक्षा व्यवस्था मिलाइएको थियो, त्यो संघीय सरकारको रक्षा र परराष्ट्र मन्त्रालयबाट आएकाहरूले गरेका थिए । हाम्रो सरोकार त मोदीजीको नागरिक अभिनन्दनका लागि जनता जुटाउने र मञ्च खडा गर्नसम्म मात्र थियो ।

खटपटकै कारण तपाईंको अमेरिका भ्रमण पनि संघीय सरकारले रोकेको भनिन्छ नि ?

के रोक्यो ? राम्रै भएको छ नि । कम से कम यहाँ काम गर्ने मौका भेटेको छु । बजेट बनाउने समय छ । बजेट बनाउने बेलामा राम्रै सोच्नुभयो होला । खटपट केही छैन ।

प्रदेशका अर्थमन्त्रीले त संघीय सरकारसँग जवाफ माग्ने भन्नुभएको छ नि ?

अब कसले के भन्छ, उहाँलाई नै सोध्नूस् । मेरो यसमा भनाइ के छ भने राम्रै गरिएको छ । 

केन्द्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएको र संघीय समाजवादी फोरमसमेत सरकारमा सहभागी भएको अवस्थामा तपाईको पद पनि धरापमा परेको छ भनिन्छ नि ?

त्यस्तो होइन । यो वाहियात कुरा हो । यसमा कुनै सत्यता छैन । मलाई कसले हटाउने ? जनताले दिएको म्यान्डेटअनुसार हामी यहाँ आएका हौं । केन्द्रको समिकरणले प्रदेशको गठबन्धनमा केही असर पर्दैन । हामीलाई जनताले जानादेश दिएका छन्, हामी त्यहीअनुसार अघि बढ्छौं ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।