पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुसमा काठमाडौंको धरहरा शिलान्यास गरे। आफूले शिलान्यास गरेको तीन वर्षमा आफैंले उद्घाटन पनि गरे।
ओलीले शिलान्यास गरेको ठीक दुई वर्षअघि राष्ट्रिपति विद्यादेवी भण्डारीले गोरखाको बारपाकमा भूकम्प स्मारक शिलान्यास निर्माण गरेकी थिइन्। बारपाकलाई ०७२ वैशाख १२ गते आएको भूकम्पको केन्द्र (इपिसेन्टर) मानिएको छ। यो भूकम्पलाई कतिपयले गोरखा भूकम्पको नाम पनि दिएका छन्। भूकम्पको इपिसेन्टरमा यसको सम्झनास्वरुप एउटा चिनोका रुपमा उक्त स्मारकलाई लिइएको थियो।
भूकम्पमा आफन्त गुमाएकाहरुको सम्झना होस्, क्षतिको सम्झना होस् भन्ने उद्देश्यले बारपाकमा उक्त स्मारक बनाउन लागिएको हो। तर शिलान्यास भएको ५ वर्षसम्म पनि स्मारक निर्माण सम्पन्न हुन सकेन। राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ गोरखाकी प्रमुख सुनिता श्रेष्ठ भन्छिन्, ‘भौगोलिक रुपमा विकट भएकोले समयमै काम हुन सकेन।’ उनका अनुसार स्मारकको काम ७० प्रतिशत काम सम्पन्न भएको छ। ‘अब यो सालभरिमा सकिएला,’ उनले नेपाल समयसँग भनिन्।
शनिबार प्रधानमन्त्री केपी ओलीले आफैंले शिलान्यास गरेको धरहरा आंफै उद्घाटन गर्दा थुप्रै प्रतिक्रिया व्यक्त भए। तर, कसैले पनि इपिसेन्टरमाा निर्माण हुन नसकेको भूकम्प स्मारक भने सम्झेनन्। धरहराभन्दा कम बजेटको, धरहराभन्दा दुई वर्षअघि नै राष्ट्रपतिबाट शिलान्यास भएको स्मारक कसैको दिमागमा आएन।
०७३ मंसिरमा राष्ट्रपतिले तामझामका साथ शिलान्यास गर्दा पर्यटकीय गाउँ बारपाकमा अझै एउटा पर्यटकीय सम्पदा थपिने र यसले बारपाकको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास बारपाकीहरुले लिएका थिए। बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले पनि यो स्मारक निर्माण भएको भए बारपाकको चहलपहल बेग्लै हुने बताए।
‘यहाँ पुनर्निर्माण प्राधिकरणअन्तर्गत काम भइरहेकोले गाउँपालिकालाई खासै थाहा हुँदैन। तर पनि काम छिटो सम्पन्न होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने। १३ करोडमा बन्न लागेको यो स्मारक निर्माण प्राधिकरणले नै समयमा रकम नपठाइदिएका कारण ढिलाइ भएको स्थानीय बताउँछन्। ‘कहिले केन्द्रले नपठाएको भन्छ, कहिले जिल्लाले ढिलाइ गरेको भन्छ, हामीले केही बुझ्न सकेका छैनौं,’ एक स्थानीयले टेलिफोनमा भने।
तर एकाइ प्रमुख सुनिता श्रेष्ठ भने मौसम, कोरोना महामारीलगायत कारणले ढिलाइ भएको जिकीर गर्छिन्। ‘जेठदेखि असोजसम्म यहाँ आवतजावत गर्नै मुस्किल छ। बाढी–पहिरोले अवरोध गर्छ। गत साल र अहिले पनि कोरोनाले अवरोध गरिरहेको छ। काम नभएको भन्ने होइन, सोचेजति हुन नसकेको मात्रै हो,’ उनले भनिन्। स्मारकको मुख्य संरचना बनाइसकिएको र फिनिसिङको काममात्रै बाँकी रहेको उनले जानकारी दिइन्।
गोर्खाको स्मारक निर्माणमा ढिलाइ भएको र काठमाडौंंको धरहरामा धमाधम काम भईकन उद्घाटन भएको थाहा पाएका बारपाकबासीले भने गोर्खा स्मारकले धरहरालाई गिज्याइरहेको टिप्पणी गर्छन्। स्मारक निर्माणमा ढिलाइ भए पनि बारपाकबासीले ६ वर्षकै अवधिमा भूकम्पको पीडा लगभग बिर्सिसकेका छन्।
स्मारक निर्माणमा ढिलाइ भए पनि व्यक्तिगत आवास निर्माण तीव्र भएका कारण बारपाक तन्नेरी अवस्थामै फर्किएको छ। त्यहाँ नयाँ पार्क पनि बनाइएको छ। ६ वर्षको अन्तरालमा बारपाकको निजी आवासतर्फ ९६ प्रतिशत पुनर्निर्माण सकिएको छ। ढुंगाका छाना भएका घर विस्थापित भएका छन्। अधिकांश घर पक्की बनेका छन्। ढुंगाको छाना, ढुंगाकै गारो भएको गाउँमा अहिले जस्तापाता टल्किएका छन्। पक्की घरतर्फ बारपाकीहरु आकर्षित हुँदा यहाँको मौलिकता हराएकोमा भने चिन्ता व्यक्त गरिएको छ।
उता भूकम्पले क्षति पुगेको गोरखा दरबार २०७४ कात्तिकदेखि पुनर्निर्माण शुरु गरियो। तर अझैसम्म पनि सम्पन्न भइसकेको छैन।