आइतबार, वैशाख ७, २०८२

रातो बत्ती बाल्दैछ कालो ढुसी, औषधिको पनि संकट!

नेपालमा जेठ ३ गते नेपालगञ्जका बिरामी कोभिडको दोस्रो लहरपछि पहिलोपटक कालो ढुसीको समस्या लिएर त्रिवि शिक्षण अस्पताल पुगेका थिए। अस्पतालमा मात्रै ३ महिनाको अवधिमा १८ जना बिरामी भर्ना भएका छन्।
 |  शुक्रबार, साउन ८, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, साउन ८, २०७८

vianetvianet

काठमाडौं- एक साताअघि जनकपुरबाट उपचारार्थ शिक्षण अस्पताल, महाराजगञ्ज आएका एक पुरुषलाई उपचार सम्भव नभएपछि घर पठाइयो। ५७ वर्षीय ती पुरुष अस्पताल पुग्दा उनमा कालो ढुसी (म्युकर माइकोसिस) चौथो चरणमा थियो। अस्पताल आउँदा उनी आँखा नदेख्ने भइसकेका थिए भने ढुसी उनको नाक, आँखा हुँदै मस्तिष्कसम्म फैलिसकेको थियो।

triton college

'उपचार सम्भव नभएपछि उनलाई घर पठाइयो', त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. रवीन्द्रभक्त प्रधानांगले भने। 

असारमै वीरगञ्जका अर्का पुरुष पनि म्युकरमाइकोसिस (कालो ढुसी)को समस्या लिएर त्रिवि शिक्षण अस्पताल पुगेका थिए। सुरुकै अवस्थामा उनको कालो ढुसी थियो। अस्पतालका अनुसार उनको उपचार संभव थियो पनि। बिरामी र उनका आफन्तले शल्यक्रियामार्फत् गरिने उपचार गर्न मानेनन्।  आफ्नो परम्पराले शल्यक्रिया गर्न नमिल्ने भन्दै उनीहरूले अस्पतालबाट डिस्चार्ज मागेका थिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा समीर अधिकारीका अनुसार कोरोना संक्रमणपश्चात् नेपालमा २२ जनाभन्दा धेरै मानिसमा यस्तो समस्या देखिइसकेको छ। तर हाल कुन अस्पतालमा कति बिरामी छन् भन्ने यकिन भने भइनसकेको उनको भनाइ छ।

अहिले उनको अवस्था कस्तो छ? अस्पताललाई पनि थाहा छैन। उनीहरूलाई उपचारको लागि आग्रह गर्दै निकै प्रयास गर्दा पनि नसकिएको अस्पतालका चिकित्सक डा. रवीन्द्रभक्त प्रधानांग बताउँछन्। डा. प्रधानांग भन्छन्, ‘बिरामीले उपचार गर्न मानेको भए उपचार सम्भव थियो। नाकमा मात्रै कालो ढुसी देखिएको थियो। उपचारमा पैसा अभावले पनि होइन तर हामी अप्रेसन गर्दैनौँ भन्दै डिस्चार्ज भएर जानुभयो।’ 

000

National life insurance

कोरोना संक्रमणपश्चात् बढ्दै गएको कालो ढुसीको समस्या पछिल्लो समय चुनौतीपूर्ण बन्दै गएको छ। विगतका वर्षहरुमा निकै कम मात्रामा देखिने यो समस्या कोरोना संक्रमणपश्चात् बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. समीर अधिकारीका अनुसार कोरोना संक्रमणपश्चात् नेपालमा २२ जनाभन्दा धेरै मानिसमा यस्तो समस्या देखिइसकेको छ। तर हाल कुन अस्पतालमा कति बिरामी छन् भन्ने यकिन भने भइनसकेको उनको भनाइ छ।

भारतमा कालो ढुसीका ४ हजार ३ सयभन्दा धेरै बिरामीको मृत्यु भएको तथ्यांक छ। भारतका स्वास्थ्यमन्त्री मनसुख माँडबियाले बुधबार कालो ढुसी ४५ हजार ३७४ बिरामी फेला परेको बताएका थिए। बिबीसीका अनुसार भारतमा सबैभन्दा बढी महाराष्ट्र र गुजरात राज्यमा यसका बिरामी भेटिएका छन्। ती दुई राज्यमा मात्र १ हजार ७८५ जनाको मृत्युको कारण कालो ढुसी भएको बताइएको छ। 

तस्बिर : म्युकरमाइकोसिस देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामी

नेपालमा जेठ ३ गते नेपालगञ्जका बिरामी कोभिडको दोस्रो लहरपछि पहिलोपटक कालो ढुसीको समस्या लिएर त्रिवि शिक्षण अस्पताल पुगेका थिए। अस्पतालमा मात्रै ३ महिनाको अवधिमा १८ जना बिरामी भर्ना भएका छन्।

उनीहरुमध्ये ४ जना काठमाडौं उपत्यका र बाँकी बाहिरी जिल्लाका हुन्। एक जना १६ वर्षीय किशोर र अन्य १७ जना ४० वर्ष माथिका छन्। उनीहरुमध्ये १७ जनालाई मधुमेहको समस्या रहेको पाइएको छ भने १६ वर्षीय किशोर भने क्यान्सरको केमोथेरापी गरिरहेका बिरामी हुन्। हाल अस्पतालमा ६ जना मात्रै उपचाररत छन्। अस्पतालमा आएकामध्ये २ जनाको मृत्यु भएको छ भने बाँकी १० जनालाई डिस्चार्ज गरिएको छ।  

कालो ढुसीको कारण लाग्ने एक रोग भएकाले यसको नाम नै त्यही राखिएको हो। अंग्रेजीमा म्युकरमाइकोसिस भनिने यो रोग लागेपछि बिरामीको आँखा, नाक, मस्तिष्क, फोक्सो लगायतमा 'फंगस' अर्थात् ढुसीको संक्रमण देखिएको हुन्छ।

डिस्चार्ज भएकामध्ये केहीको आँखाको शल्यक्रिया गरेर घर पठाइएको छ भने केहीको शल्यक्रिया गर्न नै नमिलेको अस्पतालको भनाइ छ। शल्यक्रिया गरेकाहरूप पनि पूर्ण रूपमा निको हुन संभावना कम हुने चिकित्सकहरूको भनाइ छ। ‘शल्यक्रिया गरेपछि निको हुन्छ नै भन्ने हुँदैन, हामीले आँखा वरिपरि जमेको रगत सफा गरेर हेर्छौँ। त्यसपछि मात्र शल्यक्रिया गर्ने नगर्ने निधो गर्छौँ। हामीकहाँ आएका अधिकांश बिरामी धेरै जटिलता भएपछि मात्र आएका कारण शल्यक्रिया गर्न नै समस्या भैरहेको छ,' डा प्रधानांगले भने। 

के हो कालो ढुसी? 

कालो ढुसीको कारण लाग्ने एक रोग भएकाले यसको नाम नै त्यही राखिएको हो। अंग्रेजीमा म्युकरमाइकोसिस भनिने यो रोग लागेपछि बिरामीको आँखा, नाक, मस्तिष्क, फोक्सो लगायतमा 'फंगस' अर्थात् ढुसीको संक्रमण देखिएको हुन्छ।

मधुमेह वा रोग प्रतिरोधात्मक क्षमता कम भएका कोभिड भएका बिरामी, लामो समय भेन्टिलेटरमा बसेका बिरामी, किमोथेरापी गरिरहेका मानिसमा यसको समस्या देखिने गरेको छ। कालो ढुसीले आँखा, नाकमा असर गर्छ। आँखाको ज्योति हराउने, नाक बाङ्गो हुने जस्ता समस्या पनि देखिएको चिकित्सकहरुको भनाइ छ। 

किन हुन्छ कालो ढुसी? 

विगतमा कालो ढुसी एकदमै कम देखिने गरेको थियो। यो सामान्यतया माटो, बोटबिरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने 'म्युकोर' भनिने ढुसीसँगको संसर्गबाट सर्छ। एचआईभी संक्रमित, नियन्त्रणमा नभएको मधुमेहका बिरामीलाई कहिलेकाहीँ देखिने गरेको थियो। तर पछिल्लो समय मधुमेह र कोभिड–१९ संक्रमित बिरामीको आँखा, नाकमा ढुसी देखिन थालेको छ। ढुसी मस्तिष्कसम्म फैलिए बिरामीको मृत्यु हुन सक्ने चिकित्सकहरू बताउँछन्। 

वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. निरज सिंहका अनुसार कालो ढुसीको संक्रमणबाट बिरामीहरूमा सामान्यतः नाकबाट रगत बग्ने, बाक्लो सिँगान बग्ने, आँखाको दुखाइ, रातो हुन, टाउको दुख्ने, मुख नै बांगो हुने, अनुहार प्यारालाइसिस हुने  र अन्त्यमा दृष्टि गुमाउने तथा मृत्यु हुने जोखिम पनि हुन्छ। 

यस्ता देखिन्छन् लक्षण

डा. सिंहका अनुसार 'फंगल' शरीरको कुन भागमा छ? त्यसअनुसार पनि लक्षण पनि फरक हुन्छन्। नाकमा पुगेको बेला नाक चिलाउने, नाकबाट खैरो पानी आउने, हाच्छियुँ आउने, नाक सुक्खा हुनेजस्ता लक्षण देखिन्छन् भने आँखामा पुगेको बेला आँखाको ढकनी सुन्निने, आँखा अँध्यारो हुने, आँखा रातो हुने, भारी हुनेजस्ता लक्षण देखिन्छन्, फोक्सो फंगसबाट प्रभावित छ भने, खोकी लाग्ने, छाती दुख्ने, र सास फेर्न गाह्रो हुने हुन सक्छ। 

विशेष गरी कोरोना संक्रमण भएको तीन साताभित्र यो रोग लाग्ने सम्भावना हुन्छ। क्यान्सर, मिर्गौला, अनियन्त्रित मधुमेह, अक्सिजन लिएका, स्टोरोइड औषधि प्रयोग गरेका, लामो समय आइसियू/भेन्टिलेटरमा बसेका बिरामी, केमोथेरापी पाइरहेका र शरीरमा प्रतिरक्षा क्षमता कमजोर भएका व्यक्तिमा यसको मानिसहरुमा यसको जोखिम बढी हुन्छ। 

फंगल एउटा मानिसबाट अर्कोमा सर्दैन। तर बिरामी ढिलो गरी अस्पताल पुग्दा जोखिम बढी हुने गरेको डा प्रधानांग बताउँछन्। डा. प्रधानांगका अनुसार कालो ढुसी नयाँ रोग भने होइन। विगतमा ५-६ वर्षमा ३-४ जनालाई मात्र देखिने गरेको भए पनि कोभिड महामारीसँगै यसका बिरामीको संख्या बढेको छ। 

कालो ढुसीको समस्या भएका बिरामीको मृत्युदर ५०-६० प्रतिशतसम्म भएको विभिन्न अध्ययनले देखाएका छन्। 'यो साधारण रोग होइन। आम मानिसले क्यान्सरलाई घातक रोग मानेका छन्। तर यो रोग क्यान्सरभन्दा भन्दा घातक छ,' डा प्रधानांग भन्छन्। 

शरीरमा सेता रक्तकोषमा 'न्युट्रोफिल' भन्ने सेल हुन्छ। न्युट्रोफिलले फंगसलाई निष्क्रिय बनाउन सहयोग गर्छ। तर लामो समय आइसियू, भेन्टिलेटरमा बसेका केमोथेरापी पाइरहेका, मधुमेह नियन्त्रण गर्न नसकेका मानिसहरुमा न्युट्रोफिल कम हुन्छ। र यसले प्रभावकारी रूपमा काम गर्न नसकेपछि ढुसी फैलँदै जान्छ। 

कोरोनाका बिरामी वा मघुमेहका बिरामीमा कोरोना भएका मानिसलाई एस्टोरेइड औषधि चलाउँदासमेत न्युट्रोफिल कम हुन सक्छ। यस्तो भएमा फंगस बढ्नको लागि उपयुक्त वातावरण मिल्छ। यसको साथै वातावरण तथा प्रदुषणले पनि फंगसका लागि सहयोग गर्दछ। डा. प्रधानांगका अनुसार नेपालमा तराइका मानिसहरु कालो ढुसीबाट बढी संक्रमित छन्, पहाडका निकै कम र हिमाली क्षेत्रका मानिसहरु भेट्न मुस्किल छ। 

घातक रोग, औषधिको अभाव 

कालो ढुसीको समस्या भएका बिरामीको मृत्युदर ५०-६० प्रतिशतसम्म भएको विभिन्न अध्ययनले देखाएका छन्। 'यो साधारण रोग होइन। आम मानिसले क्यान्सरलाई घातक रोग मानेका छन्। तर यो रोग क्यान्सरभन्दा भन्दा घातक छ,' डा प्रधानांग भन्छन्। 

यो रोगका पनि चरण हुन्छन्। पहिलो चरणमा नाकमा ढुसी देखिन्छ। दोस्रो चरणमा आँखामा समेत पुगिसेको हुन्छ, ढुसी दिमाग र कानमा समेत पुगिसकेको अवस्थामा भने तेस्रो चरण मानिन्छ। छाला समेत कालो हुने, मुखभित्रको तालुको भागपनि कालो हुने र दाँतसमेत झर्ने अवस्था भयो भने मानिसलाई बचाउन गाह्रो हुन्छ। बिरामी पहिलो चरणमै अस्पताल पुगे उपचार सम्भव हुन्छ तर ढिला भएमा बचाउन गाह्रो हुने कालो ढुसीका बिरामीको उपचारमा संलग्न डा प्रधानांगको भनाइ छ। 

कालो ढुसीको उपचारमा कालाजारमा प्रयोग गर्ने एन्टिफंगल औषधि प्रयोग गरिन्छ। एम्फोटेरिसिन बी, पोसाकोनाजोललगायतका औषधिले पनि काम नगरे शल्यक्रिया गर्नुपर्ने हुन्छ। नेपालमा यसका लागि प्रयोग हुने औषधि पाउन नसकिएको डा. प्रधानांग बताउँछन्। 

‘हामीलाई अहिले औषधिको अभाव देखिएको छ। यसका लागि चाहिने मुख्य औषधि लाइपोजोमल एम्फोटेरिसिन बी हो। यो औषधि कालाजारका बिरामीमा प्रयोग गरिँदै आएको औषधि हो। तर यो औषधि अहिले नेपालमा छैन। जसले गर्दा बिरामीको ज्यान जोखिममा छ,' डा प्रधानांगको भनाइ छ। 

महँगो उपचार

कालो ढुसीको उपचार निकै महँगो छ। भारतबाट आउनुपर्ने भएकाले यसको अभाव पनि छ। सुरुमा सरकारले नै औषधिको व्यवस्था गरेकाले ५/६ जनालाई निशुल्क रूपमा औषधि उपलब्ध गराइएको थियो। 'यसको औषधि बजारमा किन्नलाई पाँइदैन, नेपालमा बन्दैन। एक भाइलको नै २५ हजारदेखि ६० हजारसम्म पर्छ। सबै मानिसले किनेर पनि उपचार गर्न सम्भव हुँदैन। एक दिनमै दिनमा ५ देखि ७ भाइलसम्म चाहिने औषधि नहुँदा बिरामीको ज्यान जोखिममा छ,’ डा प्रधानांगले भने। सरकारले औषधि खरिदको लागि प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ। 

कालो ढुसिको मुख्य औषधि नपाएपछि विकल्पमा चलाइएको औषधि पनि महँगो छ। 

औषधि नभएपछि त्रिवि शिक्षण अस्पतालमा भएका बिरामीलाई त्यसको वैकल्पिक रूपमा 'डिअक्सिकोलेट एम्पोटेरिसिन बी' को प्रयोग गरिएको छ। वैकल्पिक रूपमा प्रयोग गरिएको यो औषधिको साइडइफेक्ट बढी हुने भएपनि बाध्य भएर औषधि चलाउनुपरेको उनको भनाइ छ। 

'वैकल्पिक औषधि चलाइएका २-३ जनालाई किड्नीमा असर देखिएको छ। किड्नीको असर कम गर्न पोसाकोनाजोल औषधि चलाएको छ,' प्रधानांग भन्छन्, 'यो औषधि चाहिँ बिरामीको शल्यक्रिया सकिएपछि वा बिरामीलाई केही सहज भएपछि ३ देखि ६ महिना खुवाउनलाई प्रयोग गर्छौं।’

मुख्य औषधि नपाएपछि विकल्पमा चलाइएको औषधि पनि महँगो छ। 'एक दिनको लागि मात्रै १६ हजार पर्छ। यो दिनदिनै दिनुपर्ने औषधि हो,' उनले भने। अहिले नै केही बिरामीले उपचार गर्न नसक्ने भनिसकेकाले केहीलाई अस्पतालले निःशुल्क उपचार गर्ने भएपनि औषधिमा कुनै विकल्प नभएको उनको भनाइ छ। 

कालो ढुसीका बिरामीको उपचार अवधि पनि लामो छ। सुरुको चरणमा आइपुगेका बिरामीमा पनि लाइपोजोमल एम्फोटेरिसिन बी चलाइसकेपछि पनि ६ महिना पोसाकोनाजोलको प्रयोग गर्नुपर्छ। शल्यक्रिया गर्दा साह्रै सानो छोडियो भनेपनि त्यसले पछि समस्या दोहोर्‍याउन सक्छ। 


प्रकाशित: Jul 23, 2021| 13:18 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्