काठमाडौं – च्याम्पियन्स लिगअन्तर्गत आज मंगलबारको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीको समना गर्दैछ।
अट्याकिङमा कमजोर देखिए पनि डिफेन्समा बलिया टिमबीचको खेल निकै रोमाञ्चक हुने अनुमान लगाउन गाह्रो पर्दैन। रियलको मैदानमा हुने पहिलो लेगको खेलमा दुवै टिम जित निकाल्ने दाउमा हुनेछन्।
च्याम्पियन्स लिगमा चेल्सीले रियल मड्रिडसँग यो चौथो भेट हो। उनीहरुले १९७१ मा फाइनल खेलेका थिए। पहिलो खेलमा १–१ गोलको बराबरी भएको थियो भने दोस्रो खेल २–१ को नतिजाका साथ चेल्सीले जित निकालेको थियो।
त्यस्तै, १९९८ को सुपर कप फाइनलमा पनि चेल्सीसँग रियलले भेट गरेको थियो। त्यहाँ पनि चेल्सीले रियललाई हराएको थियो। त्यसैले रियलको लागि चेल्सी यस्तो प्रतिस्पर्धी क्लब हो, जोसँग उसले जित निकालेको छैन।
सर्वाधिक लिग विजेता रियलविरुद्ध यो इतिहास रहनुले चेल्सी स्पेनिस क्लबविरुद्ध हाबी हुँदै आएको पुष्टि गर्छ। तर जारी सिजनमा लयविहिन रहेका दुवै टिमको खेल पनि रोमाञ्चक हुन सक्नेछ।
रियलले लालिगाका पछिल्ला दुई खेलमा बराबरी खेल्दै आफ्नो फर्म कायम नरहेको पुष्टि गरेको छ। यता चेल्सीले एफए कपको सेमीफाइनलमा म्यानचेस्टर सिटीलाई हराए पनि त्यसपछिका दुई खेलामा आशातित प्रदर्शन भने गरेको छैन। ब्राइटोनविरुद्ध गोल नै गर्न नसकेको चेल्सीले वेस्टहामविरुद्ध भने एक गोल गरेको थियो।
प्रशिक्षकको रुपमा रियलका जिनेदिन जिदान र चेल्सीका थोमस टुचेलको उपस्थितिले खेललाई थप आकर्षक बनाउनेछ। फुटबल समर्थकले उनीहरुको रणनीति रुचाउने गरेका छन्।
फरवार्ड लाइनमा समस्या देखिए पनि दुवै टिमको डिफेन्स भने जुनसुकै फरवार्डलाई छल्नमा माहिर छ। त्यसैले आजको खेलमा दुवै टिमको डिफेन्सबीच कडा टक्कर हुनेछ।
देशको हिसाबमा यो १६३ औं इंग्लिस भर्सेस स्पेनिस टिमको खेल हो। दुई देशबीच यो सबैभन्दा धेरै नम्बरमा खेल हुने देशको शीर्षस्थानमा पर्छन्। त्यसैले यी दुई देशका टिमबीचको खेल खेलमा मात्र सीमित नभएर समर्थकको भावनासँग पनि जोडिएको छ।
तर देशगत हेड टू हेड हेर्दा पछिल्ला पाँच खेलमा चार खेल इंग्लिस साइडले जित्दा दुई बराबरी भएको छ। एक खेलमा मात्र स्पेनिस टिम हाबी छ।
आज राति पौने १ बजे मैदान उत्रँदै गरेका टिममध्ये रियल १३ पटकको च्याम्पियन्स लिग विजेता हो भने चेल्सीले आठौं पटक सेमिफाइनल खेल्दैछ। चेल्सीले सेमीफाइनलका पहिलो खेलमा एक खेल मात्र हारेको छ (मोनाकोसँग २००३ मा ३–१)। दुई जित र चार बराबरी खेलेको छ।