काठमाडौं - नेपाल सुपर लिगअन्तर्गत आज एक मात्र खेल हुँदैछ। साेमबारबाट दोस्रो चरणको खेल सुरु भएसँगै आज धनगढी फुटबल क्लबले काठमाडौं रेजर्स फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे।
पहिलो खेलमा विराटनगरसँग लज्जास्पद हार बेहोरेको धनगढी आजको खेलमा लिगमा पुनरागमन गर्ने सोचमा हुनेछ। तालिकाको पुछारमा रहेको धनगढीका लागि आज सुरुआती जित निकाल्दै खाता खोल्ने दाउमा छ।
यता उद्घाटन खेलमै उत्साहित नतिजा निकालेको काठमाडौंले भने आजको खेलमा जित निकाल्दै तालिकाको शीर्षस्थानमा पुग्ने अवसरको खोजीमा हुनेछ।
राष्ट्रिय टिम सम्हालिसकेका प्रशिक्षक बालगोपाल महर्जनले काठमाडौंको टिम सम्हालिरहेका छन्। र, उनी आफ्नो टिम उत्कृष्ट रहेको दाबी पनि गर्छन्।
यही हौसलाका साथ मैदान छिर्ने काठमाडौं लगातार दोस्रो जित निकाल्दै दुई खेलबाट ६ अंक बनाउन चाहन्छ।