एजेन्सी- भारतमा कोभिड संक्रमणले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ। तर इन्डियन प्रिमियर लिग आईपीएल पनि जारी रहेको अवस्था छ। संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा विभिन्न क्लबबाट खेल्ने खेलाडीहरुले आफ्नो नाम फिर्ता लिन थालेका छन्।
आइतबार दिल्ली क्यापिटल्सका स्टार स्पीनर रविचन्द्रन अश्विन र राजस्थान रोयल्सका फास्ट बलर एन्ड्र्यु टाईले टुर्नामेन्टबाट आफ्नो नाम फिर्ता लिएका थिए।
त्यसपछि रोयल च्यालेन्जर्स बैंगलोरका एडम जम्पा र रिचर्डसनले पनि टुर्नामेन्टबाट नाम फिर्ता लिएका छन्।
दैनिक झण्डै साढे ३ लाख जनामा कोरोना पुष्टि भइरहेका बेला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले भने आईपिएल रोक्नेबारे कुनै तयारी थालेको छैन। बीसीसीआईका एक अधिकारीले टुर्नामेन्टमा कुनै खतरा नरहेको भन्दै आईपिएल निरन्तर चल्ने बताएका छन्।
उसले नाम फिर्ता लिने खेलाडीलाई नरोक्ने बताएको छ।
दिल्लीका अश्विनले हैदराबादविरुद्धको जितपछि ट्विटरमा एक सन्देश राख्दै आफूले आईपीएलबाट नाम फिर्ता लिएको जानकारी दिएका थिए। उनले आफ्नो परिवारका सदस्यमा कोरोना देखिएको भन्दै टुर्नामेन्टबाट नाम फिर्ता लिएको जनाएका छन्। अहिले परिवारको साथमा आफू हुनुपर्ने अवस्था रहेको भन्दै स्थिति सामान्य भएमा आफू पुनः आईपीएलमा फर्किने बताएका छन्।
आईपीएलमा सहभागी कतिपय फ्रेन्चाइज टिमले पनि टुर्नामेन्ट स्थगित होस् भन्ने चाहना राखेका छन्। यद्यपि उनीहरुले लिखित रुपमा यसबारे बीसीसीआईलाई अनुरोध गर्न सकेका छैनन्।