धनगढी– गोली प्रहार गरी रकम लुट्ने कार्यमा संलग्न पक्राउ परेका चारमध्ये तीन जना अपराधिक पृष्ठभूमिका रहेको खुलेको छ ।
काठमाडौंबाट पक्राउ परेका कल्लु भनिने कालु राना र रामप्रवेश राना तथा कञ्चनपुरबाट पक्राउ परेका उग्रसेन राना डाँका, चोरीदेखि जबर्जस्ती करणी मुद्दामा सजाय भोगेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
कैलालीका एसपी विनोद घिमिरेका अनुसार कल्लु यसअघि ०६८ सालमा कञ्चनपुरमा जबरजस्ती करणी मुद्दामा परेर ६ वर्ष कैद भुक्तान गरी ०७४ माघमा छुटेका हुन् । उग्रसेन कञ्चनपुरमै डाँकाचोरी मुद्दामा ६ वर्ष जेल बसेका हुन् । उनी जेलबाट भागेका र पछि पक्राउ परेको पनि प्रहरीले जानकारी दिएको छ । अर्का राजकुमार पनि चोरी मुद्दामा कञ्चनपुर कारागारमै चार वर्ष आठ महिना जेल बसेर छुटेका हुन् ।
उनीहरू १३ जेठमा धनगढी मेनरोडमा गोली प्रहार गरेर साढे नौ लाख रुपैयाँ लुटेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४